मनांग र आर्मी को पहिलो हार !

सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिगमा एकपछि अर्को गर्दै निरन्तर अनपेक्षित नतिजा निस्किएका छन् । सुरुका दुई खेल जितेका लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी र आर्मीले तेस्रो चरणमा सोमबार नसोचेको परिणाम बेहोर्नुपर्‍यो । पछिल्ला चारमध्ये तीनपल्टको 'ए' डिभिजन लिगविजेता पुलिस र डिफेन्डिङ च्याम्पियन लक्ष्मी बैंक थ्री-स्टारले दोस्रो चरणमै अनपेक्षित हार खेपेका थिए । लिगका १३ टिममध्ये एनएमबी बैंक मछिन्द्र र श्रीनाथ कलेक्सन आरसीटी मात्र अपराजित छन् ।

२०१७० सालमा नेपालमा आयोजित तीन ठूला प्रतियोगिता (गोर्खा, सफल पोखरा र एनसेल कप) विजेता मनाङले हिमालयनविरुद्धको हारसँगै अंक मात्र गुमाएन, उसको स्वदेशी भूमिको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो । गोर्खा कपमा समूह चरणको अन्तिम खेलमा आर्मीविरुद्ध १-० ले हारेपछि मनाङ १३ खेलमा अपराजित थियो । मनाङले थिम्पू र सिक्किममा सहित २०७० मा कुल २७ खेल खेलेको छ । सोमबारको असफलता वर्षको तेस्रो हार हो ।

मनाङले हिमालयनविरुद्धको खेल पूरा नियन्त्रणमा राख्यो । तर, उसका ६ आक्रमणमा हिमालयनका गोलकिपर विनय श्रेष्ठले लोभलाग्दो बचाउ गरे । हिमालयनले काउन्टर अट्याकमा दुई आक्रमण गर्‍यो । दुवै अवसरमा अफ्रिकी मूलका फरवार्ड सेगुन एकिनडे एयितयोको फिनिसिङ आकर्षक थियो । उनले २१ औं मिनेटमा गोलको खाता खोल्न धीरज तामाङको पास उपयोग गरे । उनले ६५ औं मिनेटमा दोस्रो गोल गरे । हिमालयनले थप दुई गोलको अवसर पनि पाएको थियो ।

कप्तान सागर थापाले सिक्स यार्ड बक्समा उपलब्ध गराएको बललाई सुलभ मास्केले ८९ औं मिनेटमा गोल लाइन पार गराएर मनाङलाई एक गोलको अन्तरमा पुर्‍याए । मनाङले अर्को गोल गर्न सकेन । त्यसैले सुलभको गोल सान्त्वनामै सीमित भयो र मनाङ २-१ ले हार्‍यो । पारिवारिक कारण प्रशिक्षक विकास गौचनको अनुपस्थितिमा टचलाइन सम्हालेका तेन्जिङ शेर्पाले हिमालयनलाई पहिलो जित दिलाए ।

'डिफेन्स चुस्त राख्दै पाएको अवसरमा अगाडि बढ्ने रणनीति सफल भयो,' कार्यवाहक प्रशिक्षक तेन्जिङले भने । मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले राम्रो खेलेपनि गोल गर्न नसक्दा हारेको बताए । 'जितका लागि गोल चाहिने हो, त्यही भएन । त्यति धेरै आक्रमणमा पनि गोल भएन । दुर्भाग्य नै भयो,' उनले भने ।

मनाङको हारलगत्तै दशरथ रंगशालामा ओर्लिएको आर्मी पनि सिमि्रक सरस्वतीलाई नतिजा १-० ले सुम्पियो । त्यसमा पनि निणर्ायक गोल अफ्रिकी मूलकै खेलाडीले गरे । पिउस हेनरी किसम्बालेले ६१ औं मिनेटमा २५ यार्डबाट फ्रिकिकमा फस्ट बार च्याप्दै प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । उनले आर्मीका गोलकिपर गंगाराम देउजाले 'पोजिसन' लिन नपाउँदै बल प्रहार गरेका थिए ।

आर्मीले दोस्रो हाफमा राम्रो खेल्यो । तर, गोल गर्न सकेन । आर्मीको निरन्तर आक्रमणमा सरस्वतीका गोलकिपर अशोक बरालले राम्रा बचाउ गरे ।

आर्मी, मनाङ र एपीएफको ६-६ अंक छ । गोल अन्तरका आधारमा मनाङ शीर्ष, आर्मी दोस्रो र एपीएफ तेस्रोमा छन् । उनीहरूलाई मछिन्द्र (२ खेलमा ४ अंक) ले उछिन्न सक्नेछ । हिमालयन र सरस्वती ४-४ अंकसहित शीर्ष ६ मा उक्लिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.