सुजाताविरुद्ध कांग्रेसको अनुशासन आयोगमा उजुरी

२५ मंसिर, काठमाण्डौ । मंसिर ४ मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पार्टी उम्मेद्वारलाई असहयोग गरेको भन्दै सुजाता कोइरालासहितका केन्द्रीय सदस्यहरुविरुद्ध अनुशासन आयोगमा उजुरी परेको छ । आयोगका संयोजक आमोदप्रसाद उपाध्यायका अनुसार २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

Sujata-Koiralaमंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आयोगको बैठकमा उजुरीहरुमाथि छानविन सुरु भएको छ । बैठकले केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारमाथि परेका उजुरीका प्रकृति र आधार हेर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । ‘पराजय भोगेको रिसमा पनि उजुरी गरेको हुन सक्छ’ संयोजक उपाध्यायले अनलाइनखबरसँग भन्नुभयो-’प्रमाण नजुटेसम्म छानविन सुरु हुँदैन । त्यसैले उजुरीको प्रकृति र आधार तयार पारेर पेश गर्न केन्द्रीय सचिवालयलाई दिइएको छ ।’
स्रोतका अनुसार आयोगसमक्ष सुजाता कोइराला, मीन विश्वकर्मा, सीता गुरुङ, डीना उपाध्याय र मीना सुब्बासहितका केन्द्रीय सदस्यविरुद्ध उजुरी परेको छ । केन्द्रीय समितिमा नरहेकासमेत गरी २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ । अझै उजुरीहरु आउने क्रम जारी रहेकाले छानविनका लागि एक महिनाभन्दा बढी समय लाग्ने उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार मात्रै पाँचवटा उजुरी दर्ता भएको छ ।
समितिका संयोजक उपाध्यायले समानुपातितर्फका सभासदको सूची बुझाउने समय पुस ३ गतेसम्ममात्रै रहेकाले उजुरीमाथि छानविन हुन समय अभाव भएको बताउनुभयो । उहाँका अनुसार आयोगले उजुरी परेका उम्मेद्वारलाई समानुपातिक सभासदका लागि सिफारिस गर्ने-नगर्ने अधिकार संसदीय बोर्डलाई दिएको छ ।
समानुपातिकमा नरहेकाहरुविरुद्ध पनि उजुरी परेको छ । त्यसमाथि भने उम्मेदवारविरुद्धको उजरी छानविनपछि मात्र छलफल थालिने उपाध्यायले जानकारी दिनुभयो । कांग्रेस विधानअनुसार तीन महिनाभित्र उजुरीको छानविन गरिसक्नुपर्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.