गुलियो खायो भने रोग लाग्छ नि, त्यस्तै हो तरुनी भनेको

गएको साता नेपालमा कि त दिलशोभा श्रेष्ठको चर्चा भयो कि त पशुपतिका जोगीहरूको। दिलशोभाका धेरै कुरा बाहिर आए, तर पशुपतिका जोगीहरूको खासै चर्चा भएन। वास्तवमा पशुपतिमा भेटिने विचित्र प्रकारका जोगीहरूको क्रियाकलाप भोगीहरूका लागि आश्यर्चजनक नै छ। शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा भेला भएका करिब ७ सय जोगीले दुई साता अनौठा क्रियाकलाप गरेर बिताए। पशुपतिनाथको दर्शन गर्नेहरूमध्ये कतिपयको लक्ष्य जोगीहरूको दर्शन गर्ने पनि थियो। नेपाल र भारतका विभिन्न स्थानबाट भेला भएका ती जोगीहरूमध्ये साप्ताहिकले राधेबाबासँग घन्टौं कुरा गर्‍यो। सांसारिक युवाको आँखाबाट जोगीका बारेमा जिज्ञासा राख्दा राधेबाबा कुनै बेला रिसाउँथे, कुनै बेला अज्ञानी प्रश्न सुनेर खित्का छाडेर हास्थें। धनुषा, जोगीमारामा जन्मिएका राधेबाबाले १८ वर्षको उमेरमा संन्यास धारण गरेर गाउँ छाडेका थिए। त्यसयता उनी घर फर्किएका छैनन्।

किन जोगी हुनुभएको ?

ईश्वरको कृपा भएर। जोगी हुनु भनेको मानव जीवनकै ठूलो घटना हो। ईश्वरको कृपा नभै जोगी बन्न सकिँदैन।

भनेपछि हामीलाई ईश्वरको कृपा हुँदैन ?

कस्तो मूर्ख मान्छे, मैले त्यसो भने र ?

तपाईंको कुरा सुन्दा त्यस्तै लाग्यो नि, किन रिसाउनुहुन्छ ?

हेर केटा, नाङ्गो तार, प्रहरी र जोगीसँग जिस्कनु हुँदैन। यिनीहरू कामसँग मतलब राख्छन्। मीठो बोले भन्दैमा आफ्नो सम्झने भूल गर्नु हुँदैन। देशको कानुन, ईश्वर र जोगी कसैका पनि हुँदैनन्।

जोगीहरूमा रिस-राग सबै तिरोहित हुन्छ भन्ने सुनेको थिएँ, होइन कि क्या हो ?

तिमीले दुर्वासा ऋषिको कथा सुनेका छैनौं ? उनी सिद्ध थिए तर रिसाउँथे। कैयौं साम्राज्य उनका रिसले खत्तम भए। अनावश्यक कुरामा किन विवाद गर्छौं ?

तपाईंको जन्म धनुषाको जोगीमारामा भएको रहेछ, त्यही भएर जोगी भएको ?

बडा तीखो मान्छे रै'छ यो त। संयोग मिलेको हो। जोगीमारामा गृहस्थ पनि छन्।

तपाईंको जन्मको नाम के थियो ?

बुद्धिकान्त झा ।

विवाह गर्ने बेलामा किन जोगी हुनुभएको ?

मैले भनिहालें नि, ईश्वरको कृपा भएर।

विवाह गरौं भन्ने लागेन ?

कस्तो कुरा गछौं बाबु, विवाह ठूलो कुरा हो र ?

हामी त गृहस्थ, यही कुरा ठूलो लाग्छ। किन होला ?

अज्ञानी भएर। तिमीलाई थाहा छैन, स्त्री भनेका गुलिया विष हुन्। खाँदा रमाइलो लाग्छ, पछि चिनी रोग निस्कन्छ। स्त्रीले बन्धनमा पार्दै लान्छन्। स्त्रीकै कारण रामायण घट्यो, महाभारत घट्यो। विश्वयुद्ध भए, पत्रकार भएर यति पनि थाहा छैन ?

