काठमाडौंका ‘हाइ प्रोफाइल’ चोरी शिकारमा संलग्न

११ फागुन, नेपालगन्ज । वन्यजन्तुको अवैध शिकार गर्न काठमाडौंबाट बाँके पुगेको शिकारीहरुको टोलीमा बैंकर्स, पाँचतारे होटलका सञ्चालक, सुरक्षा अधिकारी र भारतीय नागरिकसमेत संलग्न रहेको भन्दै बाँकेका स्थानीयवासीले असन्तुष्टि पोखेका छन् ।
राप्तीपारिको बघौडा क्षेत्रमा हातहतियार तथा बन्दोबस्तीका सामानसहित अवैध शिकार गर्न पुगेको टोलीमा काठमाडौंबाट राणा र पाण्डे थरका ‘हाइ प्रोफाइल’ संलग्न रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।
शिकार गर्ने टोलीमा केही विदेशी नागरिक, सेनाका पूर्वजर्नेलसहित बैंकका सञ्चालकदेखि उच्च सरकारी कर्मचारी समेत रहेको जनाइए पनि सबैको परिचय भने खुल्न सकेको छैन ।
पाँचवटा निजी गाडीसहित कालाफाँटा गाविस-५, रतैया पुगेको शिकारी टोलीले शनिबारदेखि त्यहाँ क्याम्प खडा गरेर शिकार गर्न थालेको हो । सो समुहले गए राति आधा दर्जन वन्यजन्तुको शिकार गरिसकेको स्थानीय बासिन्दा बताउँछन् ।
शिकारीहरु दिनभर क्याम्पमै बस्ने र रातिमा शिकार खेल्न निस्कने गरेको स्थानीयको दाबी छ । चोरी शिकारीको समुह मासुलाई सुरक्षित राख्नका लागि जेनेरेटर, फ्रिज, टेण्टलगायतका बन्दोबस्तीका सामग्रीसहित त्यहाँ पुगेको छ । त्यस आसपासका जंगलहरुमा चित्तल, नीलगाई, जरायो, रतुवा, बदेल, चितुवालगायतका जनावरहरु पाइन्छन् ।
सञ्चार तथा बाटोघाटोको असुविधाका कारण सदरमुकाम नेपालगन्जबाट झण्डै सम्पर्कबिहीन अवस्थामा रहेको सो ठाँउ एकान्त हुने र प्रायःजसो पूर्वराजपरिवारका सदस्यसमेत शिकारका लागि आउने गरेको स्थानीयबासिन्दाले आफ्नो परिचय नखुलाउने सर्तमा बताए ।
उनीहरुले पूर्वराजपरिवारले शिकार खेल्नका लागि प्रयोगमा ल्याउँदै आएको करिब ७ कठ्ठा जमीनमा टेण्ट लगाएर क्याम्प खडा गरेका छन् । सो क्याम्पमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । स्थानीयहरुका अनुसार दिनभर शिकारीहरुको समुह क्याम्पमै रहन्छ । शिकार खेल्नका लागि साँझ परेपछि गाडी र हातहतियारसहित जंगल प्रवेश गर्ने गरेको स्थानीयको भनाइ छ ।
स्थानीय प्रहरी प्रशासन मौन
शिकारीहरुको समूह सक्रिय रहेको भन्ने सूचना स्थानीय प्रशासन र प्रहरीले पाइसकेको भए पनि बेखबरजस्तै बनेको छ । जिल्ला सदरमुकामदेखि टाढा रहेको र स्थानीय प्रशासनको सहज पहुँच नभएका कारण त्यस क्षेत्रमा वन्यजन्तु शिकार बढ्दो क्रममा रहेको स्थानीयहरुको भनाइ छ ।
यसैबीच ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक नारायण चन्दले कुन्दन राणाको घर त्यहीँ रहेको र केही दिनदेखि घरधनीहरु आएर बसोबास गरिरहेको आफुलाई जानकारी भएको तर उनीहरु शिकारमा गए नगएको आफुले भन्न नसक्ने बताए । उनले भने- ‘कम्पाउण्डभित्र कच्ची घरहरु छन् । घरधनीहरु आएको खबर छ । तर, उनीहरु के मकसदका साथ आएका हुन् थाहा भएन । चोरी शिकारमा गएको भए नियन्त्रणका लागि स्थानीय समिति सक्रिय छ, त्यसले समातेर कारवाही अघि बढाउला ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.