त्यो टाउको र हात कसको थियो?

गत जेठ २३ गते दिउँसो २ बजे अरनिको राजमार्ग छेउमा पर्ने काभ्रेको नासिकास्थान भैंसेपाटीको एकान्त मकैबारीमा रातो रंगको 'सिन्थेटिक' झोलाभित्र कपडाले बेरिएको अवस्थामा एउटा टाउको फेला पर्‍यो। उक्त टाउको कुनै १२/१३ वषर्ीया बालिकाको जस्तो देखिन्थ्यो।

गाउँलेहरूबाट सूचना पाउनेबित्तिकै प्रशिक्षित कुकुरसहित जिल्ला प्रहरी कार्यालय काभ्रे, वरिपरिको सुरक्षा निकाय तथा केन्द्रीय अनुसन्धान ब्युरो -सीआइबी) टोली घटनास्थल पुग्यो। नजिकैको अर्को झोलामा सिरानीको खोल, हाफ पाइन्ट, टिसर्ट, रंगिएको जाली रुमाल, लकेट, इरेजर, पेन्सिल तथा कलम फेला पर्‍यो। त्यसकै आधारमा ती अंग स्कूल पढ्ने बालिकाको भएको प्रहरीले अनुमान लगायो। समय खेर नफाली सबै सरकारी एवं निजी विद्यालयमा उनका बारेमा खोजी भयो।

राजधानीबाट काभ्रे जाँदा बनेपा र साँगाको बीचमा जनागल गाविससँग जोडिएको उक्त घटनास्थलदेखि सय मिटर पश्चिमतिर बाटोदेखि ४ फिट तल कान्लामुनि कुकुरले अर्को झोलामा दुईवटा हात फेला पार्‍यो। ठूलो आशाका साथ संयुक्त प्रहरी टोलीले लगातार दुई दिनसम्म कुकुरको सहयोगले भैंसेपाटीदेखि साँगा र पाँचतौलदेखि बनेपासम्म सडकको वरिपरि शरीरको बाँकी भागको खोज तलास गर्‍यो।

ती बालिकाको हुलियासहित होटल, लज र मजदुर कार्यालयहरूमा सोधपुछ भयो। प्रहरीले वरिपरिका जिल्लामा बेपत्ता भएका परिवारजनका आफन्तहरूसँगसम्पर्क गर्‍यो। स्थानीय बासिन्दालाई ती अंग देखाएर ती बालिकाका सम्बन्धमा पत्ता लगाउने प्रयास भयो। हरेक कोणबाट प्रहरीले अनुसन्धान गर्‍यो। दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीसम्म खोजी भयो। प्रहरीले दोलालघाटमा दुई शंकास्पद मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर सोधपुछ पनि गर्‍यो। यद्यपि ती बालिकाको सनाखत हुन सकेन।

जिल्ला प्रहरीले अञ्चल, क्षेत्र र प्रधान कार्यालयमा यस विषयमा खबर गर्दै भेटिएको अंगलाई बनेपाको शिर मेमोरियल अस्पतालबाट काठमाडांैको महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍यायो। शव परीक्षण विशेषज्ञ डा. हरिहर वस्तीसँग पनि अनुसन्धान अधिकृतहरूले परामर्श गरे। सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित एवं प्रसारित भए। 'हामीले २४ घण्टाअघि मात्र शरीरमा खुकुरी वा अन्य कुनै धारिलो हतियार प्रहार गरी ती अंगहरू छुट्टयाएर फालिएको अनुमान गयौंं,' काभ्रे प्रहरीका नायब निरीक्षक दिपेन्द्र चन्दले भने, 'गाविसहरूमा प्रहरी खटाएर पत्ता लगाउन प्रयास भयो।'

चन्दले व्यक्तिगत पहलमा टेलिकमको सहयोगले भक्तपुरदेखि धुलिखेलसम्म त्यो दिनको राति १२ बजेदेखि बिहान ८ बजेसम्मको 'मोबाइल कल डिटेल' को छानबिन गरे। शंकाका आधारमा केहीलाई ल्याएर सोधपुछ पनि भयो। चन्दका अनुसार हरेक प्रयासपछि पनि अनुसन्धान शून्य अवस्थामा रह्यो। चन्दका अनुसार ठिक्कको केश भएकी जनजाति वा थारु समुदायकी जस्ती देखिने ती बालिकाको हत्या गरेपछि मुलुकको अन्य कुनै ठाउँबाट ल्याएर त्यहाँ फालिएको हुनसक्छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.