२ करोड नेपालीका हातमा मोवाइल, ३० प्रतिशत इन्टरनेटको पहुँचमा

काठमाडौ । देशका २ करोडभन्दा बढी मानिसका हातमा मोवाइल सेवा पुगेको छ भने झण्डै ३० प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालभर २ करोड १ लाख १७ हजार ६ सय ४९ व्यक्तिको पहुँचमा मोवाइल सेवा पुगिसकेको छ । प्राधिकरणले सार्वजनिक गर्ने म्यानेजमेन्ट इनफर्मेसन सिष्टम -एमआईएस) प्रतिबेदनका अनुसार पुस महिनासम्म देशमा ७५ दशमलव ९३ प्रतिशत व्यक्तिको पहुँचमा मोवाइल सेवा पुगिसकेको छ । टेलिकम्युनिकेसन कम्पनीले उपलब्ध गराउने तथ्यांकलाई आधार मानेर प्राधिकरणले प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । प्रतिवेदनअनुसार जीएसएम सेवा अन्तर्गत एनसेलका १ करोड ९ लाख ६९ हजार ९ सय ५८ ग्राहक छन् । त्यस्तै सरकारी लगानीको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को जीएसएम सेवाका ग्राहक ८१ लाख २२ हजार २ सय ४९ पुगेका छन् । एनटीसीको सीडीएमए मोवाइल सेवाका ग्राहक १० लाख २५ हजार ३ सय ४२ पुगेका छन भने ल्याण्डलाइन टेलिफोनका ८ लाख ५१ हजार ४ सय ५० ग्राहक पुगेको प्रतिवेदनले देखाएको छ । सबै किसिमका टेलिफोन सेवाका ग्राहकको संख्या २ करोड २७ लाख ५९ हजार २ सय १३ पुगेको छ । यो कुल जनसंख्याको ८५ दशमलव ८६ प्रतिशत हो ।
 ३० प्रतिशत इन्टरनेट पहुँचमा
एमआईएस प्रतिवेदन अनुसार देशका करिब ३० प्रतिशत जनता इन्टरनेटको पहुँचमा पुगिसकेका छन् । गतवर्षको सोही अवधिसम्म भने करिब २२ प्रतिशतले मात्र इन्टरनेटको प्रयोग गर्दै आएका थिए । टेलिकम कम्पनीले मोवाइलमै इन्टरनेट सुविधा पनि दिन थालेपछि प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको हो । पछिल्लो तथ्यांकअनुसार पनि जीपीआरएस लगायतका सेवाका कारण मोबाइल इन्टरनेट प्रयोकर्ताको संख्या बढिरहेको छ । कुल ७८ लाख ९२ हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्तामध्ये ७४ लाख २८ हजारभन्दा बढीले मोबाइलबाटै इन्टरनेटको प्रयोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.