सरकारले भारतीय राजदूतलाई सोध्यो-सीमा नाकामा अवरोध किन ?

काठमाडौं । सरकारले नेपाल आउने सीमा नाकामा नेपाली सवारी आवागमन रोकेकोमा भारतीय राजदूत रणजीत रायसँग स्पष्टीकरण लिएको छ ।
कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले राजदूत रायलाई सिंहदरवारस्थित मन्त्रालयमै बोलाएर सीमा नाकाहरुमा नेपाली सवारी साधन रोकेको विषयमा जानकारी लिएका हुन् ।
परराष्ट्रमन्त्री महेन्द्र पाण्डे राष्ट्रसंघ महासभामा सहभागी हुन गएकाले स्वास्थ्य मन्त्री अधिकारीले परराष्ट्रमन्त्रीको कार्यभार पनि सम्हालेका छन् ।
नयाँ संविधानलाई लिएर असन्तुष्ट देखिएको भारतले केही दिनदेखि सुरक्षाको कारण देखाउँदै सीमामा अवरोध गर्दै आएको छ । प्रमुख तीन दलको बिहीबार बसेको बैठकले सीमा नाकामा अवरोधबारे सरकारले भारतीय राजदूतलाई सोध्ने निर्णय गरेको थियो ।
स्रोतका अनुसार भेटमा कार्यवाहक परराष्ट्रमन्त्री अधिकारीले सीमामा देखिएको अवरोध नियोजित देखिएको बताएका छन् ।
जवाफमा भारतीय राजदूत रायले भने सीमामा भारतको कुनै अवरोध नभएको र नेपाली पक्षको आन्दोलनका कारण अवरोध आएको जवाफ दिएको बताइएको छ ।
तीन दलले स्पष्टीकरण लिने निर्णय गरे लगतै राजदूत राय शुक्रबार बिहानैबाट राजनीतिक दौडधुपमा थिए । उनले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टा छुट्टै भेट गरेका थिए ।
लगतै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर सीमा नाकामा भारतीय अवरोध नभएको तथा नेपाली आन्दोलनकारीले सीमा क्षेत्रमा अवरोध पुर्‍याइरहेको बताएको थियो ।
यसैवीच मधेस आन्दोलनलाई लक्षित गर्दै भारतले राजनीतिक तवरबाट समस्या सुल्झाउन फेरि सल्लाह दिएको छ । उसले भनेकाे छ, ‘नेपालको नेतृत्वले अहिलेको तनावपूर्ण अवस्थाका कारणहलाई प्रभावकारी र जिम्मेवार ढंगले सम्वोधन गर्नुपर्छ,’ विज्ञप्तिले भनिएको छ, ‘मतभेदका मुद्दाहरुलाई फराकिलो स्वामित्व र स्वीकार्यताको माध्यमले समाधान गर्नुपर्छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.