यसरी लुटियो नविल बैङ्कको २ करोड ३० लाख

कञ्चनपुरको महेन्द्रनगरबाट धनगढी ल्याउँदै गरेको नविल बैंकको झण्डै २ करोड ३१ लाख रुपैयाँ अज्ञात समूहले लुटेको छ ।
दुई करोड ३० लाख ६० हजार नेपाली मुद्रा, दुई सय अमेरिकी डलर, ५० यूरो, सात सय क्यानेडियन डलर, दुई सय तीन सुडानी रियाल र २५ कतारी रियाल लुटिएको प्रहरीले जनाएको छ ।
कैलाली र कञ्चनपुरको सीमावर्ती नदी मोहना नजिकै गजरौला भन्ने ठाउँमा म १ च १४६ नम्बरको जिपलाई हतियार सहित आएको नचिनेका मानिसको समूहले नियन्त्रणमा लिएर रकम लुटेको हो । महेन्द्रनगर शाखाबाट मंगलबार बिहान सवा ११ बजे धनगढीमा रहेको नेपाल राष्ट्र बैंकमा जम्मा गर्न लैजाने बेला रकम लुटिएको हो ।
कैलालीको अत्तरिया बजारमा ट्राफिक प्रहरीको भेषमा रहेका लुटेराहरुले रकम बोकेको बैङ्कको गाडी नियन्त्रणमा लिएर जंगलमा पुर्‍याइ लुटेका हुन् ।

यसरी लुटियो रकम

कञ्चनपुरबाट छुटेको करिब १ घण्टापछि रकम लिएको गाडी लुटपाटमा परेको थियो । पूर्वपश्चिम राजमार्गमा कैलालीको अत्तरिया बजार पुग्नेवित्तिकै ट्राफिक प्रहरीको भेषमा रहेका २ जनाले चालकसँग लाइसेन्स चेक गर्ने बाहनामा गाडी रोकेका थिए ।
त्यसपछि जबर्जस्ती गाडीमा प्रवेश गरेका ५ जनाले चालक र कर्मचारीलाई पेस्तोल देखाएर तर्साइ गाडीलाई राजमार्गदेखि दक्षिणतर्फ जंगलमा लगेका थिए । जंगलमा गाडी चालक दिलबहादुर चन्द, बैङ्कका लेखा परीक्षक शुक्रराज भट्टराई सुरक्षा गार्ड गंगादत्त भट्ट र सत्यमान तामाङको हात डोरीले बाँधेर आँखा र टाउको समेत छोपिदिएका थिए ।
नविल बैंक महेन्द्रनगर शाखाका गाडी चालक दिलबहादुर चन्दले लुटेराको समूह नक्कली ट्राफिक बनेर गाडी रोक्न लगाएको र पछि कञ्चटमा पेस्तोल राखेर आफुहरुलाई नियन्त्रणमा लिएर रकम लुटेको बताउनुभयो ।
‘रोक्ने वित्तिकै झ्प्पझुप भित्र पसेर हेलेमेट लगाएको थियो, टाउको तल गर नभए उडाइदिन्छु भन्यो, टाउको माथि हेर्न नै दिएन, मलाई सिटबाट धकेलेर उसले आफै गाडी चलायो’ उहाँले भन्नुभयो । त्यसपछि लुटेराहरु रकम भएको बाकस लिएर मोटरसाइकलमा भागेका कर्मचारीहरुले बताएका छन् ।
सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी नारायणप्रसाद वस्ताकोटीले बैङ्कको लापरबाहीका कारण रकम लुटिएको दावी गर्नुभयो । ‘पूर्व योजना अनुसार लुटेको देखियो, कति बेला गाडी कहाँ पुग्छ, त्यसमा को को हुन्छ सबै कुरा बुझेर लुट्ने योजना बनाएको देखिएको छ’ उहाँले भन्नुभयो ।
घटनाका सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले गाडिमा रहेका चारै जना कर्मचारीहरुलाई पनि नियन्त्रणमा लिएको छ । लुटेराको खोजीको लागि ड्युटीमा रहेका बाहेक सबै प्रहरी परिचालन गरिएको र सशस्त्र प्रहरी समेत परिचालन गरिएको डिआइजी बस्ताकोटीले जानकारी दिनुभयो ।
दिउसोदेखि नै प्रहरीले धनगढीदेखि अत्तरियासम्मका नाकाहरुमा सुरक्षा कडा पारेको छ । राजमार्ग र आसपासका स्थानहरुमा पनि चेकजाँच बढाइएको छ । प्रहरीले सादा पोशाकमा पनि परिचालन गरेको जनाएको छ । घटनापछि नविल बैङ्कले कञ्चनपुर शाखाको बैङ्किङ कारोवार बन्द गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.