श्रीमानको चाहना दबाएर राखें : नन्दिता केसी

उज्यालो मुहार, मोहनी लगाउने मुस्कान अनि अभिनयले दर्शकलाई मोहित बनाउने नेपाली रजतपटकी चम्किली तारा उनी अहिले के गर्दैछिन् धेरैलाई थाहा छैन । ५० भन्दा बढि चलचित्रमा आफ्नो कला पस्किसकेकी नायिका नन्दिता केसीका फिल्म नेपाली दर्शकले हर्ने नपाएको धेरै भइसक्यो ।लगातार फिल्म खेलिरहँदा दर्शकको मन मुटुमा बसेकी नायिका केसीलाई अहिले पनि दर्शकले हलको पर्दामा कुरिरहेका छन् ।
छोटो समय दमदार अभिनय गरेर औंलामा गनिने अवस्थामा पुगेकी उनले नेपाली रजतपटमा आएपछि कम्ता हण्डर व्यहोर्नुपरेन । अन्य नायिकाहरु पनि यो क्षेत्रमा लामो टिकेको इतिहास छैन । नन्दिताले पनि उचाईं लिदैं गरेको आफ्नो फिल्मी करिअरलाई किन एक्कासी विश्राम दिइन् ? दर्शकहरु अझै अन्योलमा छन् ।
फिल्म खेल्न छोडेपछि ओझेलमा रहेकी उनले नयाँ नयाँ अनुहारलाई चम्किने मौका दिन आफू पछि हटेको बताउँदै आएकी छन् । कुनै बेलाकी गुमनाम शोभा केसी नन्दिता बनेर चम्केकी थिइन् । अहिले नन्दिता पुरानै शोभाजस्तै गुमनाम बन्ने चिन्ताले उनका शुभचिन्तक र फ्यानहरुलाई पिरोलेको छ । फिल्ममा छाएर चर्चा बटुलिसकेपछि पनि उनले भोगेका हैरानी भनिसाध्य छैनन् ।
पुरुषको इशारामा चल्ने यो समाजमा उनले हिरोइनको ट्याग लागेपछि पनि धेरै भुक्तमानहरु ब्यहोर्नुपर्‍यो । बोलेको र सँगै हिंडेको देख्नेवित्तिकै उनीमाथि औंला उठाउनेका कारण उनको मन कम दुखेको छैन । परिवारकै कोही आफन्तसँग सँगै हिंड्दा पनि उनले नानाभाती कुरा सुन्नुपर्‍यो । अनि उनको मनले भन्यो, ‘२१ औं शताव्दीमा नारी पुरुष बराबर भन्ने चियागफका फुस्रा कुरा मात्रै रहेछन् । त्यसो होइन भने नेपाली नारीहरुले अहिले पनि किन यति सताइनुपर्ने ?’
नेपाली फिल्मीक्षेत्रमा लागेर सफल हिरोइन भएपछि पनि उनी आफूलाई नेपाली समाजमा सुरक्षित महसुस गर्न सकेकी छैनन् । उनलाई अझै डर छ, भविष्यमा कसैकी पत्नी बनेर जाँदा अहिले अनाहकमा घोचिरहने प्रश्नहरुले त्यो बेलामा पिरोलिरहने हुन् कि ? अहिले फुर्सदिली बनेकी नन्दिता विगतको समीक्षा गर्दै नयाँ भविष्यबारे चिन्तन गरिरहेकी छिन् । नेपाली सिनेजतमा केन्दि्रत रहेर कुराकानी गर्न गएको अनलाइनखबरसँग अभिनेत्री नन्दिताले आफ्नो मनको बह यसरी पोखिन् :
बाल्यकालदेखि नै मैले नर्स बन्ने सपना बोकेकी थिएँ । विद्यालय शिक्षा लिंदैदेखि मेरो जीवनको एउटै लक्ष्य थियो, नर्स बनेर विरामीको सेवा गर्ने । अहिले पनि म भन्छु, मलाई कहिल्यै फिल्म लाईनले तानेको थिएन । हिरोइन हुन्छु भन्ने मैलो सोचेकै थिइन । फिल्म खेल्ने ईच्छाले मलाई कहिले पनि तानेन । प्रवेशिका उत्तीर्ण भएपछि म स्टाफ नर्स बन्न मैले मेरो जन्मथलो अर्घाखाँची छोडेकी थिएँ ।
अहिले म सम्झन्छु, आफूले चाहे र भनेजसरी कहाँ चल्दोरहेछ र, जिन्दगी । त्यही भएर मानिस भाग्यले जता डोर्‍याउँछ, त्यतै जान विवश हुँदोरहेछ, म पनि त्यस्तै एक मानिस हुँ । म मेरो रहरले होइन भाग्यले डोर्‍याएर नेपाली फिल्मीक्षेत्रमा आएकी हुँ । मैले फिल्म खेलेर जे जस्तो उपलव्धी गर्न सकेकी छु, त्यसमा म खुसी छु ।
