यो संविधानसभाको काम छैन, खारेज गराइन्छ : गुरुङ

मंसिर, काठमाडौं । नेकपा- माओवादीका सचिव देव गुरुङले दोस्रो संविधानसभाको औचित्य नभएको भन्दै यसलाई खारेज गराउन सडक आन्दोलनको विकल्प नभएको बताउनुभएको छ ।
माओवादी नेता गुरुङले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-’हामीले मंसिर ४ गते नै लिखित वक्तव्यमार्फत भनिसकेका छौं, यो संविधानसभाको औचित्य छैन, यसले सहमतिमा अवरोधको काम गर्छ त्यसैले यसको अर्थ छैन ।’ संविधानसभालाई खारेज गरेर गोलमेचमार्फत् समस्याको समाधान खोजिनुपर्ने बताउँदै गुरुङले यसबा लागि माओवादी नेतृत्वको ३३ दलीय मोर्चा सडक आन्दोलनमा जाने बताउनुभयो ।
तर, खिलराज रेग्मी नेतृत्वको सरकार काम चलाउ भएकाले यो सरकारविरुद्ध आन्दोलन गर्नु अर्थपूर्ण नहुने भन्दै नयाँ सरकार बनेर संविधानसभाको बैठक बस्न थालेपछि आन्दोलनमा जाने गुरुङले बताउनुभयो । ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्न लागेको छ, नयाँ सरकार गठन नहुञ्जेल हामी आन्तरिकरुपमा संगठन सुदृढीकरणतर्फ लाग्छौं’- उहाँले भन्नुभयो, सरकारको आकार बनिसकेपछि राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकारको रक्षा तथा संविधानसभा खारेजीका लागि आन्दोलनमा जानुको विकल्प छैन ।’
माओवादी नेता गुरुङले मुलुक ०४८ सालतर्फ फर्किएको दाबी गर्दै ०४८ सालको जस्तो संसदमा माओवादी पार्टी नजाने बताउनुभयो । ‘१० वर्षको जनयुद्ध उल्टाइयो, जनजाति, महिला र मधेसीको मुद्दा उल्टाइयो, यस्तो ०४८ सालको जस्तो संसद्मा हामी जाने कुरै हुँदैन, यसलाई खारेज गर्नुपर्छ ।’ उहाँले अनलाइनखबरसँग भन्नुभयो । ०४८ सालमा कांग्रेस र एमालेवीचमै समस्या समाधान हुन नसकेर ०५१ मा उनीहरुले अर्को चुनाव गरेको र अहिले पनि सोही परिस्थिति आउने उहाँको तर्क छ ।
वैद्यले एमाओवादीको अडान हेर्ने
माओवादी सचिव गुरुङले चुनावमा भएको धाँधलीको विरोध गरिरहेको प्रचण्ड नेतृत्वको एमाओवादीले संविधानसभाबाट निकास निस्कँदैन भन्ने निश्कर्ष निकालेको अवस्थामा उसँग कार्यकर्ता मोर्चा बन्न सक्ने बताउनुभयो । ‘उहाँहरुले धाँधलीको विरोध गरिरहनुभएको छ, हामी समग्र प्रक्रिया नै खारेज गरिनुपर्छ भनिरहेका छौं, गुरुङले भन्नुभयो, ‘संविधानसभाको विकल्वबाट बाहिर आउनुभयो भने उहाँहरुसँग कार्यगत एकता हुन सक्छ, तर तत्काल पार्टी एकता सम्भव छैन ।’
हारेका दललाई पनि संविधानसभामा सीट चाहियो
यसैवीच संविधानसभामा समानुपातिक र प्रत्यक्षतर्फ सहभागी भएर एक सीट पनि नजितेका साना दलका नेताहरुले पेरिसडाँडामा एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेर आफूहरुलाई संविधानसभामा सहभागी गराउन माग गरेका छन् ।
चुनाव हारेका साना ९० दलले एओवादी अध्यक्ष प्रचण्डलाई भेटेर आफूहरुलाई पनि संविधानसभामा सहभागी गराउन माग गरेको साना दलका एक नेताले बताए । कुल १ सय २२ दलले समानुपातिक चुनावमा सहभागिता जनाएकोमा एक सीट पनि नजित्ने दलहरुको संख्या ९२ रहेको छ ।
साना दलहरुले आफूलाई भेटेपछि एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा धाँधली भएको विषयमा साना दलसँग एजेन्डा मिलेको बताउँदै आफूहरु मिलेर अघि बढ्न तयार रहेको जनाउ दिनुभएको बुझिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.