विद्यालयबाट भाग्ने विद्यार्थी पुलिसबाट समातिँदै

रुकुम । पढ्न गएको समयमा विद्यालय छाड्ने बानी छ भने होसियार, प्रहरीको फन्दामा पर्नुपर्ला ? बिहान १० देखि साँझ ४ बजेसम्म विद्यालयमा रहेर शिक्षण क्रियाकलापमा सहभागी नहुने हो भने तपाई प्रहरीको फन्दामा पर्ने पक्का छ ।
यस्तै नयाँ अभियान सुरु गरेको छ रुकुमको एक विद्यालयले । विद्यार्थीको गलत क्रियाकलाप थाम्न नसकेर विद्यालय प्रशासन हैरान भएपछि बीचैमा विद्यालय छोड्ने विद्यार्थी समात्न जिल्ला सदरमुकाममा रहेको त्रिभुवन जनता उच्चमाविले सामुदायिक प्रहरीलाई गुहार्दै नयाँ अभियान सुरु गरेको हो ।
रुकुम जिल्लाको पुरानो विद्यालयको रुपमा चिनिएको त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थी समयमा विद्यालयमा उपस्थित नहुने, कक्षा छाड्ने, विद्यालय पोसाकबिना विद्यालयमा घुम्ने, लागूपदार्थको दुव्र्यसनीमा फस्ने, सिनेमा हल र पुलहाउसमा धाउनेजस्ता क्रियाकलाप देखाउन थालेपछि सामुदायिक प्रहरीलाई गुहारिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
विद्यार्थी शिक्षक र विद्यालय प्रशासनलाई बेवास्ता गर्न थालेपछि अघिल्लो साताबाट विद्यालयले प्रहरी लगाएर छापा मार्न थालेको हो । विद्यालय समयमा बजारमा नीलो पाइन्ट र सेतो सर्टसँगै घाँटीमा विद्यालयको लोगो अंकित टाई लगाएका छात्रछात्रा देख्नेवित्तिकै प्रहरीले समातेर सोधपुछ गर्न थाल्नेछ ।
विद्यालयले प्रहरीलाई अनुरोध गरेर पत्र लेखेपछि प्रहरीले विद्यार्थीलाई सतर्क पार्न थालेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.