साझा बसमा पनि सुरु भयो मनपरी

काठमाडौं, मंसिर २६ – उखान नै छ, नेपालको कानुन, दैवले जानुन् । नियम, कानुन भएपनि पालना गर्नेभन्दा उल्लंघन गर्ने धेरै भएपछि यो उखान बेलाबेला प्रयोग भैरहन्छ । यस्तै उखान अहिले साझा बससँग पनि ठ्याक्कै मेल खान पुगेको छ ।

बैशाखदेखि काठमाडौंमा सञ्चालन सुरु भएको साझा यातायातले पुरानो झल्कोसँगै केही नयाँ नियम पनि ल्यायो ।
‘सबैको साझा’ भन्ने मान्यतालाई यसले स्थापित गर्‍यो । काठमाडौंमा हरियो रंगको बस चल्न थालेपछि सबैले उबेला देशका कुनाकुना पुग्ने निलो रंगको साझालाई सम्झे । थोरै संख्या र सीमित रुटमा सञ्चालन भएपनि सञ्चालन सुरु भएको केही दिनमै साझा पहिलेजस्तै लोकप्रिय भयो ।
अहिले पनि कलंकी–एयरपोर्ट र लगनखेल–नयाँ बसपार्क रुटमा चल्ने साझा बसमा यात्रुको थामिनसक्नुको भिड लाग्छ । यो रुटमा ओहोरदोहोर गर्ने धेरैजना अरु गाडी भन्दा साझामै चढ्न खोज्छन् । धेरैबेर पर्खिएर उभिएर र खाँदिएर भएपनि यात्रा गर्छन् । तर सञ्चालन सुरु भएको आठ महिना बित्न लाग्दा साझाले आफ्नै नियम उल्लंघन गर्न थालेको छ ।  साझा बसमा दुईवटा ढोका छन् । अघिल्लो ढोकाबाट ओर्लने र पछाडिबाट चढ्ने नियम छ । ढोका बाहिर ‘भित्र’ र ‘बाहिर’ भनेर ठुला अक्षरमा लेखिएको पनि छ । सुरुमा त यात्रुले नियम अनुसार पछाडिबाट मात्रै चढे । पछाडिको सिटमा बसेको भएपनि ओर्लनेबेला नजिकको ढोका छाडेर भिड छिचोल्दै अगाडिसम्म पुगेर ओर्लिए ।
अहिले पनि केही यात्रुले नियम मानेकै छन् । तर धेरैले यसको बेवास्ता गर्न थालिसके । जताबाट सजिलो हुन्छ, उतैबाट फुत्त उक्लने र ओर्लने गरेको देख्न पाइन्छ । घुईंचो हुँदा त छुट्टै कुरा । तर खाली नै भएको बेला पनि जथाभावी चढ्ने र ओर्लने प्रवृत्ति देखिन थालेको छ । केही चालक–सहचालकले नियम सम्झाएपनि धेरैले देखे–नदेखेको गर्ने गर्छन् । त्यसो त चालक र सहचालक आफैंले पनि नियम उल्लंघन गरेका छन् । सुरुमा साझा चल्न थाल्दा उनीहरुले टल्कने ड्रेस लगाउँथे ।
त्यो ड्रेसले चालक र सहचालकको पहिचान खुल्थ्यो । तर अहिले टल्कने ड्रेस कता पुगिसकेको उनीहरुलाई नै थाहा छैन । ‘आ..गुरुजीले त लगाउनुहुन्न, हामीले पनि छोड्यौं’ एकजना सहचालकले भने ।
काठमाडौंका दुई रुटमा चल्ने साझा बसले निश्चित ठाउँमा मात्र रोक्ने र यात्रु चढाउने तथा ओराल्ने अर्को नियम छ । यस अनुसार ठाउँठाउँमा साझा बसको छुट्टै बोर्ड पनि राखिएको छ । सुरुमा निश्चित ठाउँ बाहेक अन्यत्र यात्रुले हात उठाउँदा पनि साझा बस रोकिँदैन थियो । तर अहिले यात्रुले जहाँ उभिएर हात उठाउँछन्, साझा बस त्यहीँ रोकिन्छ । ‘ओर्लने बेला चाहिँ निश्चित ठाउँमै रोकिन्छ, तर कोही चढ्न खोज्यो भने चाहिँ जहाँ पनि रोकिने गरेको छ’ नयाँ बसपार्क–लगनखेल रुटमा नियमित जस्तै साझा बस चढ्ने एकजना यात्रुले भने ।
यसबाहेक गाडी चलाएको बेला चालकलाई यात्रुले डिस्टर्ब नगरुन् भनेर चालक बस्ने नजिकै बार पनि बनाइएको छ । तर यात्रुको भिड भएको बेला बारभित्रै पसेर चालककै आड लिएर बस्नेहरु पनि हुन्छन् । यात्रुसँग कुरा गर्न नपाइने भएपनि चालकले मजाले गफ गर्दै गाडी चलाइरहेको देखिन्छ ।
नियम उल्लंघन हुन थालेपछि साझा यातायात सञ्चालक समितिले पनि आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ । ‘भिड भएको बेला अशक्त र महिलाहरुले नजिकको ढोका प्रयोग गरेपनि अरु बेला नियम उल्लंघन हुन नदिन हामी अब कडाई गर्छौं’ साझा यातायातका कार्यकारी अधिकृत पदमलाल महर्जनले उज्यालो अनलाइनसित भन्नुभयो, ‘चालक र सहचालकलाई अनिवार्य ड्रेस लगाउन भनेका छौं, अरु नियम पनि उल्लंघन भएको देखिएमा अब कडाई हुन्छ ।’
नियम उल्लंघन हुन थालेपनि काठमाडौंका दुई रुटमा सञ्चालन हुने साझाले मनपरी भाडा नलिने प्रतिबद्धतालाई चाहिँ कायमै राखेको छ । ‘धेरैबेर बस कुर्न परेपनि र भीड भएपनि अरुले जस्तो मनपरी भाडा चाहिँ अहिलेसम्म लिएको छैन’ साझा बस चढ्ने यात्रुहरु भन्ने गर्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.