एमालेलाई गृह दिन प्रधानमन्त्री सकारात्मक

काठमाण्डौं, ६ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले तेस्रो वरियतामा रहने गरी गृह मन्त्रालय लिन नेकपा एमालेलाई प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारका लागि एमालेलाई सर्तसहितको नयाँ प्रस्ताव गरेको कांग्रेस स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले तेस्रो वरियतासहितको गृह दिन तयार रहेको भन्दै एमाले संसदीय दलका नेता केपी ओली र अन्य नेतालाई प्रस्ताव राखेका छन् ।
प्रस्तावका सम्बन्धमा एमालेबाट कुनै प्रतिक्रिया नआएको स्रोतको भनाई छ ।
‘प्रधानमन्त्रीले एमालेलाई गृह दिन तयार रहेको बताउनुभएको छ’ स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीय पद्धतिलाई बलियो राख्न कांग्रेसले नै दोस्रो वरियताको मन्त्री लिने उहाँको प्रस्ताव छ ।’  नयाँ प्रस्तावसँगै प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद् विस्तारका लागि एमालेबाट मन्त्रीहरुको नामावली पनि मागेको स्रोतले जनाएको छ । प्रधानमन्त्री कोइरालाले एमालेबाट मन्त्रीहरुको नामावली नआएपनि आफ्नै पार्टीका मन्त्रीहरु सहभागी गराएर बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका स्रोतले जनाएको छ ।
‘प्रधानमन्त्री निर्वाचित भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्नुले राम्रो सन्देश नजाने भन्दै कोइराला लचक हुनुभएको हो’ स्रोतले भन्यो, ‘एमाले मन्त्रीहरु नआएपनि भोलि पार्टीबाट जाने नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको छ ।’ कोइरालाको प्रस्तावबारे प्रतिक्रिया दिंदै एमाले सचिव शंकर पोखरेलले अबको एक–दुई दिन भित्रै एमाले सरकारमा सहभागी हुने स्रोतको भनाई छ । स्रोतले वरियताको सवाल प्राथमिक नभएको पनि बताएको छ ।
‘सबै कुरा बताउन मिल्दैन तर प्रधानमन्त्रीबाट सकारात्मक प्रस्ताव आएको छ’ स्रोतले भन्यो, ‘प्रस्ताव अनुसार सहमति भए एमालेले वरियतालाई प्राथमिकतामा राख्दैन, एक–दुई दिन भित्रै एमाले मन्त्रीहरुसहित मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ मन्त्रिपरिषद् विस्तारका लागि कोइरालाले पार्टी महामन्त्री कृष्ण सिटौला र नेता डा.मिनेन्द्र रिजाललाई एमालेसँग वार्ताका लागि जिम्मेवारी दिएका छन् । पहिले वार्ता टोलीमा रहेका दीपकुमार उपाध्याय र मन्त्री डा.रामशरण महतलाई पछाडी राख्दै उनीहरुलाई जिम्मेवारी दिएको स्रोतले बतायो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.