प्रचण्डलाई ज्वरो आएपछि एमाओवादीको बैठक स्थगित

१० पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई ज्वरो आएपछि बुधबार बस्ने भनिएको पूर्वपोलिटब्यूरो सदस्यहरुको बैठक बस्न सकेन । स्थगित बैठक विहीबार दिउँसो १ बजे पुनः बस्ने नेताहरुले जानकारी गराएका छन् ।
‘अध्यक्षलाई सञ्चो नभएकाले आजको बैठक बस्न नसकेको हो, भोलि दिउँसो पुन १ बजे बस्छ, एमाओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले बुधबार अनलाइनखबरसँग भन्नुभयो । बुधबार दिउँसो १ बजे बस्ने बैठकले आगामी दिनमा पार्टी कसरी अघि बढ्ने भन्नेबारे नेताहरुबाट सुझाव संकलन गर्ने कार्यक्रम थियो ।
पूर्वपोलिटब्यूरो सदस्यबाट सुझाव संकलन गरिसकेपछि केन्द्रीय कमिटीको बैठक डाक्ने एमाओवादीको कार्यक्रम छ । साथै समानुपातिक सभासदको नामावली तयार पार्ने काम पनि बैठकले गर्न बाँकी रहेको छ ।
सामान्य रुखाखोकी मात्रै
यसैवीच अध्यक्ष प्रचण्डलाई के भएको हो भनेर सोध्दा उहाँका स्वकीय सचिव एवं एमाओवादी केन्द्रीय सदस्य चूडामणि खड्काले सामान्य रुघाखोकी लागेको र ‘डिकोल्ड’ खानेगरीको ज्वरो आएको बताउनुभयो । ‘सामान्य रुखाखोकीको ज्वरो हो, विहीबारको बैठकमा उहाँ जान सक्नुहुन्छ’ खड्काले अनलाइनखबरसँग भन्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.