कांग्रेस-एमालेबीच तीन बुँदे निर्णय

काठमाडौं, मंसिर २२ - संविधानसभाका दुई ठूला दल कांग्रेस-एमालेले आपसी समझदारीमा अघि बढ्नेसहितका तीन बुँदे निर्णय गरेका छन् ।

बबरमहलस्थित शान्ति कोषको सचिवालयमा शनिबार साँझ बसेको बैठकले संविधानसभा निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र निष्पक्षरुपले सम्पन्न भएको भन्दै सवै पक्षलाई धन्यवाद दिने निर्णय गरेको छ ।

तीन बुँदे निर्णयमा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेका छन् । यसैगरी निर्वाचनबाट प्राप्त परिणामलाई सम्मान गर्दै राजनीतिक अभिभारालाई आपसी समझदारीका साथ पूरा गर्ने सहमति दुई पार्टीले गरेका छन् ।

बैठकले एमाओवादीलगायत सवै राजनीतिक दलहरुसँग सहमतिका लागि वार्ता र संवाद तत्काल गर्ने पनि निर्णय गरेको कोइराला र खनालद्वारा हस्ताक्षरित निर्णयपत्रमा उल्लेख छ ।

एमाले अध्यक्ष झलनाथ खनालका अनुसार शक्ति बाँडफाँडका विषयमा क्रमशः छलफल गर्दै जाने तय भएको छ । वार्तामा दुवै दलका नेताहरूबाट शक्ति बाँडफाँड गर्ने विषयमा आ-आफ्नै दाबी र अडान प्रस्तुत भएका थिए । राष्ट्रपतिको नयाँ निर्वाचनबारे दुई दलबीच मतान्तर बढिरहेको छ ।

'कांग्रेस र एमालेबीच जनमतअनुसार संविधान र सरकार सबै विषयमा मिलेर जाने निर्णय गरिएको छ, राष्ट्रपतिको निर्वाचन हुनुपर्नेलगायत पछिल्लो चोटि उठेका विषयमा भने आज (शनिबार) प्रवेश गरेनौं,' खनालले कान्तिपुरसँग भने, 'यी सबै विषयमा क्रमशः समझदारी गर्दै अघि बढ्नेमा सहमत भयौं । यो दुई पार्टीबीच महत्त्वपूर्ण सुरुआत हो ।'

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले उच्चस्तरीय वार्ता भएको र यसले सहमतीय राजनीतिक प्रक्रियालाई अघि बढाउन मद्दत पुर्‍याएको बताए । सहमतीय प्रक्रियामा एमाओवादीलाई सामेल गर्न आइतबारदेखि नै दुई पक्षीय र त्रिपक्षीय वार्ता हुने उनले जनाए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.