सरकारले बैकुन्ठ मानन्धर र दीपक विष्टलाई २५ लाख दिने


काठमाडौं, मंसिर २६ - सरकारले म्यारथन धावक बैकुण्ठ मानन्धर र तेक्वान्दो खेलाडी दीपक विष्टलाई जनही २५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । राष्ट्रिय खेलकुद परिषदको सिफारिस अनुसार सरकारले मानन्धर र विष्टलाई आवास सुविधाका लागि २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । राखेपले दक्षिण एशियाली खेलकुदमा ३ भन्दा बढी खेलमा स्वर्ण पदक वा एशियाली खेलकुद प्रतियोगितामा स्वर्णसहित २ पदक जितेमा र ओलम्पिक खेलमा कुनै पनि पदक जित्ने खेलाडीलाई सन्यासपछि २५ लाख रुपैयाँ बराबरको आवासको व्यवस्था गर्न २०६८ सालको चैतमा सिफारिस गरेको थियो । राखेपको सिफारिस अनुसार यो पुरस्कारको मापदण्डमा मानन्धर र विष्ट परेका हुन् । बैकुण्ठ मानन्धरले दक्षिण एशियाली खेलकुदको म्याराथनमा ३ स्वर्ण जितेका छन् भने विष्टले दक्षिण एशियाली खेलकुदमा ४ स्वर्ण र एशियाली खेलकुदमा २ वटा स्वर्ण जितेका छन् । बैकुण्ठले सन् १९८७ मा भारतको कोलकतामा भएको दक्षिण एशियाली खेलकुदमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा म्याराथन पुरा गर्दै दक्षिण एशियाली कीर्तिमान कायम गरेका थिए । सन् १९८४ मा काठमाडौं, सन् १९८५ मा बंगलादेशको ढाकामा र सन् १९८७ मा भारतको कोलकातामा भएको दक्षिण एशियाली खेलकुदमा स्वर्ण जितेका बैकुण्ठले सन् १९७६ को मोन्टेरियल, १९८० को मस्को, १९८४ को लस एन्जल्स र १९८८ को सियोल ओलम्पिकमा सहभागिता जनाएका थिए । सन् १९९९ मा काठमाडौंमा, २००४ मा पाकिस्तानको इस्लामावादमा, २००६ मा श्रीलंकाको कोलम्बोमा र सन् २०१० को बंगलादेशको ढाकामा भएको दक्षिण एशियाली खेलकुदमा स्वर्ण जितेका विष्टले सन् २००२ को बुसान र सन् २००६ को दोहा एशियाडमा काश्य पदक जितेका थिए । सन् २०१० मा ढाकामा चोट बोकेरै विपक्षीसँग भिडेका दीपकले ८७ केजी तौल समूहको फाइनलमा भुटानी खेलाडीलाई हराउँदै चौथो पटक स्वर्ण जितेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.