हिजो छापा हान्ने प्रहरी हाकिम आज आफै जुवाघर चलाउँदै

११ पुस, काठमाडौं । क्यासिनोहरुमा नेपाली प्रवेशको आशंकामा पटकपटक प्रहरीले छापा हान्ने गरेको छ । नेपाली प्रवेश गरेको पाइएपछि पटकपटक प्रहरीले क्यासिनोलाई चेतावनी पनि दिन्छ । तर, त्यसरी चेतावनी दिने प्रहरीहरु नै अवकाशपछि त्यही क्यासिनोमा जागिर बनेर नेपालीलाई लुकाई-छिपाई जुवा खेल्न प्रोत्साहित गर्दै आएका छन् ।
अहिले राजधानीमा सातवटै क्यासिनोमा पूर्वप्रहरीहरुले विदेशीसहित नेपालीलाई पनि जुवा खेल्न प्रोत्साहित गरिरहेका छन् । क्यासिनो सञ्चालकहरुले व्यवस्थापन तथा सेक्युरिटीमा पूर्वप्रहरीहरुलाई नै रोज्ने गरेका छन् । एक पूर्वएआईजीसमेत क्यासिनोमा जागिरे बन्न पुगेका छन् ।
सशस्त्र प्रहरी बलमा एआजी पदबाट अवकाश पाएका रोहित थापा केही महिनायता सोल्टी होटलमा रहेको क्यासिनो माजोङमा आवद्ध रहेको नयाँ पत्रिकामा खबर छ । क्यासिनोले उनलाई महाप्रवन्धकको रुपमा जागिर दिएको छ । एआइजीजस्तो विशिष्ट श्रेणीमा पुगेर अवकाश पाएका व्यक्ति जुवा खेलाउने व्यवसायमा आवद्ध भएकोमा धेरैले आश्चर्यका रुपमा लिएका छन् ।
माजोङ मात्र होइन क्यासिनोमा पनि जागिरे पूर्व प्रहरी तथा सैनिक अधिकारी प्रशस्तै छन् । एभरेस्ट क्यासिनोको सुरक्षाको जिम्मा लिने अधिकांश पूर्व प्रहरीहरु नै छन् । नेपाल प्रहरीका पूर्वएसपी शेरबहादुर कार्की सो क्यासिनोका सुरक्षा इन्चार्ज हुन् । त्यस्तै दरबारमार्गमा रहेको रोयल क्यासिनोको सुरक्षाको जिम्मेवारी पनि नेपाल प्रहरीका पूर्वडिएसपी रुद्र निरौलाले लिएका छन् ।
फागुनबाट सबै बन्द
हालका क्यासिनोहरु रोयल्टी तिरेर औपचारिक रुपमा दर्ता गर्न सरकारले फागुनको पहिलो सातासम्म म्याद दिएको छ । सो अवधिभित्र दर्ता नगरेमा सबै क्यासिनोमा ताला लगाउने पर्यटन मन्त्रालयको तयारी छ ।
हालै जारी भएको क्यासिनो नियमावलीमा क्यासिनो दर्ता गर्न कम्तीमा ३५ करोड रुपैयाँ आवश्यक पर्ने भएकाले हालसम्म कोही पनि व्यवसायी क्यासिनो दर्ताका लागि तयार छैनन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.