सिमेन्टमा भुस ! २५ सय बोरा खाडलमा हालियो

source:onlinekhabar 
गुणस्तरहीन सिमेन्ट उत्पादन तथा बिक्री गरेको भन्दै नेशनल सिमेन्ट उद्योगबाट उत्पादित २५ सय बोरा सिमेन्ट आइतबार नष्ट गरिएको छ । यसअघि पुस २ गते सो सिमेन्ट नष्ट गर्न गएको सरकारी टोली मुचुल्कामात्रै उठाएर फर्किएको थियो । गत साता ८ सय बोरा सिमेन्ट नष्ट गरेर सरकारी टोली फर्केको थियो । तर, कागजमा भने २ हजार ५ सय बोरा नै नष्ट गरेको बताइएको थियो ।
सिमेन्ट नष्ट गर्न गएको टोलीविरुद्ध प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले पुनः अर्को टोली अनुगमनका लागि पठाएका थिए । अनुगमन टोलीले नष्ट प्रकृया अपारदर्शी भएको प्रजिअलाई जानकारी गराएपछि प्रजिअ कार्कीले पारदर्शी रुपमा काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए ।

नाप तौल तथा गुणस्तर विभागका उपमहानिर्देशक विश्वबाबु पुडासैनी नेतृत्वको अनुगमन टोलीले ०६९ साल असोज १५ गते पूर्वाअचलका सिमेन्ट उद्योगको निरीक्षणका क्रममा नेशनल सिमेन्ट उद्योगमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको फेला पारेको थियो ।
केन्द्रीय अनुगमन टोलीले उद्योग निरीक्षणका क्रममा उद्योगले सिमेन्ट उत्पादन गर्ने क्रममा धानको भुसको खरानी मिसाउँदै गरेको अवस्थामा फेला पारेको थियो । तत्कालीन समयमा यसरी नेशनल सिमेन्टले घानको भुस मिसाएको फेला पारेपछि उद्योगलाई कार्वाहीका लागि मुचुल्का बनाएको थियो भने अर्को निर्णय नभएसम्मका लागि उद्योगले सिमेन्ट उत्पादन तथा विक्री वितरणमा समेत रोक लगाएको थियो ।
नेशनल सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको भव्या सिमेन्टमा अनुगमन टोलीले २ प्रतिशत भन्दा बढी धानको भुस मिसाएको प्रमाण ल्याव टेष्ट गर्दा समेत खुलेको थियो । यद्यपि तत्कालीन उद्योगमन्त्री अनिल झाको दबावमा एक महिना नबित्दै उद्योगमा लगाएको प्रतिवन्ध फुकुवा भएको थियो ।
विभागले गुणस्तहीन सिमेन्ट फेला पारेपछि स्थानीय प्रशासनमार्फत सम्बन्धित उद्योगलाई गुणस्तर ऐन २०३७ अनुसार मुद्दा चलाउन सकिने व्यवस्था छ । तर, मन्त्री झाको दबावमा उद्योगीलाई उन्मुक्ति दिइएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा समेत दर्ता नगरी नेशनल सिमेन्ट उद्योगलाई उन्मुक्ति दिने काम गरिएको थियो । गुणस्तर ऐन २०३७ मा गुणस्तरहीन सामान उत्पादन तथा विक्री वितरण गरेको पाइएमा जिल्ला प्रशासनले कारवाही गरी २ बर्ष कैद र ५ हजारदेखि १ लाखसम्म जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।
राजनीतिक पहुँचका आधारमा उद्योगका सञ्चालक आषिश जाटियाले तत्कालीन समयमा फेला पारेको २ हजार ५ सय बोरा गुणस्तरहीन सिमेन्टसमेत नष्ट गर्न हालसम्म आलटाल गर्दै आएका थिए ।
अनुगमन टोलीका संयोजक विश्वबाबु पुडासैनीेले उद्योगलाई कारवाही स्वरुप सिमेन्ट नष्ट गरिएको बताउनुभयो । पुडासैनीले भन्नुभयो ‘गुणस्तरहीन सिमेन्ट नष्ट गरियो, त्यही त हो नि कारवाही ।’ उहाँले आफू मुद्दा फाँट हेर्ने नभएकाले उद्योगीलाई कार्वाही गर्ने कुरामा थाहा नभएको जानकारी दिनुभयो ।
मोरङको कटहरीमा ०५१ सालमा स्थापना भएको नेशनल सिमेन्ट उद्योगले भव्य र आधारशीला सिमेन्ट उत्पादन गर्दै आएको छ । यसैवीच नेशनल सिमेन्ट उद्योगका सञ्चालक आषिश जाटियाले आफ्नो उद्योगको गुणस्तरहीन सिमेन्ट नष्ट गरेको समाचार प्रकाशन नगर्न सञ्चारकर्र्मीलाई आग्रह गरेका छन् ।
वीरगञ्ज निवासी जाटियाले बिराटनगरबाट प्रकाशित उद्घोष दैनिकमा कार्यरत सञ्चारकर्मी हरि अधिकारीलार्ई टेलिफोन गरी आफ्नो उद्योगविरुद्धको समाचार नलेख्न आग्रह गरेका हुन् । सञ्चारकर्मी अधिकारीले भने, ‘म समाचार तयार गर्दै थिएँ, जाटियाले फोन गरी गुणस्तरहीन सिमेन्ट नष्ट गरेको समाचार नछाप्न भने ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.