पुलिसलाई हराउँदै मनाङ ए डिभिजन लिग च्याम्पियन

१३ फागुन, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल च्याम्पियन बनेको छ । मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले अन्तिम खेल अघि नै ७५ लाख नगदसहित उपाधि उचालेको हो ।

मनाङले लिगको उपाधि सातौं पटक जितेको हो । पछिल्लो पटक २०६२ मा जितेको थियो । मनाङको यो सिजनको भने चौथो उपाधि हो । उसले एनसेल कप, बि्रटिस गोर्खा कप र भुटानमा भएको किङ्ग्स कप जितिसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तीन पटकको लिग च्याम्पियन पुलिसविरुद्ध मैदान उत्रिएको मनाङलाई लिग च्याम्पियन बन्न तीन अंक चाहिएको थियो ।
मनाङले खेलको १८ औं सेकेण्डमै गोल गर्ने मौका गुमाएको थियो । अनिल गुरुङको हेड गरेका थिए तर, पोल नजिकैबाट बाहिरियो । दोस्रो मिनेटमा अनिलले नै डिबक्स भित्र राम्रो मौपा पाए पनि गोल गर्न सकेनन् । पहिलो हाफको अन्तिम मिनेटमा दीपक राईको प्रहार पुलिसका गोलरक्षक रितेश थापाले मुस्किलले बताएपछि मनाङ गोलरहित बराबरीमा रोकियो ।
तर, दोस्रो हापको सुरुमा पुलिसका गणेश खड्काले गोल गर्ने मौका गुमाए । लगतै मनाङ गोल गर्न सफल भयो । ५३ औं मिनेटमा योना इलियासले हेड गोल गर्दै मनाङलाई सुरवाति अग्रता दिलाए ।
५८ औं मिनेटमा जुमानु राई घाइते भएर मैदानबाट बाहिरिएपछि पुलिस केही दबावमा आयो । ६३ औं मिनेटमा भरत साहको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले रोके ।
६७ औं मिनेटमा सुजल श्रेष्ठले फि्रकिकमा राम्रो गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए ।
खेलको ८४ औं मिनेटमा पुलिसका भरत साहले दुई पटकको मौकामा पनि गोल गर्न सकेनन् । उनको पहिलो प्रहार विसालले रोक्दा फर्किएर आएको बल उनले पाएका थिए । तर, उनको प्रहार आकासियो ।
खेलमा थप गोल हुन सकेन र मनाङ २-० को जित हात पार्दै लिग च्याम्पियन बन्यो ।
जितसँगै थ्रीस्टारसँग अन्तिम खेल खेल्नुअघि मनाङको ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेका मच्छिन्द्रको ३१ अंक छ भने तेस्रो स्थानमा थ्रीस्टारको २९ अंक छ ।
अब ४० लाख पुरस्कार रहेको दोस्रो स्थानका लागि मच्छिन्द्र र थ्रीस्टारको प्रतिस्पर्धा हुनेछ । थ्रीस्टारले अन्तिम खेल लिग च्याम्पियन बनेको मनाङसँग खेल्नेछ भने मच्छिन्द्रले संकटाको सामना गर्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.