खैरो हेरोइनको ट्रान्जिट बन्दैछ राजधानी

उपत्यका खैरो हेरोइन -ब्राउन सुगर को ठूलो बजार बन्दै गएको छ । प्रहरीका अनुसार सन २००९ मा बरामद भएको ३६ किलो ५ सय ६१ ग्राम हेरोइनमध्ये झण्डै ३५ प्रतिशतभन्दा बढी राजधानीमा बेचबिखन गर्न ल्याइएको खैरो हेरोइन थियो ।

वीरगञ्जको रक्सौल नाका, विराटनगरको रानी नाका, काँकडभिट्टा, सुनौली, रुपैडिया र महेन्द्रनगर हुँदै खैरो हेरोइन भित्रिने गरेको लागू औषध नियन्त्रण कानँन कार्यान्वयन इकाइले जनाएको छ । लागू पदार्थको विशेषज्ञ युनिटका रूपमा रहेको इकाइ तथा स्थानीय प्रहरीले राजधानी भित्र्याइएको खैरो हेरोइनमध्ये सबैभन्दा बढी परिमाण बल्खु, कालीमाटी, सोह्रखुट्टे, ठमेल, गोङ्बु, कोटेश्वर, ग्वार्को, सातदोबाटो, जावलाखेल र नख्खु क्षेत्रबाट बरामद गरेको छ ।

प्रहरीका अनुसार सुराकी, अभिभावक एवं दुव्र्यसनीबाट पाएको सूचनाका आधारमा खैरो हेरोइन, यसका कारोबारी एवं भरियाहरू पक्राउ परे पनि दसौं गुणा बढी यसको बेचबिखन भैरहेको हुन्छ । 'सशक्त नेटवर्किङका कारण एक समूहलाई पक्राउ गर्नेबितिकै अरू सतर्क हुन्छन्,' इकाइ डिएसपी दिवशराज उदासले भने । गृहमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकका कुल दुव्र्यसनीमा ६० दशमलव ५ प्रतिशतले खैरो हेरोइन प्रयोग गर्छन् ।

इकाइका अनुसार एक दुव्र्यसनीले दैनिक १ देखि ३ ग्रामसम्म खैरो हेरोइन सेवन गरेको देखिएको छ । अध्ययनअनुसार दुव्र्यसनीमध्ये १४ दशमलव ३ प्रतिशतले सेतो र अन्य खालका लागू पदार्थको प्रयोग गर्छन् । नेपाली बजारमा सेतो हेरोइन प्रतिग्राम २ हजार ५ सय रुपैयाँ र खैरो हेरोइन प्रतिग्राम १ हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

तीन वर्षअघि सार्वजनिक यो तथ्यांकमा मुलुकभरिको कुल ४६ हजार ३ सय ९ दुव्र्यसनीमध्ये १७ हजार ४ सय ५८ जना उपत्यकामा छन् । यो संख्यामा हरेक वर्ष ५ देखि ७ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

'यो ठूलो जमातलाई लक्षित गरेर भारतबाट दैनिक ठूलो परिमाणमा खैरो हेरोइन भित्रिने गरेको छ,' इकाइ डिएसपी उदासले भने । उनका अनुसार अध्ययनले समेत २० देखि २४ वर्ष उमेर समूहका ३१ दशमलव १ प्रतिशत युवाले खैरो हेरोइन सेवन गर्ने देखाएकाले आर्थिक एवं सामाजिक दृष्टिकोणले समेत यसको कारोबारले भयावह परिणाम ल्याउन सक्ने देखिन्छ ।

 गत फागुन ९ मा राजधानीमा बेच्न ल्याउने क्रममा झण्डै ७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ५ सय ८० ग्राम खैरो हेरोइनसहित दुई व्यक्ति पक्राउ पर्नु यसकै एक कडी भएको उनले बताए । इकाइले जाजरकोट दसेरका २९ वषर्ीय मानबहादुर रावत र कीर्तिपुरका २२ वषर्ीय विवेक बस्नेतलाई भारतबाट ल्याइएको खैरो हेरोइनसहित पक्राउ गरेको थियो । प्रहरीले बर्सेनि हेरोइन कारोबारमा संलग्न १४ भन्दा बढी समूहलाई पक्राउ गर्दै आएको छ ।

 'उनीहरू खुद्रा बिक्री गर्न लागेका बेला पक्राउ परे,' डिएसपी दिवसले भने, 'उनीहरू फन्दामा परे पनि खपतको हिसाबले समेत यसको ठूलो नेटवर्क सक्रिय देखिन्छ ।' यो समग्र नेटवर्कमा भारत र तराईका जिल्ला हुँदै काठमाडौं र पोखरासम्म ठूलो संख्यामा स्वदेशी एवं विदेशी सक्रिय देखिएको उनले बताए ।

डिएसपी उदासका अनुसार अभिभावकले थोरै मात्र सावधानी अपनाएर सूचना दिए यसको कारोबारलाई हदैसम्म नियन्त्रणमा लिन सकिन्छ । इकाइका अनुसार अध्ययनले समेत कुल दुव्र्यसनीमध्ये ५३ दशमलव ४ प्रतिशतले १५ देखि १९ वर्ष उमेर समूहमा पहिलो पटक र दोस्रो ठूलो समूहमा रहेका २० देखि २४ वर्ष उमेर समूहका १८ दशमलव २ प्रतिशतले पहिलो पटक लागू पदार्थको सेवन गर्छन् ।

'अभिभावकले किशोर र युवा सन्तानको विश्वास जितेर प्रहरीलाई सूचना दिए पुग्छ, कारोबारी प्रहरीको कठघरामा हुन्छ,' डिएसपी उदासले भने । उनका अनुसार प्रहरीले कडाइ गरेपछि हेरोइन आपूर्ति बन्द भएपछि विकल्पका रूपमा बजारमा सजिलै उपलब्ध 'सिन्थेटिक्स ड्रग्स' दुव्र्यसनीको छनौटमा पर्छ । 'यो त खैरो हेरोइनभन्दा पनि डरलाग्दो खतरा हो,' डिएसपी उदासले भने, 'प्रहरी र नागरिक समाजको संयुक्त अभियानबाट मात्र यसको डरलाग्दो बजारलाई रोक्न सकिन्छ ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.