काठमाडौं प्रहरी प्रमुख खरेलले भने-दबाव र प्रभावमा नझुक्नुस्

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले कसैको दबाब र प्रभावमा झुकेर नागरिकको सुरक्षा दिने कामबाट विचलित नहुन निर्देशन दिएका छन् ।
दुई हप्ताअघि मात्र काठमाडौं प्रहरी प्रमुख बनेका खरेलले बिहीबार नगर प्रहरी भृकुटीमण्डपमा आफू मातहतका प्रहरीलाई २१ बुँदे निर्देशन दिएका हुन् ।
उनले शान्ति सुरक्षा भंग गर्ने काममा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन् । ‘काठमाडौंबासीले हामीबाट धेरै अपेक्षा गरेका छन्, शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैले खुट्टा नकमाउनुहोला’, खरेलले मातहतका प्रहरीलाई सम्बोधन गर्दै भने, ‘कसैको दबाब र प्रभावमा झुकेर नागरिकको सुरक्षा दिने कामबाट विचलित नहुनुस् ।’
एसएसपी खरेलले गुण्डागर्दीले काठमाडौंका नागरिकलाई हैरान पारेको बताउँदै गुण्डागर्दीमा संलग्न जो कसैलाई पनि नछोड्न निर्देशन दिएका छन् । ‘एसएसपी सावले लिखितरुपमा २१ बुँदे निर्देशन जारी गर्दै प्रहरी आचरण विपरित गएर कुनै पनि गतिविधि नगर्न निर्देशन दिनुभएको छ’, एक प्रहरी अधिकारीले भने-’इमान्दारीपूर्वक शान्ति सुरक्षा कायम गर्न खटिँदा कसैबाट कुनै पनि दबाब आएमा नस्वीकारी अघि बढ्न पनि भन्नुभएको छ ।’
२१ बुँदे निर्देशनमा कसैबाट कुनै पनि कामका लागि पैसा नलिन भनिएको छ । ‘कानुनभन्दा माथि कोही पनि नभएकाले कानुन उलंघन गर्ने जो कसैलाई कानुनी दायरामा ल्याएर दण्डित गराउने काममा अग्रसर हुनोस् ।’ लिखित निर्देशनमा भनिएको छ ।
प्रहरीको आचरणबारे आमनागरिकले गुनासो गरिरहेको बताउँदै एसएसपी खरेलले नागरिकसँग शिष्ट र नम्र व्यबहार गर्न पनि निर्देशन दिएका छन् । एसएसपी खरेल शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्वभावका कारण केही वर्षयता नागरिकले उनको कामको प्रशंसा गरेका छन् ।

एसएसपी खरेलले दिएका निर्देशनको मूख्य बुँदाहरू

  • शान्ति सुरक्षा कायम गर्दा राजनीतिक दबावमा नपर्ने
  • क्यासिनोबाट नाजायज फाइदा नलिने
  • क्यासिनो, जुवातास, बेश्यावृत्तिजस्ता अवैध धन्दालाई पूर्णरुपमा नियन्त्रण गर्ने
  • दलाल र भ्रष्टचारीलाई कुनै सहयोग नगर्ने
  • कसैको दबाब र प्रभावमा नपर्ने
  • रात्रिकालीन व्यवसायहरुमा सुरक्षाको विशेष व्यवस्था गर्ने
  • गुण्डाहरु सबैलाई पक्रने
  • नागरिकसँगको ब्यबहारमा सुधार गर्दै सम्बन्ध विस्तार गर्ने
  • शान्ति सुरक्षाका विषयमा नागरिकसँग नियमित अन्तरकृया गर्ने
  • नागरिकबाट घुस वा नजरनास्वरुपमा पैसा नलिने
  • कानुन उलंघन गर्ने जोसुकैले कानुनी दायरामा ल्याउन तत्पर हुने

0 comments

Write Down Your Responses

Powered by Blogger.