प्रहरी निरीक्षकको अनुभव : यसरी भेटियो दुर्घटनाग्रस्त विमान
पोखराबाट जुम्लाका लागि आइतबार १२:४० बजे उडेको नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाज सम्पर्कविहीन भएपछि अर्घाखाँची जिल्लाको कुनै भूगोलमा दुर्घटनाग्रस्त भएको हुनसक्ने खबर लुम्बिनी अञ्चल प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मिङमार लामाज्यूले मलाई दिउँसो २ बजे जानकारी गराउनुभयो । त्यसबखत म कार्यालयको काममा ब्यस्त थिएँ ।
त्यस्तो सुचना आएपछि मैले कार्यालयका
नियमित काम छोडेर अर्घाखाँचीका १८ वटै प्रहरी युनिटलाई आफ्ना इलाकामा
स्थानीयसँग समन्वय गरी खोजी गर्न निर्देशन दिएँ । त्यो समय म नै
अर्घाखाँचीको निमित्त प्रहरी प्रमुख भएकाले मैले यो पहल लिनु जरूरी थियो ।
समय बित्दै जाँदा म सँग भएका तीनवटा
मोबाईल फोन र ल्यान्डफोन उठाएरै नभ्याउने अवस्था आयो । मैले तत्काल प्रमुख
जिल्ला अधिकारी र सन्धिखर्कस्थित नेपाली सेनाका प्रमुख सेनानीज्युलाई
हराएको विमान यसै जिल्लामा दर्घटना भएको हुनसक्ने सम्भावनाबारे प्राप्त
सूचनाहरू फोनमार्फत जानकारी गराएँ । विशेषगरी विमानको रुटमा रहेका प्रहरी
चौकी खिदिम, जलुके, सिमलपानी, ठाडा, सिद्धारा,असुरकोट र ढाकावाङलाई तत्कालै
फिल्ड गएर स्थानीयको सहयोग लिई खोजी गर्न निर्देशन दिएँ।
जहाज अन्तिम पटक १३:१३ बजे भैरहवा टावरसँग
सम्पर्कमा आई २५ नटिकल माईलमा रहेको र मौसम खराबीले फर्कँदै गरेको जानकारी
गराउँदा भैरहवा टावरले रियल्ली भन्दासाथ जहाज सम्पर्क टुटेको सूचना पाएपछि
एक माईलमा १६ सय मिटर हुने हुँदा सम्भावितस्थल अर्घाखाँची, गुल्मी र
बागलुङ भए पनि बढी सम्भावना यस जिल्लाको रहेको बुझियो ।
छिटो भन्दा छिटो विमान पत्ता लगाउन म
स्वयमको नेतृत्वमा १५ जनाको टोली लिई खोजतलासको लागि निस्किएँ । जिल्ला
प्रहरी कार्यालयबाट ६० जनाको टोलीलाई तीनटोलीमा विभाजित गरी सम्भावित
जंगलमा सर्च गर्न खटाएँ । मैले योजना बनाउनु भन्दा पनि माथिल्ला कार्यालय र
सञ्चारकर्मीलाई घटनाबारे जानकारी दिन भ्याई नभ्याई हुन थाल्यो ।
आइतबार अपरान्ह ४ बजे बजे क्षेत्रीय
प्रहरी प्रमुख र अञ्चल प्रहरी प्रमुखबाट खिदिम एरियामा सर्चलाई फोकस गर
भन्ने निर्देशन प्राप्त भयो । पूर्वमन्त्री प्रदीप ज्ञवालीज्युका
अंगरक्षकले खिदिममा आगोको मुस्लो देखेको जानकारी गराएको, मिडियाबाट पनि
त्यही सूचना आएको र गुल्मीका प्रजिअले मिडियामा त्यस्तै कुरा पुष्टि गर्ने
