पत्रकारले प्रश्न सोध्दा किन रिसाए लोकमान ?

२८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध नाराबाजी गरेका बिराटनगरका पत्रकारलाई प्रहरीले धरपकड गरेको छ । सुपारी निकासी फुकुवा गरेको प्रश्नमा गालगलौज गरेको भन्दै पत्रकारहरुले लोकमानविरुद्ध नाराबाजी गर्नुका साथै जिल्ला प्रशासन कार्यालय मोरङको मुल गेटमा धर्ना दिएका थिए ।
पत्रकारहरुको धर्नाका कारण कार्यालयभित्रै थुनिएका कार्कीको बाटो खोल्न प्रहरीले नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलासहित दुई दर्जन पत्रकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो । धरपकडका क्रममा केही पत्रकार घाइते भएका छन् ।
सीडीओ र एसपीले माफी मागे
धरपकड गरेकोप्रति प्रमुख जिल्ला अधिकारी गणेश कार्की र प्रहरी प्रमुख एसपी विश्वराज पोख्रेलले माफी मागेका छन् । सीडीओ र एसपीले माफी मागेपछि मोरङ प्रशासनमा पत्रकारहरुले दिएको धर्ना स्थागित भएको छ ।
किन रिसाए लोकमान ?
विभिन्न जिल्लाको भ्रमणका क्रममा बिराटनगर पुगेका अख्तियार प्रमुख कार्कीले प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकारहरुले तेश्रो मुलुकवाट निर्यात हुने सुपारी भारतमा हुने निकासीमा तपाईले लाइन मिलाउनु हुन्छ रे भनी प्रश्न सोधेपछि कार्कीले आफूलाई बदनाम गर्न खोजेको बताए । सुपारी तस्करीमा आफ्नो संलग्नता नभएको भन्दै उनले भने-’मेरो संलग्नता प्रमाणित गर्नुस्, आजैका मितिदेखि राजीनामा दिन्छु ।’

तर, पत्रकारले यसबारे धारणा मागेपछि आक्रोशित बनेका अख्तियार प्रमुख कार्कीले जे मन लाग्यो त्यही लेख्ने ? भन्दै गालीगलौज गरेका थिए । त्यसक्रममा केहीबेर अख्तियार प्रमुख कार्की र पत्रकारबीच भनाभन भएको थियो । कार्कीले माफी नमागेसम्म बाहिर जान नदिने भन्दै पत्रकारले जिल्ला प्रशासन कार्यालयको मुलगेटमै कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रेस स्वतन्त्रामाथि ठाडो हस्तक्षेप : पत्रकार महासंघ
 नेपाल पत्रकार महासंघले पत्रकारमाथि दुव्र्यवहार भएको भन्दै विरोध गरेको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान अयोगजस्तो संवैधानिक निकायको प्रमुखबाट पत्रकारमाथि दुव्र्यवहार गरिनु र प्रहरी लगाएर पक्राउ गराउनु प्रेस स्वतन्त्रामाथि ठाडो हस्तक्षेप हो’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी एमाले निकट प्रेस चौतारीका महासचिव माधव नेपालले पनि एक प्रेस विज्ञप्ति जारी गरी अख्तियार प्रमुख कार्कीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.