कोइराला र ओलीले प्रचण्डलाई भने – तपाईका कुनै शर्त मानिँदैन
काठमाडौं
। राजनीतिक सहमति जुटाउनका लागि सोमबार बिहान बबरमहलस्थित शान्ति कोषको
सचिवालयमा वार्तामा जुटेका तीन दलका शीर्ष नेताहरु आपसमा चर्काचर्की र
भनाभन गरेर उठेका छन् । बैठकबाट निस्किएर केही नेताले वार्ता सकारात्मक
भएको पत्रकारहरुलाई औपचारिक प्रतिक्रिया सुनाए पनि ३ घण्टा बसेको बैठकमा
एमाले र कांग्रेसका नेताहरुले चुनाव जितिसकेपछि केको शर्त ? भन्दै एमाओवादी
नेतालाई हप्काएका थिए ।
‘बैठकमा कांग्रेसका सभापति सुशील कोइराला र
एमालेका केपी ओली र ईश्वर पोखरेल आक्रामक देखिए,’बैठकमा सहभागी एक नेताले
अनलाइनखबरसँग भने, ‘झलनाथ खनाल, शेरबहादुर देउवा,माधव नेपाल र रामचन्द्र
पौडेल सकारात्मकजस्तो देखिए पनि ओली र कोइरालाले मान्दै मानेनन् ।”चुनाव
सकिएर परिणाम आइसकेको अवस्थामा पनि के को शर्त ?’ भन्दै केपी ओलीले बैठकमा
थर्काउन खोजेको सहभागी नेताले बताएका छन् ।
‘तपाईहरु समानुपातिकको सूची बुझाए
बुझाउनोस्, नबुझाए नबुझाउनोस् त्यो तपाईहरुको विषय हो’ बैठकमा ओलीले
एमाओवादी नेतालाई भनेको कुरा स्मरण गर्दै स्रोतले भन्यो, ‘ईश्वर पोखरेल र
सुशील कोइरालाको पनि भनाइ यही थियो । सुशीलले त झन उच्चस्तरीय राजनीतिक
समिति गठन गर्नै हुन्न भनेर ढीट गर्नुभयो, जसले गर्दा कुरा मिलेन ।’
प्रचण्डको जवाफ
तपाईहरुले जितेको हुनाले जे पनि गर्छौं
भन्नुहुन्छ भने जे-जे मन लाग्छ त्यही गर्नोस्, हामी उठ्यौं भन्दै प्रचण्ड
बैठकबाट उठेपछि विनानिश्कर्ष वार्ता भाँडिएको स्रोतले अनलाइनखबरलाई बतायो
। बैठकमा प्रचण्डले १० गते आफूहरुले निर्वाचन आयोगमा समानुपातिक सभासद्को
नाम नपठाउने बताउनुभएको थियो । ‘१० गते हामी सूची बुझाउँदैनौं, महिना
दिनपछि बुझाए बुझाउँला, नबुझाए नबुझाउँला, तपाईहरुलाई जे मन लाग्छ, त्यही
गर्नोस् ।’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
आफ्नै शर्तको खाडलमा फस्यो एमाओवादी
धाँधलीको छानविन, संविधान संशोधन र आफ्नो
नेतृत्वमा उच्चस्तरीय राजनीतिक समितिको गठन नगरिए समानुपातिक सभासदको सूची
निर्वाचन आयोगमा नबुझाउने अडान राख्दै आएको एमाओवादी आफ्नै अडानका कारण
धर्मसंकटमा फसेको छ । संविधानसभाको बहिस्कार गर्ने एमाओवादीको नीति नभएको
हुनाले ऊ संविधानसभा सहभागी हुन र उपयोग गर्न चाहन्छ । तर, कांग्रेस र
एमालेका नेताहरुले एमाओवादीका कुनै पनि शर्त नमान्ने स्पष्ट पारेपछि अब
संविधानसभामा जाने कि नजाने भन्ने आफैंले दुविधाको खाडलमा एमाओवादी फसेको छ
।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठले
संसदबाटै छानविन समिति बनाए पनि मान्य हुनुपर्ने र संविधान संशोधनलगायतको
शर्त तेर्स्याउन नहुने पार्टीभित्र अडान राख्दै आएको भए पनि प्रचण्डलगायतका
नेताहरुले उच्चस्तरीय राजनीतिक समितिको संयोजकलगायतका नयाँ शर्त
तेर्स्याएपछि एमाले र कांग्रेसका नेताहरु सहमतिबाट पर भागेका हुन् ।
अब एमाओवादीले के गर्ला ?
यो प्रश्नमा स्रोत भन्छ, ‘अब पार्टीले पुस
१० गते समानुपातिकको सूची बुझाउने सम्भावना छैन । तर, संविधानसभा बहिस्कार
गर्ने र बाहिरै बस्ने पनि हाम्रो नीति छैन । तर, निर्वाचन आयोगमा हामी
आफैंले हस्ताक्षर गरेर १० गते नामावली बुझाउने प्रतिवद्धता पनि जनाइसकेको
अवस्था छ ।’ बबरमहलको वार्तामा एमाओवादीलाई तिम्रा शर्त मानिँदैन, जे गर्छौ
गर भनेर हिँडेका एमाले नेताहरु सभासद छनौटका लागि बल्खुमा बैठकका लागि
जुटेका छन् ।
कांग्रेसले पनि सभासद छनौटका लागि संसदीय
समितिको बैठक डाकेको छ । निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने अन्तिम
म्याद बुधबारसम्म तोकिएको भए पनि एमाओवादीको भने न बैठक बस्ने मिति
निश्चित छ, न त सभासद् छान्ने । एमाले र कांग्रेसले आफ्ना मागहरु अस्वीकार
गर्दै लल्कारेपछि एमाओवादी नेताहरु भने अन्यौलमा फसेजस्तै भएका छन् ।
0 comments
Write Down Your Responses