कांग्रेस एमालेद्वारा धाँधलीबारे छानविन आयोग बनाउन अस्वीकार

२६ मंसिर, काठमाडौं । निर्वाचनमा धाँधली भएको भन्दै उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने एमाओवादीको मागलाई कांग्रेस र एमालेले अस्वीकार गरेका छन् । बुधबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा कांग्रेस र एमालेमा नेताहरुले छानविन आ्योग गठन गर्न अस्वीकार गरेका छन् ।


‘बैठकमा हामीले धाँधलीबारे छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने प्रस्ताव राख्यौं, तर कांग्रेस र एमालेका नेतामहरुले त्यसलाई अस्वीकार गर्नुभयो, शान्ति कोषको सचिवालयमा आयोजित समितिको बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने- ‘संविधानसभा अदालत गए पनि हुन्छ या संसदबाटै समिति बनाएर छानविन गरे पनि हुन्छ भन्ने कांग्रेस, एमालेका नेताहरुको प्रस्ताव छ ।’

वैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले उच्चस्तरीय आयोग गठनको औचित्य नभएको वताउनुभयो । उहाँले भन्नुभयो,’समग्र निर्वाचनमाथि नै प्रश्न उठाउने गरी एमाओवादीले भनेजस्तो आयोग गठन गर्न सकिँदैन । ठाउँ र घटना विशेषका आधारमा भने प्रक्रियागत ढंगले अघि बढ्न सकिन्छ । ‘

यस्तै एमाले नेता भिम रावलले एमाओवादीले आफ्नो अडान नछोडेपछि वैठक निष्कर्षविहीन सकिएको वताउनुभयो । उहाँले भन्नुभयो,’एमाओवादीका नेताहरु आयोग गठनको मागमा अडिग रहनु भयो । तर हामीले भने एमाओवादीले भने जस्तो आयोग गठन गर्न सकिँदैन भन्यौँ । ‘ चुनावमा धाँधली भएकोबारे उच्चस्तरीय आयोग बनाउन नसकिने ठूला दलका नेताले अडान लिएपछि बैठक निश्कर्षविनै टुंगिएको हो । चुनाव सकिएपछि पहिलोपटक बुधबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुका साथै मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार र महन्थ ठाकुरको समेत सहभागिता थियो ।

चुनावको परिणाम अस्वीकार गर्दै संविधानसभामा जान अन्कनाउँदै आएको एमाओवादीलाई फकाउने प्रयासमा लागेका कांग्रेस र एमालेका नेताहरुले उच्चस्तरीय राजनीतिक समितिबाटै समस्या समाधानको प्रयास गर्ने बताएका छन् । यसका लागि थप छलफल गर्न मंसिर २९ गते विहान अर्को बैठक डाकिएको नेताहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.