कमल थापालाई गृहजिल्ला प्रवेशमै रोक, कार्यालयमा आगजनी

२४ मंसिर, हेटौंडा । राप्रपा नेपालको समानुपातिक सभासद छनोटमा देखिएको विवाद पार्टी अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरसम्म पुगेको छ । असन्तुष्ट कार्यकर्ताले जिल्ला कार्यालयमा सोमबार तोडफोड एवं आगजनी गर्नुका साथै केन्द्रीय अध्यक्ष कमल थापालाई गृहजिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेका छन् ।

Rpp-nepal
राप्रपा नेपालको युवा संगठन राष्ट्रिय युवा मोर्चाले हेटौंडाको सानोपोखरामा रहेको आफ्नै पार्टी कार्यालयमा रहेका महत्वपूर्ण कागजातसँगै टेबुल, कुर्सी जलाएका छन् । जिल्ला कार्यालयमा तालावन्दी गरेर धर्ना दिएका उनीहरुले अध्यक्ष थापाको गृहजिल्ला मकवानपुरबाट एकजना सभासद बनाउन माग गरेका छन् ।
राष्ट्रिय युवा मोर्चाका जिल्ला उपाध्यक्ष सनितलाल श्रेष्ठले पूर्व प्रतिवद्धता अनुसार मकवानपुरको मतको कदर गर्न आग्रह गर्नुभयो । पार्टी कार्यालय अघि भएको कोणसभामा श्रेष्ठले भन्नुभयो-’२८ हजार मतको कदर गर्नुहोला, नेताका नातागोता र इष्टमित्रलाई होइन । अप्ठ्यारोमा साथ दिने कार्यकर्ताको मूल्यांकन होस् ।’ आन्दोलनमा महिला र विद्यार्थी संगठनका नेताहरुको समेत सहभागिता थियो ।
समानुपातिक निर्वाचन प्रणालीमा राप्रपा नेपालले मकवानपुरमा मात्र २८ हजार बढी मत पाएको छ । चुनावी प्रचारका क्रममा कमल थापाले २० हजार बढी मत ल्याउने जिल्लालाई कम्तिमा एक सभासद दिने बचन दिनुभएको थियो ।
समानुपातिक सभासदको छनौटमा राप्रपा नेपाल चर्को विवादमा फसेको छ । मकवानपुरमा जस्तै अन्य जिल्ला र केन्द्रीय समितिमा समेत उम्मेद्वार छनौट प्रक्रियाका कारण पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.