सूचना दिएको बताएपछि उक्त स्थानमै गई कमाण्ड गर्नुपर्छ भन्ने लाग्यो ।
सबैले
खिदिममै विमान खसेको भन्न थाले । सबै टेलिभिजनले खिदिममै खसेको भनेर ठाउँ
नै देखाइसके, किन तिमीहरुले नभेटेको भनेर माथिल्ला कार्यालयले दबाब दिन
थाले । खिदिम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रेम कुवँर र त्यहाँका
स्थानीयसँग बुझ्दा त्यहाँ विमान खसेको कुनै आवाज नसुनिएको खबर प्राप्त भयो ।
हामीले उक्त स्थानको मुरोकोट ढावा, माली मन्दिर, तपोवन भूमि सबै क्षेत्रमा
खोजी गरीसक्यौं भन्ने जारकारी स्थानीय र मातहतका प्रहरीबाट पाइयो ।
सम्पूर्ण देशको ध्यानै अर्घाखाची जिल्लामा
केन्द्रित थियो, विमान सकुशल नरहेको र दुर्घटनास्थलम पनि यसै जिल्ला
भएकोले त्यो कुरा स्वभाविक पनि थियो । म पनि खिदिममा अपरान्ह ४ बजे
टोलीसहित पुगिसकेको थिएँ । गाउँले र मातहतको जानकारी तथा म स्वयम् फिल्डमा
हुँदा पनि खिदिममा दुर्घटना नभएको भनी पटक पटक भन्दा पनि विश्वास दिलाउन
सकिन ।
प्रहरी
प्रधान कार्यालय र गृह मन्त्रालयबाट पनि थप दबाब आउन थाल्यो । खिदिममै
विमान खसेको छ, किन फेला परेन ? सबै त्यही भन्छन् भन्दै ममाथि निरन्तर दबाब
दिने क्रम बढिरह्यो । नागरिक उड्डयन प्राविधिकरणको विज्ञप्ति सुनेँ , त्यो
विज्ञप्तीमा पनि मिडियामै आएका कुरा थियो । आधिकारीक संस्थाले नै
अर्घाखाँचीको खिदिम मुरोकोट आसपासमा दुर्घटना भएको आशंका गरेपछि म थप
चिन्तित भएँ । विमान दर्घटानाग्रस्त हुँदा त्यहाँको स्थानीयले
सुन्नुपर्ने ?, प्रहरी चौकी त्यहीँ छ, उ पनि वेखबर छ । त्यति साह्रो बस्ती
नै नभएको घना जंगल पनि छैन ।
खिदिम सदरमुकामबाट सन्धिखर्कबाट करिब ३५
किमी टाढा थियो । हामी विमानको खोजीमा लागिरहँदा निरन्तर पानी परिरहेको
थियो । पानीमा रूझ्दै हामी थकानको बेवास्ता गर्दै निरन्तर विमानको खोजिमा
लागिरहँदा प्रमुख सेनानी रामजी रानाज्युको नेतृत्वमा आर्मीको टोली पनि
आईपुग्यो ।
केही समयमा प्रहरी वरिष्ठ उपरीक्षक मिङमार
लामाज्यु पनि आईपुगेपछि खिदिममा विमान दुर्घटना नभएको भन्न अलि सजिलो भयो ।
खिदिमा विमान दुर्घटना नभएको बारे आफूभन्दा माथिल्लो कमाण्डर आएपछि
कन्भिन्स गर्न धेरै समय लागेन । त्यसपछि हामीले यस्ता असत्य सूचना आएको
बारे विश्लेषण गरेपछि अरू सम्भावित स्थानबारे अनुमान गरेर खोजीको नयाँ
योजना बनाइयो ।
ठूलो संख्याको प्रहरीको टिम, आर्मी टिम र
पाल्पादेखि आएको सशस्त्र प्रहरीको टिम त्यति सानो चौकीमा हिउँ त्यस्तो
