प्रधानमन्त्रीमा कांग्रेसका तीनै नेताको दाबी

- कांग्रेस सभापति सुशील कोइरालाले सोमबार वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटी प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । तर देउवा र पौडेलले प्रधानमन्त्रीमा आ-आफ्नो समेत दाबी रहेको जनाउ दिएको स्रोतले बतायो ।

कोइरालाले तीन जना आपसमा मिलेर सरकार चलाउन प्रस्ताव गरेको स्रोतले जनायो । उनले सर्वसम्मत नभई विवाद बाहिर आए नकारात्मक सन्देश जाने भन्दै तीन नेतामात्रै बसेर सरकारको नेतृत्व टुंग्याउने पर्नेमा जोड दिएका थिए । तीन नेता मिल्नुपर्नेमा देउवा र पौडेल सकारात्मक भए पनि कोइरालालाई सहजै प्रधानमन्त्री छाड्ने मनस्थितिमा छैनन् ।

कोइरालालाई सर्वसम्मत छाड्न आफूले कार्यवाहक सभापति पाउनुपर्ने देउवा र पौडेल दुवैको दाबी छ । त्यस्तो कार्यबाहक बीचमै पनि हटाउन सकिने भएकाले आफूलाई लिखित रूपमै दिनुपर्ने अडान पौडेलको छ ।

देउवालाई कार्यवाहक दिँदा विधान संशोधन गरेर दिनुपर्ने हुन्छ । महाधिवेशन निकट आइसकेको अवस्थामा कोइराला देउवालाई त्यसरी कार्यवाहक दिन इच्छुक नभएको एक केन्दीय सदस्यले बताए । तर, पार्टीभित्रको शक्ति सन्तुलन हुनुपर्ने मागलाई देउवा पक्षले प्रमुख रूपमा उठाउने तयारी थालेका छन् । 

वरिष्ठ नेता भए पनि भूमिका नपाएको गुनासो देउवाको छ । त्यसैले उनी प्रधानमन्त्री र कार्यवाहक सभापतिमध्ये एक पाउनुपर्ने अडानमा छन् । कोइरालाको संसदीय दलमा बहुमत भएकाले दुवैको 'शर्त' नमान्ने मनस्थिति बनाएको ती केन्द्रीय सदस्यको भनाइ छ । नजिक आइरहेको महाधिवेशनका कारण उनी दुवैलाई कार्यवाहक सभापति दिएर पार्टीभित्रको वर्चस्व गुमाउन चाहँदैनन् । 

संसदीय दलमा कोइराला बहुमतमा भए पनि देउवा केही संख्या तलमाथि गर्न सकिने रणनीतिमा छन् । त्यसका लागि उनी संस्थापन पक्षकै केही नेतालाई तान्ने कोसिसमा छन् । संख्यात्मक रुपमा कमजोर भए पनि पार्टीलाई ठूलो बनाउने मुख्य भूमिका आफ्नो भएको भन्दै पौडेलले कोइरालालाई आफूप्रति 'न्याय' गर्न आग्रह गरिरहेका छन् । पौडेलले पनि केही दिनदेखि युवा केन्द्रीय सदस्य तथा सभासदहरुलाई छुट्टाछुट्टै भेटेर आफ्नो पक्षमा प्रधानमन्त्रीका लागि लबिङ थालेका छन । यद्यपी त्यस्तो भेट प्रधानमन्त्रीका लागि नभएको पौडेलले बताए । 'साथीभाइसँग कुराकानी त भएको छ, तर सरकारका लागि नभई अन्य विषय हो' उनले भने । 

देउवा निकट नेता प्रकाशरण महतले सरकारको नेतृत्वबारे तीन जनाबीच हानाथाप नभई समझदारी बन्ने बताए । समानुपातिक सभासद् वितरणमा महामन्त्री प्रकाशमान सिंह कोइरालासंग सन्तुष्ट छैनन । केही समययता कोइराला र सिहको दुरी बढ्दै गएको छ । सिंहलाई आफ्नो समूहमा ल्याउने प्रयासमा देउवा छन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.