हिंसाका कारण ट्वान्टी–२० विश्वकप खतरामा


ढाका– देशमा भइरहेको राजनीतिक हिंसाका कारण अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकप खतरामा रहेको बंगलादेशका क्रिकेट प्रमुखले बताएका छन्। उनका अनुसार एक साताभित्र स्थितिमा सुधार नआएमा बंगलादेशले प्रतियोगिता आयोजना गर्ने अवसर

गुमाउन पनि सक्नेछ।


मार्च १६ देखि अप्रिल १६ सम्म हुने प्रतियोगितामा नेपालसहित १६ टोलीले सहभागिता जनाउँदै छन्। बंगलादेशले आयोजना गर्न लागेको यो सबैभन्दा ठूलो खेलकुद मेला हो।

तर आगामी वर्ष हुने चुनावअघि प्रधानमन्त्री शेख हसिनालाई पद छाड्न दबाब दिँदै विपक्षीहरूले गरेको आन्दोलनले हिंसात्मक रूप लिएको छ। अक्टोबरको अन्तदेखि भएको राजनीतिक दंगाले ७४ जनाको ज्यान लिइसकेको छ।

'स्थिति यथावत रहेमा कुनै पनि ठूलो प्रतियोगिता वा त्यसमा सहभागी हुने ठूला राष्ट्रलाई खतरा हुनसक्छ,' बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का अध्यक्ष नाजमुल हसनले सोमबार राती भने, 'सम्भव भए डिसेम्बरमा नत्र जनवरीमा यो तनाव अन्त भइसक्नुपर्छ।'

विश्व ट्वान्टी–२० आयोजना गर्ने तीन खेलस्थल ढाका, चित्तागोङ, सिलेटसहित बंगलादेशका सबै सहर राजनीतिक दंगा भड्किएका कारण प्रभावित छन्। गत हप्ता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निरीक्षण टोलीले सुरक्षा स्थिति देखेर आफूहरू 'खुसी' रहेको बताए पनि वर्तमान स्थिति नियालिरहने जनाएको थियो।

यसै हप्ता बन्दरगाह सहर चित्तागोङमा वेस्ट इन्डिज यु–१९ टोली बसेको होटल बाहिर सानो बम पड्किएपछि अन्य टोलीले पनि खतरा महसुस गरेका थिए। सोही कारण वेस्ट इन्डिजको यु–१९ टोली भ्रमण छोट्याएर घर फर्किएको छ।

बंगलादेशले जनवरीमा श्रीलंकाको पनि आतिथ्यता गर्दैछ। त्यसपछि टोलीले फेब्रुअरीमा भारत, पाकिस्तान र श्रीलंकासम्मिलित ५० ओभरको एसिया कप आयोजना गर्दैछ। 'अहिले राजनीतिक स्थिति जतिसक्दो सुधार हुनु नै राम्रो हो किनभने श्रीलंका जनवरीमा आउँदैछ, त्यसपछि हामी एसिया कप आयोजना गर्दैछौं, त्यो अघि यो समाधन हुन जरुरी छ,' हसनले भने। उनी सत्तारुढ दलका विधायक हुन्।

बिसिबीका कार्यकारी प्रमुख निजामुद्दिन चौधरीले आइसिसीले वर्तमान स्थितिबारे जानकारी गराइरहन निर्देशन दिएको बताए। 'हामी उनीहरूकै अनुसार चलिरहेका छौं,' उनले भने। आइसिसीका एक प्रवक्ताले सोमबार एएफपीलाई बंगलादेशको वर्तमान स्थिति 'नजिकबाट नियालिरहेको' जनाउँदै आइसिसी इभेन्ट्समा सहभागी हुने टोलीहरूलाई दिइने उच्च सुरक्षा प्रŒयाभूतिमा जोड दिए।

क्रिकेट अस्ट्रेलियाका एक प्रवक्ताले बोर्डले सुरक्षाको विषयमा सरकारको सुझाव लिने बताउँदै बंगलादेश जाने वा नजाने विषयमा अहिले निर्णय नगर्ने प्रतियोगिता नजिकिँदै गएपछि स्थिति हेर्ने जनाएको छ। 'खेलाडी र अफिसियललाई पूरा सुरक्षा हुनुपर्ने हाम्रो स्पष्ट अडान छ, सुरक्षित भ्रमण हुनसक्नेमा हामी विश्वस्त भएपछि मात्र टोलीलाई खेल्न जाने अनुमति दिनेछौं,' ती प्रवक्ताले भने, 'प्रतियोगिता आयोजना हुने मिति नजिकिएपछि सुरक्षा विषयमा जानकारी लिनु हाम्रो नियमित प्रक्रिया हो, अहिलेलाई भने हामी केही भन्न सक्दैनौं।'

अस्ट्रेलिया र वेस्ट इन्डिज दुवैले सन् १९९६ मा श्रीलंका गएर ५० ओभरको विश्वकप खेल्न अस्वीकार गरेका थिए। प्रतियोगिता सुरु हुनु केही कोलम्बोमा बम पड्किदा ९१ जनाको ज्यान गएको थियो। न्युजिल्यान्डले पनि २००३ मा केन्यामा गएर विश्वकप खेलेको थिएन। केही महिनाअघि मोम्बासामा ठूलो बम बिस्फोट भएकाले न्युजिल्यान्ड खेल्न नमान्नुको कारण थियो।

सन् २००९ मा लाहोरको एक टेस्टक्रम श्रीलंकाली टोलीमाथि आतंककारी हमला भएपछि पाकिस्तानले त्यसयता कुनै अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सकेको छैन। पाकिस्तानले आफ्ना सबै घरेलु शृंखला युएईमा खेल्दै आएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.