तपाईंले भनेको मान्ने हो भने त सृष्टि नै अवरुद्ध हुन्छ ?

विवाह गर्नु पनि ठीकै हो तर त्यसको बन्धनमा पर्नुहुँदैन। संसारमा पैसा, स्त्री र पुत्रले बन्धनमा पार्दै लान्छन्। संसारीहरू त्यसको जालमा यसरी पर्छन्, उम्कने कुनै बाटो नै पाउँदैनन्। उनीहरू दुःखी जन्मन्छन्, दुःखी हुँदै ठूला हुन्छन् र दुःखी नै अवस्थामा मर्छन्। यसबाट बच्नुपर्छ।

तपाईंचाहिँ सुखी हुनुहुन्छ ?

मलाई दुःख छैन। म जहाँ जान्छु, त्यही संसार। जे खान्छु, त्यही मिष्ठान्न पकवान। जोसँग बस्छु त्यही नै परिवार। मलाई न त पैसाले लोभ्याउँछ, न त स्त्री सुखको मोह छ, न त भोलि के होला भन्ने चिन्ता ।

शरीरलाई कष्ट दिएर जताततै भौंतारिनु पनि के जीवन ?

तिम्रो मनमा जुन कष्ट छ, त्यो कष्टका अघि मेरो कष्ट त केही होइन। आफ्नो जीवन फर्किएर हेरेका छौं ? तिमी कति दुःखी छौं।

मलाई के-को दुःख ? आधुनिक विज्ञानका सामग्री चलाउँछु, शरीरलाई सास्तीबाट बचाउँछु। जागिर खान्छु, श्रीमती तथा परिवार छन्। मलाई दुःख छ जस्तो लाग्छ ?

म सबै थाहा पाउँछु, तिमीलाई दुःख छ। तिमी बहुत निराशामा छौं।

थोरबहुत दुःख त सबैलाई हुन्छ, नत्र संसार कसरी चल्छ ?

यही दुःख नै संसार हो। मानिस यसबाट उम्कन चाहन्छ तर विचरा संसारीक जगत्मै अल्झिएको छ। अनि तिमीले भन्यौ नि, विज्ञानको कुरा, त्यो पनि ईश्वरले दिएको ज्ञान हो। मान्छे त माध्यम मात्र हो।

विज्ञानको प्रगति देख्दा अचम्म लाग्दैन ? ईश्वरलाई नै जितिसकें जस्तो लाग्दैन ?

त्यो त अचम्म लाग्छ। रिमोट चलायो, बिनातार टेलिभिजन चल्छ। गोजीमा राखेको मोबाइलले अमेरिका कुरा गर्न मिल्छ। यस्तो त देवताको पालामा पनि थिएन। पुष्पक विमान त थियो, तर यो मोबाइलचाहिँ नयाँ थपिएको छ, यो विज्ञानका कारण।

कम्प्युटर इन्टरनेट जस्ता कुरा पनि आएका छन्, था’छ कि छैन ?

हामीलाई के मतलब ? आएको भए राम्रो। मलाई के लेनादेना ?

कहिलेकाहीँ परिवार भएको भए हुन्थ्यो भन्ने लाग्दैन ?

लाग्दैन। गुलियो नचाखेको मान्छेको अघि तिमी किन चिनीको मात्र कुरा गर्छौं हँ ? जान्नुपर्ने कुरा धेरै छ, तिमी खाली चिनी-चिनी किन भन्छौं ?

तपाईं हिन्दू धर्मालम्बी, अरू धर्मका बारेमा के सोच्नुहुन्छ ?

