'ह्वाटस्एप'ले बालक फेला

लखनउ (बीबीसी), फाल्गुन - भारतको उत्तरप्रदेशको बरेली प्रहरीले मोबाइलमा प्रयोग हुने 'ह्वाटस्एप' को मद्दतले ११ वर्षे बेपत्ता बालक परमिन्दर सिंहलाई फेला पारेको छ ।
स्मार्टफोनमा हुने उक्त प्रविधिको प्रयोग गरेर लिखित/मौखिक सन्देशसहित तस्बिर, भिडियो र आफू भएको स्थानको नक्सासमेत पठाउन सकिन्छ ।
ती बालक हराएको सूचना आउनेबित्तिकै प्रहरीले ठाउँठाउँमा तस्बिर टाँस्नुका साथै 'ह्वाटस्एप' मा एसएमएस पठायो । 'प्रचारको विभिन्न माध्यमको प्रयोग गर्दै पर्चा पनि छपायौं, तिनै पर्चाको डिजिटल प्रतिलाई 'ह्वाटस्एप' मा सामूहिक सन्देश 'चेन म्यासेज पठायौं,' वरिष्ठ प्रहरी अधिकृत एसपी सिंहले भने । बडो अपत्यारिलो ढंगले बालक फेला परेको उनले सुनाए ।
'हाम्रो म्यासेज मुरादावाद स्टेसनको दुन एक्सप्रेसमा सवार यात्रु दानिसले पनि पाएछन्, उनकै अगाडि बालक बसेको हुनाले तत्काल तस्बिर मिलाएर पहिचान गरिहाले,' उनले भने । उनले तत्कालै बालक फेला परेको सूचना प्रहरीलाई दिएका थिए । बालकको पिता परमजितले बरेलीमा मिठाई पसल चलाउँछन् । साइकल चलाउनलाई बिहान घरबाट निस्केका परमिन्दर अचानक सम्पर्कविहीन भएका थिए । आफन्त र मित्रजनसँग सोधपुछ गर्दा पनि पत्ता नलागेपछि अभिभावकले प्रहरीलाई गुहारेको थियो ।
पिता परमजितले उच्च प्रविधिको समेत सहयोगले छोरा खोजिदिएकोमा प्रहरीप्रति आभार व्यक्त गरेका छन् । घरबाट निस्केर टे्रनसम्म पुग्दा बालकसँग भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.