मेरो काम प्रति मलाई कुनै पछुतो छैन । अहिले पनि म हिजो जुन् अवस्थामा थिएँ, त्यही अवस्थामा छु । अहिले मैले फिल्म खेलेकी छैन तर अझै पनि मेरा दर्शकहरुले मलाई मन मुटुमा सजाएर राख्नु भएको छ । यो मेरो जीवनकै ठूलो उपलव्धी हो । दर्शकको अपार मायाले म धनी भएकी छु, यसैमा म रमाएकी छु र खुसी पनि छु ।
नेपाली फिल्मीक्षेत्रमा राम्रा भन्दा नराम्रा कुराको बढी चर्चा हुन्छ । म पनि त्यसको मारमा परेकी छु । मैले फिल्म नपाएर खेल्न छोडेकी होइन, मेरो अनुहारमा समस्या भएपछि चिकित्सकहरुले फिल्म नखेल्न भनेपछि म पर्दामा आएकी छैन । अहिले पनि फिल्मी क्षेत्रमा नन्दिता नेपाली फिल्ममा डाँडामाथिकी घामजुन जस्तै भइन् भन्ने गरेका छन् । कतिले त भन्दा रहेछन्, अब नन्दिताका दिन गए । मैले स्वास्थ्योपचार सक्न लागेकी छु, अब म चाँडै कमव्याक गर्दैछु । मेरो कमब्याकबाट पुनः मलाई माया गर्ने दर्शकको मनमा बस्न सकौं भन्ने योजनामा छु ।
फिल्मीक्षेत्र समुद्र हो । यहाँ जो राम्ररी पौडन सक्छ, ऊ सफल हुन्छ । अहिले धेरै नयाँ कलाकारहरु आएका छन् । उनीहरुसँग मेरो कुनै प्रतिस्पर्धा छैन र, उनीहरुले मलाई विस्थापित गरे भन्ने पनि लाग्दैन । हिजो म आउँदा म भन्दा वरिष्ठ नायिकाहरु जम्नुभएको थियो, त्यसपछि हामी आयौं, अहिले नयाँ नयाँ आएका छन् । यो समयको चक्र हो, यसमा कसैले मन दुखाउनु हुदैंन । हिजोको जति जोश म मा थियो आज नहोला तर पनि म मा नेपाली फिल्ममा कमव्याक गरेर जम्न सक्छु भन्ने विश्वास छ ।नर्स बन्ने सपाना बोकेकी म हिरोइन भएर लाखौं मानिसको मनमा छाउन सकें, यसमा मलाई गौरव छ । सिनेनगरीमा आएर मलाई कुनै पछुतो छैन । नर्स पढ्न आएकी सानी केटी, भाग्यको पछि लागेर सिनेनगरीमा आएर जे उपलव्धी गरे म निक्कै खुशी छु ।
नेपाली समाजमा केटी १८ काट्न पाउँदैनन्, उनीहरुमाथि विहेको तरवार झुण्ड्याइन्छ । मलाई पनि प्रवेशिका उत्तीर्ण गरेदेखि नै विहेको दवाव आएको हो । मैले मेरो परिवारलाई कुरा बुझाउन सकेकाले घर छाडेर राजधानी सम्म आउन सकें । यदि त्यसो नभएको भए म पनि आमगृहहिणीहरु जस्तै लालाबाला स्याहारेर बसेकी हुन्थे । मैले जे हिम्मत गरें, त्यसले म सफल पनि भएँ । बिहे त समय आएपछि पक्कै पनि हुन्छ, मैले विहे गर्दिन भनेकी छैन, भाग्यले कहाँ पुर्याएर विहे जुराउँछ थाहा छैन । बेलुकी सुत्दा सिरानी च्यापेर पतिको न्यानो अंगालोको कल्पना गर्दै कहिलेसम्म सुत्ने मलाई थाहा छ । तर, मैले करिअरका यस्ता सबै चाहनालाई पैतलामुनि दबाएर अघि बढ्दा म सफल भएँ । म पनि मानिस हुँ, पतिको अंगालोको चहाना मलाई पनि छ, तर मैले दबाएर राखेकी छु ।
मलाई केही हिरोइनहरु जस्तै एउटै घानमा हालेर हेर्छन्, तर म नढाँटी भन्छु, आजसम्म म कसैको प्रेममा परेकी छैन, मैले प्रेम गरेको सिनेमा र मेरो कामलाई मात्र हो । विहे त पक्कै पनि हुन्छ, तर मेरो कामलाई वुझ्ने, पति पत्नीको सम्वन्धलाई गहिरो अर्थ लगाएर बुझ्न सक्ने समझदार युवक मलाई चाहिएको छ । मैले आफ्नो शारीरिक आवश्यकतालाई दबाएर आफैलाई अन्याय गरेकी छैन । म एकदिन त पक्कै पनि मेरो आवश्यकता खुलाउँछु नि हैन र ?,त्यसैले यो अन्याय होइन ।