जब-जब धर्मको नाश हुन्छ, ईश्वर विभिन्न रूपमा आउनुहुन्छ। कहिले येसुका रूपमा, कहिले मोहम्मदका रूपमा, कहिले कृष्णका रूपमा अनि कहिले बुद्धका रूपमा। नबुझेका मूर्खहरू धर्मका नाममा झगडा गर्छन्।

ईश्वर भनेको को हो ? तपाईंले देख्नुभएको छ ?

ईश्वर भनेको कानुन हो। कानुनलाई तिमीले देखेका छौं ? त्यो त जुनबेला कानुन तोड्छौ त्यही बेला कानुनको फन्दामा पर्छौं। ईश्वर पनि त्यस्तै हो। जुनबेला ईश्वरले बनाएको नियम तोड्छौ त्यही बेला ईश्वर थाहा पाउँछौ। अहिले त तिमी बेहोसीमा छौं, ईश्वरले तिमीलाई बाटो देखाइरहन्छन्, तिमी बारम्बार ईश्वरको अपहेलना गर्छौं। यही कारण दुःखी छौं।

तपाईंले देख्नुभएको छ ?

नदेखेको भए यो कुरा किन गर्थे ?

कस्ता छन् ईश्वर ?

यस्तो बकवास प्रश्नै नगर।

मानौं, मलाई ईश्वर पाउन मन लाग्यो, मैले के गर्नुपर्छ ?

मनलाई आफ्नो वशमा राख्ने उपायहरू गर्नुपर्छ। मन भनेको पागल हात्ती जस्तै हो। यसले मान्छेलाई जथाभावी लान्छ, त्यसलाई पकडमा राख्यौ भने तिमीले विस्तारै ईश्वरको दर्शन पाउन थाल्छौं।

सबै जोगीले ईश्वर प्राप्त गर्न सक्छन् ?

सक्दैनन्, यहाँ भएका सबै जोगीको विश्वास नगर। तिमीलाई थाहा छैन, जोगीको नाममा आशाराम बापुले के गरे ? जोगीले कहीँ स्त्री सुखको इच्छा राख्छ ? त्यस्ता सबै जोगीको नाममा कलंक हुन्। सीतालाई हरण गर्न रावण पनि जोगीको भेषमा गएको थियो। सांसारीभन्दा जोगी झन् खतरनाक हुन्छन्। चिनेर मात्र संगत गर्नुपर्छ। सबै बाँसमा वंशलोचन हुँदैन, सबै गाईमा गौलचन हुँदैन अनि सबै हात्तीमा गजमणि हुँदैन। जोगीको भेषमा मान्छे ठग्ने महापापी हो।

पापबाट बच्न के गर्नुपर्छ ?

स्त्रीलाई सम्मान गर्नुपर्छ, उसलाई उचित मानमर्यादामा राख्नुपर्छ। अर्काले के गर्‍यो, त्यसको चियो चर्चा गर्दै हिँड्नु हुँदैन, आफ्नो काममा मात्र मतलब राख्नुपर्छ। जीवनमा म फूल मात्र लिन्छु, काँडा लिन्न भन्ने हठ गर्नुहुँदैन। फूलसँग स्वतः काँडा पनि हात पर्छ। त्यसलाई सहज रूपमा स्वीकार गर्नुपर्छ। यी कुरा ध्यानपूर्वक गर्‍यौं भने पापबाट बच्नेछौं।

तपाईं जोगी भएको ४० वर्ष बितेछ, कहाँ-कहाँ पुग्नुभो ?

भारत र नेपालका सबै तीर्थस्थल र गाउँ डुलिसकें। जीवन बिताउनुबाहेक अरू के काम छ र ? अब त मान्छेको बस्तीमा पनि बस्न मन लाग्न छाड्यो। खाली घना जंगल र हिमालतिर मात्र बस्न मन लाग्छ।

अमेरिका जाने मौका पाउनुभयो भने के गर्नुहुन्छ ?

अब तिमी यहाँबाट गैहाल, यस्ता वाहियत प्रश्न गर्नुपर्दैन।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.