गुदामैथुन गर्दा गर्भवस्थामा केही नकारात्मक असर पर्ला ?

म २२ वर्षीया महिला हुँ। अहिले म ७ महिनाको गर्भावस्थामा छु। विवाहपछि यस्तै एक वर्षदेखि श्रीमान्सँग लगातार हप्ताको तीन पटक विपरीत यौनसम्पर्कमा संलग्न छु। के विपरीत यौनसम्पर्क गर्दा मेरो गर्भावस्थालाई केही नकारात्मक असर पर्छ ? यदि पर्दैन भने के म शिशु जन्मने बेलासम्म यौनसम्पर्क गर्न सक्छु ? त्यसका साथै गुदामैथुन गर्दा गर्भवस्थामा केही नकारात्मक असर पर्ला ? 

 गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ?   

स्वस्थ गर्भावस्थामा गर्भ प्रारम्भ भएदेखि शिशु जन्मने प्रक्रिया (प्रसव) सुरु हुने बेलासम्म यौनसम्पर्क राख्न सकिन्छ। पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने (contraction), गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिन गै संक्रमण हुन सक्ने तथा यौनसम्पर्क गर्न पनि अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको भनिए पनि कतिपय विशेषज्ञ त्यसमा खास वैज्ञानिक आधार छैन भन्छन्। मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ। सामान्य गर्भावस्थामा यौनसम्पर्क गर्दा गर्भस्थ शिशुलाई हानि पुग्दैन। पाठेघरको मुखमा भएको बाक्लो श्लेष्म (mucus) ले संक्रमणलाई पनि सजिलै भित्र जान दिँदैन। पाठेघरको बाक्लो मांसपेशीको भित्ता भित्र विशेष तरल पदार्थ (amniotic fluid) मा शिशु एक किसिमले तैरिरहेको अवस्थामा रहने भएकाले यौनसम्पर्कका बेला बाह्य धक्काको नकारात्मक असर सामान्यतः शिशुसम्म पुग्दैन।

त्यसबाहेक एकपल्ट अर्को पक्षबाट विचार गरौं। कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म गर्भ रहे-नरहेको कुरै थाहा नहुन सक्छ, यस्तोमा उनीहरू यौनसम्पर्क नगरी बस्छन् त ? अहिले पो सुरुमै गर्भ रहेको थाहा पाइने प्रविधिको विकास भएको छ, पहिले त्यस्तो प्रविधि नहुँदा पनि मानव यौनसम्पर्क र प्रजननले शताब्दियौंदेखि निरन्तरता पाइआएको छ।

गर्भावस्थामा यौनसम्पर्क राख्नुका फाइदा-बेफाइदा  ?

गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी वा अनाकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमा नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन्। गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पति-पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ। भावनात्मक सामीप्यताका लागि यस्तो सम्बन्धको निरन्तरता निकै सहयोगी सावित हुनसक्छ। फेरि पुरुषहरूलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ। यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक अनि भावनात्मक परिवर्तनहरूप्रति दुवैलाई जानकारी गराउँछ। यौनसम्पर्क गर्ने नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ, जसले दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक-अर्कासँग नजिक हुन तथा एक-अर्कालाई बुझ्न मद्दत मिल्छ। एक किसिमले गुदा मैथुनसम्बन्धी तपाईंको जिज्ञासा पनि यसैसँग सम्बन्धित छ।

के विपरीत यौनसम्पर्क गर्दा केही असर गर्छ ?

तपाईंले विपरीत यौनसम्पर्क भनेर के भन्नुभएको हो, स्पष्ट भएन। यद्यपि महिला माथितिर र पुरुष तलतिर उत्तानो परेर बस्ने आसन भन्न खोज्नुभएको होला भन्ने लागेको छ। विभिन्न आसनमध्ये यो एक आसन हो, यसलाई विपरित यौनसम्पर्क मान्नुपर्ने कारण देखिँदैन।

यसरी महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा महिला र उसको पेटमा दबाब नपर्ने मात्र होइन, महिला आफू नै सक्रिय हुने तथा यौनसम्पर्कलाई आफूले चाहेजस्तो र आफ्नो सहजता अनुकूल नियन्त्रण गर्न सक्छन्। त्यसबाहेक पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा पछाडिबाट गरिने आसनहरू गर्भवस्था महिलाका लागि सहज सावित हुनसक्छन्। यस्ता प्रयोगपछि आफ्नो यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ। लिंगको प्रवेश नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुनसक्छ।

यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तत्काल बन्द गर्नुपर्छ। दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ।

गर्भावस्थामा गुदामैथुन

दुवै जना सहमत हुनुहुन्छ भने गर्भावस्थामा गुदामैथुन गर्न सकिन्छ। कतिपय दम्पतीका लागि यो रोजाइको कुरा पनि हुन्छ। हार्मोनमा आएको परिवर्तन अनि पाठेघर ठूलो भएका कारण कतिपय महिलालाई योनि-मैथुन असजिलो लाग्न सक्छ। गर्भवस्थामा गुदामैथुन सुरक्षित नै मानिन्छ। गर्भावस्थाको अन्तिम महिनातिर जब गर्भस्थ शिशुको टाउको तलतिर र्झछ त्यतिबेला गुदा मैथुन गर्न केही असजिलो हुन सक्छ, किनभने त्यहाँ धेरै स्थान हुँदैन।

गुदामैथुन गर्दा दुवैले एक-अर्कालाई असजिलो भएको छ-छैन सोध्नु महत्वपूर्ण हुन्छ। त्यसबाहेक तपाईंलाई थाहै हुनुपर्छ— योनिको जस्तो गुदद्वारबाट चिप्लो पदार्थ निस्कँदैन। त्यसैले पर्याप्त मात्रामा चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ। त्यसका लागि पानी आधारित चिप्लोपदार्थको प्रयोग गर्नु उत्तम हुन्छ। ध्यान पुर्‍याउनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने गुदामैथुनका बेला योनिमा लिङ्ग पसाउनु हुँदैन। यसो गर्दा गुदद्वार तथा मलाशयमा भएका जीवाणु योनिमा सर्न सक्छन् र गम्भीर प्रकृतिको संक्रमण हुन सक्छ।   

,

0 comments

Write Down Your Responses

Powered by Blogger.