सिनेनगरीमा आएपछि मेरो नाम पनि विभिन्न व्यक्तिहसँग जोडियो । यो कुराले कहिलेहाँही मन दुखाएको छ । यी सबै कुरालाई हावादारी मान्दै एक कानले सुनेर अर्को कानले उडाएकी छु । हिरोइन हुनेवित्तिकै मानिसहरु उसको नैतिकतालाई तराजुमा राखेर तौलिन थाल्छन् । कोहीसँग बोल्दैमा र हाँस्दैमा चरित्रमाथि प्रश्न उठाउँदै बद्नाम गर्छन् ।
एउटा घटनाले अहिले पनि मलाई पिरोल्छ । म चोभारमा सिनेमाको सुटिङमा व्यस्त थिएँ । मलाई भोलिपल्ट फोटोसुट गरेर पर्सीपल्ट धरान जानु थियो । त्यसैले मेरो केही सामान भेनाजुले गाडीमा चोभारसम्म ल्यादिनुभएको थियो । तर यहाँ त मेरै भिनाजुलाई मेरो व्याइफ्रेन्ड बनाइएछ, उहाँसँग नाम जोडेर हल्ला गरिएछ । मैले त्यो घटनालाई पनि ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ भन्दै हावामा उडाइदिएँ ।
तनावका वीचमा पनि म रमाउन सक्छु । मैले कामका क्रममा कहिल्यै दिक्क मानिन किन कि काम मेरो पूजा हो । तर कहिलेकाँही हुने हल्लाले भने हैरानी दिंदो रहेछ । फुर्सदको बेलमा म सोच्छु, ‘आखिर यहाँ किन यस्तो हुन्छ ?’ म नेपाली नारी भएकाले भोलि कसैकी पत्नी र बुहारी बन्छु । म चहान्छु, मलाई अहिले मेरो जन्मघरका सबै सबै सदस्यहरुले जसरी माया र विश्वास दिनुभएको छ, म अर्को घरमा गएर पनि त्यसैगरी विश्वास जित्न चहान्छु । तर काम भन्दा कुरा गर्ने कुरौटेहरुका कारण नखाएको विष पनि लाग्ने जुन् अवस्था छ, त्यसले मलाई अहिले पनि हैरान बनाएको छ ।
भनिन्छ नि हण्डर र ठक्कर नखाएको मान्छेले सहन सक्दैन भनेर । म अहिले त्यस्तै भएकी छु, हण्डर र ठक्कर खाँदा खाँदा म मा धैर्य गर्ने र सहनसक्ने शक्ति बढेको छ । त्यसैले यो कुरौटेहरुको संसारमा म सही बाटोमा भएकाले मैले जित्छु । मैले फिल्म खेल्दा कहिल्यै पनि एक नम्बरकी हिरोनी बन्छु भन्ने सपना पालिन । एक नम्बर हिरोनी बन्न मैले कहिलै गलत आशय र प्रलोभनमा परेर आफूलाई मिसयूज गरिन ।
अहिले पनि मेरो प्रतिस्पर्धा म सँग मात्रै हो । भोलिका दिनमा आज मैले हांसिल गरेको उपलव्धीलाई म बचाएर राख्न चहान्छु । मेरो सपना अब यतिमा मात्रै सीमित हुने छैन । अहिल्यै मैले फिल्म निर्माण र निर्देशनबारेमा सोचेकी छैन । तर, म चाँडै केही नया काम गर्न जाँदैछु, त्यसबाट म सफल हुन्छु भन्ने विश्वास छ । सिनेमामा नआएकी भए मलाई कसैले चिन्दैन थिए । तर मैले फिल्मलाईनबाट जे कमाएँ, जे पाएँ, त्यो मेरा लागि गौरवको कुरा हो । त्यसैले मैले लिएको उचाईंमा टिकिरहन सक्छु कि सक्दिन भन्ने कुराले ठूलो अर्थ राख्दैन । अहिले पनि म मेरा दर्शकको मन र मष्तिष्कमा छाईरहन पूर्ण लगनशील भएर मेहनेत गर्छु र गरिरहनेछु ।
अन्त्यमा मलाई तपाईंले पटक पटक पे्रमका कुरा सोध्नुभयो, तर म तपाईंलाई मेरो मनको कुरा भन्छु, ‘मलाई कुनै युवकको आकर्षणले तानेन…म प्रेममा कहिलै पनि परिन…अब त विश्वास गर्नुहुन्छ होला नि ।’
- See more at: http://www.onlinekhabar.com/2013/09/120251/#sthash.5U4zOEHt.dpuf

,

0 comments

Write Down Your Responses

Powered by Blogger.