मह यात्रा अष्ट्रेलियामा

अष्ट्रेलिया, मंसिर २६ - पहिलोपल्ट अष्ट्रेलियामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कार्यक्रम हुने भएको छ । जनवरीको १८ तारिखदेखि सुरु हुने महजोडीको 'महयात्रा' करिब ३ सातासम्म यहाँका मुख्य सहरहरुमा चल्नेछ ।
अष्ट्रेलियामा पहिलोपल्ट औपचारिक कार्यक्रम प्रस्तुतिका लागि आउन लागेका मह जोडीको टोलीमा नरेन्द्र कंसाकार, बसुन्धरा भुसाल, मोहित आचार्य, गायिका कुन्ती मोक्तान र किरण केसी र शिवहरी पौडेलको जोडी समेत सहभागी हुनेछन् । यहाँका पर्थ, मेलबर्न, ब्रिसबन, क्यानबेरा, सिड्नी र एडिलेड सहरमा महजोडी लगायतको टोलीले प्रस्तुति दिनेछन् । आयोजकले करिब १० हजार नेपालीहरुले महयात्रामा सहभागीता जनाउने विश्वास व्यक्त गरेको छ ।
आयोजकका अनुसार जनवरीको १८ तारिखबाट पर्थबाट सुरु हुने महयात्रा सिड्नीमा फेबु्रअरी २ तारिखमा कार्यक्रम गरेपछि सम्पन्न हुनेछ । मेलबर्नमा रहेको सोलाञ्चर नामक संस्थाको सक्रियतामा हुन लागेको मह यात्रा अहिलेसम्म अष्ट्रेलियामा नेपालीले आयोजना गरेकोमध्ये सबैभन्दा ठूलो र सफल साङ्गीतिक कार्यक्रम हुने दाबी आयोजकले गरेको छ ।  आयोजक संस्थाका क्रियटिभ डाइरेक्टर राजु शाक्यले मह जोडीको कार्यक्रममा नेपाली मात्र नभएर विदेशीहरुको समेत सहभागिता हुने आशा ब्यक्त गरे ।
'उहाँहरु अन्तराष्ट्रियस्तरमा ख्याति पाउनुभएका कलाकार हुनुहुन्छ । कार्यक्रमले यहाँको नेपाली कला संस्कृतिको उत्थानमा सहयोग पुग्नुका साथै बिदेशीले पनि नेपाली कला संस्कृति बुझ्ने अवसर पाउनेछन्,' उनले ईकान्तिपुरसँग भने, 'हाम्रो उद्देश्य मनोरञ्जन प्रदान गर्नु मात्र नभएर मह जस्ता कलाकारलाई अष्ट्रेलियाको नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गराउनु पनि हो ।
महयात्राको कार्यक्रमका लागि सबै सहरहरुमा कार्यक्रमस्थल बुकिङ भइसकेको शाक्यले जानकारी दिए । ब्रिसबन र क्यानबेरामा भने महयात्रालाई एनआरएनको सहयोगमा आयोजना गरिने भएको छ भने एडिलेडमा खाली बोतलहरु संकलन गरेर नेपालको दुर्गम भेगका बिद्यालयहरुमा सहयोग पुर्‍याइरहेको 'बटल्स फर स्कुल' नामक संस्थाको सहयोगमा आयोजना गरिनेछ ।
कार्यक्रमको सफल आयोजनाका लागि तयारीहरु सुरु गरिसकिएको आयोजकले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.