घरनिकाला गरिएका कुकुर स्याहार्दै विदेशी जोडी

source:onlinekhabar
२९ पुस, काठमाण्डौ । राजधानीको कपनस्थित पैंयुटारमा ७० वर्ष नाघेका न्युजिल्याण्डका एक दम्पती पशुअधिकारको वकालत गर्दै भुस्याहा कुकुर पालेर अनौठो जीवनयापन गरिरहेका छन् ।
बसपार्कको उत्तरतिर सरकारी जग्गामा एउटा रिसोर्टझैं कलात्मक ढंगले बनाइएका जालीदार टहरा छन् । टहराभित्र विभिन्न रंगका कुकुर पालिएको छ चिडियाखानाजस्तै ।
न्युजिल्याण्डका दम्पती हुन् यिनीहरु । अवकाशप्राप्त सिँचाइ इन्जिनियर डाउग क्लेण्डन र उनकी पत्नी केट बस्दा बस्छन् त्यहाँ । “हामीले चार वर्षदेखि कुकुरको स्याहार गर्दै आएका हौं” प्राकृतिक स्रोत विज्ञानमा स्नातकोत्तर केट बोलिन् “नेपाल आएको चाहिँ २७ वर्ष भयो ।”
अनलाइनखबरका पत्रकार त्यहाँ पुग्दा एकैपल्ट सबै कुकुर भुके । केहीबेरपछि भित्रबाट वृद्ध विदेशी जोडी निस्किए । “ओ… यु आर हम्ब्ली वेलकम टू आवर केयर होम” भन्दै उनीहरुले खरको छानोयुक्त आगन्तुक कक्षमा बसाए ।
कुकुर स्याहार गर्ने उनीहरु दुबैको पढाइ र अनुभव होइन । कुकुरको शौख भने रहेछ । “कम्पाउण्डभित्र पालेका कुकुर र सडकमा बेवारिसे कुकुरबीचको भिन्नता महसुस भयो” केटले सुनाइन् “सडकमा घाऊ र चोटले थलिएका, भोक र रोगले ग्रस्त कुकुर देखेपछि मन साह्रै दुख्यो अनि दम्पती मिलेर यो काम थाल्यौं ।” अहिले उनीहरुका स्याहार केन्द्रमा २५ वटा भुस्याहा कुकुर छन् ।
सडकमा रोग र भोकले थलिएका कुकुर देख्नासाथै यी दम्पतीको मन थामिनसक्नु हुँदोरहेछ । ट्याक्सीमा हालेर घर ल्याइहाल्छन् । घरैमा खोलिएको मिनी क्लिनिकमा उपचार गर्छन् । नसके पशु चिकित्सकसम्म पुर्याउँछन् । छाला, प्रसूति तथा क्यान्सर रोगले ग्रस्त कुकुरहरु पनि पालेका छन् यी दम्पतीले ।
त्यहाँ कुकुरका लागि वैज्ञानिक तवरले बनाइएका खोर र यार्ड छन् । सफा खाना, पानी र औषधि उपचार उपलव्ध छ । मासिक ४० हजार रुपैंयाँ आहारमै लाग्दोरहेछ ।

