खुर्सानीको अचारमा रमाए विद्यार्थी नेता

रुम्जाटारका विराज भण्डारी सहित ३ जनाले गाउँमा अर्गानिक अचार उद्योग सुरु गरेको दुई वर्ष भयो ।
हिमालयन ग्रिन हिल प्रोडक्स उद्योगबाट उत्पादित अर्गानिक अकबरे खुसार्नी र सुकुटीको अचार अहिले अमेरिका र बेलायतमा पनि पठाइन्छ । ‘व्यवसाय गरेपछि राजनीति गर्न पनि खर्चको अभाव हुँदैन र परिवारमा समेत समस्या आउँदैन’ नेपाल विद्यार्थी संघका जिल्ला सचिव भण्डारीले भन्नुभयो ।
उद्योगबाट यसवर्षमात्रै १६ लाख रुपैयाँभन्दा बढीको अचार बिक्री भएको छ । छोटो अवधिमा नै स्वदेशमात्रै नभई विदेशमा समेत निर्यात हुन थालेपछि उनीहरु हौसिएका छन् । भण्डारीसँगै खोटाङ लामीडाँडाका राजकुमार खतिवडा र भोजपुरकी शारदा लम्साल मिलेर अकबरे खुर्सानी र बेसारको ब्यवसायिक खेती गरेका हुन् । बेसार भने स्थानीय बजारमा खपत हुने गरेको छ ।
‘एक लाख ५० हजार रुपैयाँ लगानी गरेर सुरु गरेका हौं, हाम्रो उत्पादन अर्गानिक भएकाले अमेरिका बेलायतबाट पनि माग आउन थालेको छ’ भण्डारीले भन्नुभयो ‘हामीले अमेरिकासम्म निर्यात गर्न थालेका छौं ।’ विदेशमा कुनै व्यापारिक कम्पनीले माग नगरे पनि विदेशमा रहेका नेपालीहरुले टेलिफोन गरेरै अचारको माग गर्न थालेका छन् । वैदेशिक रोजगारीका लागि गएका स्थानीयहरुले आफन्तलाई जापान, कतार, दुबई र बेलायतसम्म पठाउने गरेको उहाँले जानकारी दिनुभयो ।
अकबरे खुर्सानीको अचार छिमेकी जिल्लाहरु सोलुखुम्बु र खोटाङमा पनि माग हुने गरेको छ । शहरी क्षेत्रमा मूल्य बढी पाइने भएकाले अबका उत्पादन काठमाडौको भाटभटेनी सुपर मार्केटमा पनि पठाउने सम्झौता भइसकेको भण्डारीले बताउनुभयो ।
अकबरे खुर्सानी अचारसँगै राँगो र खसीको सुकुटीको समेत अचार उत्पादन गरिरहेका छन् । तीन जना युवा उद्यमीहरुले गत वर्र्ष अकबरे खुर्सानी चार रोपनी क्षेत्रफलमा नौ मुरी फलाएका थिए । यसपाली १५ रोपनीमा अकबरे र १२ रोपनीमा जिरे खोर्सानी लगाउने तयारी गरेको बताएका छन् ।  
अकबरे खुर्सानीको अचार खाद्य गुणस्तर मापन कार्यालय विराटनगरले मापदण्ड बमोजिम रहेको भन्दै अनुज्ञापत्र दिइसकेको छ । एक सय ५०, तीन सय र पाँच सय ग्रामको तौलका छुट्टाछुट्टै प्याकेटमा  अकबरे र सुकुटीको अचार बजारमा उपलब्ध हुने गरेको छ । ती अचारको मुल्य क्रमशः एक सय २५, दुई सय ५० र चार सय ५० रुपैयाँ पर्छ । उद्योगमा अचार बनाउन सात जना स्थानीयले रोजगारी पाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.