भारतका लागि नेपाली राजदूतले भने-भारतले नाकाबन्दी गरेको छैन

काठमाडौं । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतले नेपालमा नाकाबन्दी नै नलगाएको दाबी गरेका छन् ।
Deep-Kumarभारतको अघोषित नाकाबन्दीका कारण काठमाडौंको जनजीवन कष्टकर बन्दै गइरहेका बेला राजदूतले नाकाबन्दी नभएको भन्दै नेपालीहरु संयमित हुनु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा राजदूत उपाध्यायले भने-‘भारतले नाकाबन्दी नलगाएको भनेर पटकपटक भनिरहेको छ । उसले नेपालमा असुरक्षा छ भनेर भनिरहेको छ । यस्तो बेलामा हामीले नाकाबन्दी लगाएको भन्ने आधार छैन ।’
उनले अघि भने-हामीले पनि भुपरिबेष्ठित र अति कम विकाशसील मुलुकको संबेदनशिलता बुझ्न भनेका छौं । त्यसैले अहिले हामी संयमित बन्नुपर्छ, यसलाई थप जटिल बनाउने काम गर्नु हुँदैन ।’
उनले आरोप प्रत्यारोप गरेर समस्याको समाधान नहुने भन्दै  कुटनीतिक तहबाट समाधान खोज्नु पर्ने बताए ।  नेपालको अवस्था र समस्याको विषयमा भारतलाई पूर्ण जानकारी रहेको भन्दै राजदूत उपाध्यायले भने-‘छिटो समस्या समाधान हुन्छ भन्ने आशा गरौं । २-४ दिनमा केही होला ।’
नेपालले गरिरहेको कुटनीतिक प्रयास टुङ्गोमा नपुगुन्जेलसम्म धैर्य गर्नुपर्ने भन्दै उनले नेपालको संविधानमा संशोधन गर्नु पर्ने भन्दै भारतले पठाएको सातबुँदे सुझावबारे आफूलाई जानकारी नभएको बताए ।
भारतमा रहँदा आफूले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री शुष्मा स्वराजसहितका बरिष्ठ सरकारी अधिकारीहरुलाई भेटेको र अब भारतीय प्रधानमन्त्री मोदी न्यूयोर्कबाट फर्किएपछि भेट गरेर सबै कुरा राख्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिब्यक्ति नआउन्जेलसम्म संयमित हुनु पर्नेमा जोड दिएका छन् ।
राजदुत उपाध्यायले आफूले कुटनीतिक मर्यादाको सीमामा रहेर प्रयास गरिरहेको बताए । उनले भने-यहाँबाट भारत गएर नेपालको संविधानको विषयमा छलफल हुन्छ । मैले सरकारलाई भनेको छु, कम्तिमा पनि प्रत्येक गाविसमा एउटा संविधान र विदेश स्थित कुटनीतिक नियोगमा अग्रेजीमा अनुवाद गरिएको संविधान पठाउनु पर्छ । म पनि संविधान लिएर दिल्ली जान्छु ।’
नेपालमा प्रवेश गरेका साधनको सुरक्षाको जिम्मा नेपाल सरकारको भएको र नेपाल सरकारले सुरक्षा दिने प्रतिबद्धता ब्यक्त गरेको भन्दै उनले भारतले आपूर्ति ब्यवस्था सहज बनाउन सहयोग गर्नु पर्ने बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.