एमाओवादीका समानुपातिकतर्फका उम्मेद्वार अन्यौलमा

२२ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका तर्फबाट समानुपातिकतर्फ उम्मेदवार बनेका नेताहरू अन्योल र अलमलमा परेका छन् । समानुपातिक तर्फबाट सभासद्को कोटामा पर्न अन्य पार्टीबाट उम्मेदवार रहेका नेताहरू पार्टीका शीर्ष नेताहरूको घरदैलोमा पुगेर लबिङमा लागिरहेका बेला एमाओवादी उम्मेदवारहरू भने अन्योल र अनिश्चयमा परेका हुन् ।

पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठनको माग पूरा नगरेसम्म समानुपातिकको नाम नपठाउने निर्णय गरेपछि के गर्ने भन्नेमा उनीहरू अन्योलमा परेका हुन् । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई २५ मंसिरसम्म समानुपातिकतर्फको नाम छनोट गरेर पठाउन भने पनि सो समयावधिमा नाम नपठाए सम्बन्धित राजनीतिक दलको नाममा सिट सुरक्षित नै हुने बताएपछि एमाओवादी उम्मेदवारहरू थप अन्योलमा परेका हुन् । ‘नेताकहाँ जाऔं, पार्टी हारको पीडामा छ, संविधानसभामा जाने/नजाने विषयमा अन्योल छ,’ एमाओवादी समानुपातिकका एक उम्मेदवारले राजधानीसँग भने, ‘नजाऔं संविधानसभामा पार्टी सहभागी भइहालेमा आफू छुट्ने त होइन भन्ने पनि छ, पूरै अकर्मण्यतामा फसिएको छ ।’ एमाओवादीका शीर्ष नेताहरूले पार्टीले ९ पुसको केन्द्रीय समिति बैठक अगाडि संविधानसभामा सहभागिता, पार्टीको राजनीतिक कार्यदिशालगायतका कुनै पनि विषयमा निर्णय नलिने र समानुपातिक छनोटका विषयमा छलफलसमेत नचलाउने बताएपछि उम्मेदवारहरू अन्योलमा परेको राजधानी दैनिकमा खबर छ ।
मधेसबाट समानुपातिकमा परेका उम्मेदवारले भने पार्टी ढिलोचाँडो संविधानसभामा प्रवेश गर्ने भन्दै अहिलेदेखि नै लबिङ भने थालेका छन् । ‘साथीहरूले सम्बन्धित राज्यका इन्चार्ज तथा संयोजकहरूसँग छलफल चलाएका हुन सक्छन्,’ एमाओवादी केन्द्रीय सदस्य हेमन्तप्रकाश वलीले भने, ‘तर केन्द्रमा म पर्नु पर्यो भन्ने आसयका साथ कोही पनि अहिले लबिङमा आउने–जाने क्रम भएको छैन ।’ पार्टी नै निर्वाचनमा भएको धाँधली छानबिनको मागसहित आन्दोलनमा रहेका बेला समानुपातिकतर्फका उम्मेदवार छनोटका विषयमा छलफल नै नचलाएको उनले जिकिर गरे । उनले भने, ‘अहिले सबै उम्मेदवारहरू पार्टीको एकमहिने अभियानमा रहेका कारण कसैले पनि समानुपातिकतर्फ चासो दिएजस्तो लाग्दैन ।
’ एमाओवादी केन्द्रीय कार्यालय स्रोतका अनुसार समानुपातिकका उम्मेदवारहरू लबिङमा नलागे पनि विकसित घटनाक्रम र पार्टी कार्यलयमा आउत–जावतका विषयमा भने निकै नै चासो लिन थालेका छन् । एमाओवादी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार महेन्द्र पासवान पनि उक्त कुरा स्विकार्छन् । ‘उम्मेदवार रहेका अन्य नेताहरू के गरिरहेका छन् भन्नेमा चासो लिएर हरेक उम्मेदवारहरू बसे पनि सीधै लबिङमा भने लागिहाल्न नसकेको’ पासवानले बताए । एमाओवादीका तर्फबाट वरिष्ठ नेता दीनानाथ शर्मा, हेमन्तप्रकाश वलीसहित ३ सय ३२ जना समानुपातिकका उम्मेदवार छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.