अशोक राईलाई सघाउने लिम्बुवान नेतालाई कारवाही

२२ मंसिर, झापा । संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं १ मा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका उम्मेद्वारलाई सघाउने भन्दै पत्रकार सम्मेलन गरेको अभियोगमा संघीय लिम्वुवान राज्य परिषद्का उम्मेद्वारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

संघीय लिम्बुवान राज्य परिषद् झापा जिल्ला कमिटी अध्यक्ष ओमप्रकाश खापुङ त्यसरी कारवाहीमा परेका हुन् । हालै बिर्तामोडमा सम्पन्न लिम्बुवान राज्य परिषद्को ३ दिने केन्द्रीय समिति बैठकले खापुङलाई पार्टीबाट निष्काशन गरेको प्रवक्ता लाजेहाङ लिम्बुले जनाएका छन् । ‘संविधानसभा निर्वाचनको सन्दर्भमा पार्टीलाई गम्भीर आघात पुग्ने गरी अराजनीति र स्वेच्छिक ढंगले आफ्नो उम्मेद्वारी फिर्ता लिई संघीय समाजवादी पार्टीको उम्मेद्वारलाई पत्रकार सम्मेलन गरी सघाउने निर्णय गरेकोले उहाँलाई अध्यक्षको पदबाट पदमुक्त गरी ६ महिनासम्म साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको हो ।’ वैठकपछि जारी वक्तव्यमा भनिएको छ ।
साथै झापा जिल्ला सदस्य अभिषेक राईलाई पनि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ । त्यसैगरी चुनावका बेला विभिन्न जिल्लामा देखापरेको अनियमितताको छानविन गर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.