केपी ओली कडा हुँदा प्रचण्ड नरम

काठमाडौं । व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चयन गर्ने तिथि नजिकिँदै गर्दा एमाले र नेपाली कांग्रेसवीच सहमतिको सम्भावना बढ्नुको साटो थप दूरी बढेको छ । एमाले कांग्रेसको दूरी बढ्न थालेकै बेला सरकारमा नजाने निर्णय गरेको एमाओवादीले सरकारमा जान सकिने संकेत गरेको छ ।
एमाले संसदीय दलका नेता केपी ओलीले शुक्रबार व्यवस्थापिका संसदमा बोल्दै राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ चुनाव हुनुपर्नेमा जोड दिएपछि कांग्रेस नेताहरु एकाएक झस्किएका छन् । ओलीको कडा बोलीले सोमबार हुने प्रधानमन्त्री चयन प्रक्रियामाथि प्रभाव पार्ने सम्भावना देखिएकाले कांग्रेस नेताहरु आत्तिएका हुन् ।
आउँदो सोमबार व्यवस्थापिका संसदबाट नयाँ प्रधानमन्त्री चयन गर्ने कार्यक्रम संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । यसबा लागि शनिबार र आइतबार दुई दिन प्रधानमन्त्रीका लागि दरखास्त दिने तिथि तोकिएको छ । तर, प्रधानमन्त्रीका लागि दाबेदार मानिएका कांग्रेस सभापति सुशील कोइरालाले एमालेको सहमति लिन नसक्ने हो भने बुहमत जुटाउन एमाओवादीको साथ दिनुपर्ने हुन्छ ।
केपी ओलीको कडा अभिव्यक्ति
व्यवस्थापिका-संसदमा शुक्रबार बैठकको प्रारम्भमै समय मागेर बोलेका एमाले नेता ओलीले अघिल्लो संसदबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन नसकिने बताएका छन् । नयाँ जनादेश प्राप्त सार्वभौम संसद्ले अन्तरराष्ट्रिय मूल्य मान्यताअनुसार अर्को निर्वाचन गर्नैपर्नेमा ओलीले जोड दिएका हुन् ।
छिमेकी मुलुक चीन र भारतका राष्ट्रपतिहरूको निश्चित कार्यकाल रहने गरेको दृष्टान्त प्रस्तुत गर्दै नेता ओलीले नेपालमा राष्ट्रपतिको नयाँ निर्वाचन हुन सक्दैन भन्नु लोकतान्त्रिक पद्धतिमा नसुहाउने विषय भएको टिप्पणी गरेपछि राष्ट्रपतिका विषयमा अडान राख्दै आएको कांग्रेस अप्ठ्यारोमा परेको छ ।
ठूलो दलको हैसियतले नेपाली काँग्रेसले सरकार गठन गरोस् भन्ने आफ्नो पार्टीको चाहना भएपनि उसले त्यसो गर्न सक्दैन भने काँग्रेसको प्रस्तावमा नेकपा एमाले नयाँ सरकार बनाउन तयार रहेको भन्दै ओलीले कांग्रेसलाई थप चुनौती दिएका छन् ।
‘जनताले कसैलाई गनेर भोट दिएका होइनन्, दुईचार सिट काँग्रेसको बढी होला, एमालेको केही कम होला, तर हामी सरकार गठन गर्न सक्दैनौँ भन्ने होइन, ओलीको भनाइ थियो ।
कांग्रेस-एमाओवादी नजिक हुने सम्भावना
नयाँ राष्ट्रपतिको चुनाव गर्न कांग्रेस सहमत नभए आफैं सरकार बनाउने वा प्रतिपक्षमा बस्ने एमालेको धम्कीपछि कांग्रेसका कतिपय नेताहरु एमाओवादीसँग मिलेर भए पनि सरकार बनाउनुपर्ने बताउन थालेका छन् । ओलीको कडापनले कांग्रेस-एमाओवादी गठबन्धनको ढोका खोलेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाओवादीको विश्वास आफ्नो पक्षमा पार्नका लागि संविधानसभा अध्यक्षमा एमाओवादी अध्यक्ष प्रचण्डलाई ल्याउनुपर्ने प्रस्ताव राखिसकेका छन् ।
एमालेले प्रतिपक्षमा बस्ने बताइरहेका बेला एमाओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणमा अवरोध आउने अवस्था आए आफूहरु सरकारमा जाने शुक्रबारै सार्वजनिक अभिव्यक्ति दिएका छन् । शुक्रबार सिन्धुली र बर्दिवास हुँदै सिरहा पुगेका प्रचण्डले दिउँसो महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा सरकारमा जान सकिने संकेत गरेका हुन् ।
बर्दिवासस्थित पारिजात स्मृति अस्पतालको सभाकक्षमा स्थानीय राजनीतिक कार्यकर्ता र सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले आफ्नो पार्टीले सरकारमा नजाने कुरा निर्णय गरिसकेको तर, आफूहरू सरकारमा नजाँदा संविधान निर्माण प्रक्रियामै केही समस्या देखिए त्यसबारे पुनःविचार गर्न सकिने बताएका छन् ।
अझै सहमति हुने आश
एमाले नेता ओलीले का अभिव्यक्ति दिए पनि कांग्रेसका नेताहरुले अझै पनि एमालेसँग सहमति हुने सम्भावना रहेको बताए । कांग्रेस नेता डा. प्रकाशरण महतले अनलाइनखबरसँग भने, ‘एमालेसँग अनौपचारिक छलफल चलिरहेको छ, सोमबारसम्म सहमतिको सम्भावना अझै सकिएको छैन ।’
उता एमाले खनाल पक्षका एक नेताले भने केपी ओलीले बोलिसकेपछि एमालेको आधिकारिक लाइन त्यही भएको बताएका छन् । ‘केपी कामरेडले संसदमा जे भन्नुभएको छ, एमालेको आधिकारिक लाइन त्यही हो ।’ झलनाथका विश्वासपात्र रहेका ती नेताले  भने ।

0 comments

Write Down Your Responses

Powered by Blogger.