चुनाव हारेपछि फरक मत राख्नेमाथि धमाधम कारवाही

मंसिर, पाँचथर । प्रत्यक्षतर्फका उमेदवारलाई हराउन अन्तरघात गरेको भन्दै समानुपातिक तर्फकी उम्मेदवार कृष्णकुमारी खतिवडालाई कांग्रेस फलैँचा गाउँ कार्य समितिले कारवाहीको सिफारिस गरेको छ । खतिवडाले संगठनको नीति विपरित व्यक्तिगत भोट मागेकाले प्रत्यक्षतर्फका क्षेत्र नं १ का उम्मेदवार नरेन्द्रकुमार केरुङ पराजित हुनपरेको भन्दै कारवाहीको सिफारिस भएको हो ।
गाँउ समितिले खतिवडामाथि कारवाहीका लागि क्षेत्रीय समितिमा सिफारिस गरेको छ । क्षेत्रीय सभापति समरबहादुर अधिकारीले भने विनाप्रमाण कारबाही नगर्ने गाउँ कमिटिले गरेको सिफारिसप्रति कुनै चासो दिनुभएको छैन ।
विनाप्रमाण पार्टीका नेतालाई कारबाही गर्दा संगठनमा असर पर्ने भएकाले क्षेत्रले कारवाहीमा चासो नदिएको अधिकारिको भनाई छ । पार्टीका नेता कार्यकर्ताको असहयोगले आफू पराजित भएको भन्दै पार्टी जिल्ला सभापतिसमेत रहनुभएका पराजित उमेदवार केरुङले धेरै जिल्ला नेतालाई पार्टीबाट निष्कासन गर्ने तयारी गर्नुभएको छ ।
चुनाव हारेपछि जिल्ला सभापतिको दवावमा विना प्रमाण गाउँ समितिले विभिन्न नेताको नाम कारवाहीका लागि सिफारिस गर्नुपरेको एकजना गाउँ सभापतिले जानकारी
दिनुभयो ।
कांग्रेस जिल्ला सचिव हरिराज आङ्देम्बेले गाँउ समितिले सिफारिस गरेका सबै अन्तरघाती नेतालाई पार्टीले कारबाहि गर्ने बताउनुभयो । अन्तरघात गरेको आरोपमा जिल्ला सदस्य जयप्रसाद रिजाललाई यसअघि नै जिल्ला समितिबाट निष्कासन गरिएको छ भने महासमिति सदस्य सुरेन्द्र तिमल्सेना र आमन्त्रित जिल्ला सदस्य लक्ष्मी तावालाई गाँउ समितिले कारबाहिको सिफारिस गरेको छ । कांग्रेसका केही जिल्ला नेताले भने पराजयको पीडा सहन गर्न नसकेर पार्टीभित्र फरक मत राख्नेहरुलाई सभापतिले सिध्याउन खोजेको आरोप लगाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.