कुकुरको जात
अधिकांश कुकुर भूस्याहा भनिए पनि घरपालुवा र हाइब्रिड रहेको उनीहरुको दाबी छ । नेपाली सहरियाहरु आफ्ना कुकुर रोगी र बृद्ध भएपछि सडकमाबेवारिसे फ्याँक्छन् र त्यहाँ रहेका अन्य कुकुरको संसर्गमा आई हाइब्रिड जन्म हुने उनीहरु बताउँछन् । कतिपय अवस्थामा शौच गराउन सडकमा डुलाउने क्रममा पनि अन्य कुकुरसँग संसर्ग भई हाइब्रिड जातको जन्म हुने यी ज्येष्ठ विदेशी नागरिकको अनुभव छ ।
राम्रो छउञ्जेल ओछ्यानमा, बिरामी परेपछि सडकमा
नेपालमा कुकुर पाल्नेहरुको संख्या बढ्दो छ । खासगरी सहरी भेगमा कुकुर शौख र शानका लागि पाल्ने चलन छ । तर, नेपाली कुकुर पालकमा ममताको खडेरी देखेका छन् यी विदेशी दम्पतीले । “तन्दुरुस्त हुँदा आफ्नो ओछ्यानमै सुताउनेहरु बिरामी र वृद्ध कुकुरलाई बेवारिसे अवस्थामा छोडिदिन्छन्” डाउगीले मन दुखाए “के साह्रो निर्दयीहरु ।” उनले यसो भनिरहँदा केट भने एउटा विरामी कुकुर सुम्सुम्याउँदै थिइन् ।
घाइते कुकुर जोरपाटी चोकबाट ल्याइएको रहेछ । भाँच्चिएको खुट्टा टेक्दै हामीसामु पुच्छर हल्लाउँदै आयो । “घरमा पालिएको रहेछ । वृद्ध भएपछि सडकमा छोडिएछ” कुकुरको ढाड सुम्सुम्याउँदै उनले भनिन् “अप्रेसन गरेपछि निको हुँदैछ ।”
“ममताविहीन भएर फ्यालिएका कुकुर हुन्, कुपोषण सबैमा छ” मासुभात खाँदै गरेको कुकुर देखाउँदै केटले उल्लेख गरिन् “मान्छेजस्तै आहार र स्याहारको खाँचो छ । केहीदिनमै निको हुन्छन् यिनीहरु ।”
स्याहार भइसकेपछि कुकुर लिन चाहनेहरुलाई ममता र स्याहारबारे परामर्श दिएर कुकुर उपलव्ध गराइने चलन रहेछ । तर, आफूहरुले कुकुर बिक्रीचाहिँ नगर्ने यी दम्पतीले सुनाए ।
“खर्च कसरी जुटाउनु हुन्छ त ?” दुबैजना एकैचोटी बोले “विदेशतिरै बस्ने हाम्रा साथीहरुले व्यक्तिगत रुपमा पठाउँछन् । कुनै एनजिओ र सरकारी सहयोग होइन ।” हाल बेलायत, क्यानाडा, अष्ट्रेलिया, स्पेन, न्युजिल्याण्डका साथीहरुले सहयोग रकम उपलव्ध गराउँदै आएको उनीहरुले बताए ।
डाउगी अहिले ७१ वर्षमा पुगे भने केट ७० । दुबैजना रोजगारीको लागि खासै खट्न सक्दैनन् । उनीहरुले रिटायर्ड लाइफमा कल्याणकारी काम गर्ने चाहना भएको सुनाए । यही चाहनाले वेवारिसे कुकुर स्याहार गर्न डोर्याएछ ।
तर, रकम अभाव भएको सुनाउँछन् उनीहरु । डाउगीले आफूले पाउने पेन्सन रकमले मात्र कुकुर सेवा गर्न नपुग्ने उल्लेख गरे । उनले नेपालको सिँचाइ विभाग मातहतमा सिँचाइ कन्सल्टेन्टको रुपमा सेवा गरेका थिए । केट भने नेपालकै केही विद्यालयहरुमा विज्ञान शिक्षिकाको रुपमा कार्यरत थिइन् ।
उनीहरु कुकुर स्याहारको परिधि विस्तार गर्न चाहँदैनन् अब । स्रोत र जनशक्ति अभाव भएको उनीहरु बताउँछन् । कुकुरलाई मानवीय व्यवहार देखाउन चेतना विस्तार गर्नुमात्र आफूहरुको ध्येय रहेको उनीहरुले बताए ।
त्यही भएर उनीहरु कपन क्षेत्रमा वर्षेनी निःशुल्क रेबिज भ्याक्सिन तथा उपचार शिविर आयोजना गर्छन् । सडकमा भूस्याहा अवस्थामा कुकुर छाडिनु सभ्यता विपरीत रहेको उनीहरुको भनाइ छ । “हामी कुकुर पालनमा मानवीयता र सभ्यता दर्शाउन चाहन्छौं ”डाउगीले सुनाए “सानो कामले पनि समाज सुधार्न सकिन्छ ।”
गफका क्रममा डाउगीले कुकुर स्याहार कक्ष खोले । दुबैजनाले एक—एक गरी कुकुरहरुको पृष्ठभूमि, रोग र वर्तमान अवस्था व्याख्या गर्न थाले । सुरुमा डराउँदै छिरेका हामीलाई देख्दै बित्तिकै सबै कुकुरहरु रमाउँदै आइपुगे, मानौं, धेरैदिनपछि बाबुआमा भेटेको बालकझैं । “यसलाई मायाको खाँचो हुन्छ” खुट्टा खोच्याउँदै आएको एउटा रोगी छाउरी काखमा लिँदै केटले भनिन् “माया र हेला पशुपंक्षीले पनि महसुस गर्न सक्छन् ।”

0 comments

Write Down Your Responses

Powered by Blogger.