जाडोमा रात बिताउन साह्रै कठिनाई भयो । राति जे पाईन्छ त्यही खाएर प्रहरी
वरिष्ठ उपरीक्षकज्यूलाई सुत्ने स्थानमा पुर्याई म सुत्ने कोठामा राति ११
बजे आएँ । ओच्छ्यानमा पल्टिएँ तर निद्रा लागेन । हचुवा र हल्लाका भरमा आएका
सूचनाको आधारमा सर्च गर्नु थिएन । म विगतमा डा. भक्तमान अपहरणकाण्ड लगायत
ठूला अपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गर्ने लगायतका काम गरेकाले नयाँ
ढंगबाट खोजी अघि बढाउने निचोडमा पुगेँ ।
आफूकहाँ आएका टेलिफोन नम्बरमार्फत विमानका
यात्रुहरुको टेलिफोन पत्ता लगाएँ । त्यसैमा पनि नेपाल टेलिकमको नेटवर्क
भन्दा एनसेलको नेटवर्कमा टेलिफोन नम्बर खोजी गर्ने क्रममा क्रममा यात्रु
दीपक श्रेष्ठको बहिनी सरस्वतीले दिनुभएको दीपक श्रेष्ठको ९८१८१५२३९० नम्बर
पत्ता लाग्यो । उक्त नम्बर डायल गर्दा फोन लाग्यो । अबचाँहि विमान पत्ता
लाग्ने कुरामा म आशावादी भएँ । किनकि विगतमा हामीले अनुसन्धान गर्दा
एनसेलले एक्युरेट टावर लोकेशन जतिखेर पनि उपलब्ध गराउथ्योँ ।
मैले एनसेलको कार्यालयमा सम्पर्क गरेपछि
त्यहाँबाट मलाई उक्त फोनमा डायफोन गर्नुस लोकेशन हेर्छु भन्यो । एनसेलबाट
सोमबार विहान ४ बजे विमानको लोकेशन जानकारी प्राप्त भयो । खाँचिकोट टावरको
एक सय ५० मिटर पूर्वको दुरी एनसेलले दियो । त्यसपछि अपराध अनुसन्धान
महाशाखाले पनि हामीलाई उक्त टेलिफोनबाट लोकेशन त्यही जानकारी प्राप्त भयो ।
सोमबार
विहान ५ बजे ड्यूटी अधिकृतबाट सूचना पाएपछि प्रहरी वरिष्ठ उपरीक्षक
लामाज्यूलाई त्यही कुरा मैले जानकारी गराए पछि हामीले पाल्पाको टोली
खिदिममै छाडी खाचीकोटतर्फ लाग्यौं । जिल्लाभरको जनशक्तिलाई त्यही जंगलमा
केन्द्रित हुन निर्देशन दिएँ । चारैतर्फबाट खोजी गर्दै जाँदा हामीले बिहान ८
बजे अर्घाखाँची जिल्लाको ढिकुरा गाविस-८ स्थित मसिनेलेकको खोचमा टावरदेखि १
सय ५० मिटरकै दूरीमा जंगलभित्र शवहरु छरिएको भेट्यौँ। उक्त स्थानमा बाक्लो हिउँ परेको थियो,त्यहाँसम्म जाने बाटो थिएन । प्रतिकूल मौसम भएपनि हामी जेनतेन पुग्नसफल भयौं ।
साना र पोथ्रे रुख भएको जंगलमा भित्री
शवहरु जताततै छरिएका थिए । लाश त्यति धेरै टुक्रा परेका थिएनन् । १८ वटा शव
मध्ये १० वटा सग्लो अवस्थामा थिए । पत्ता नै लगाउन नसकिने एक महिलाको शव
थियो तर उनी महिला भन्ने कपालको केही भागले वताउँथ्यो । सम्पूर्ण लाश एकै
ठाउँमा जम्मा गरेपछि लाश जाँच प्रकृति मुचुल्का तयार गर्न लगाएँ । विमानका
टुक्रा पनि छरिएका थिए, तिनलार्इ पनि संकलन गरियो । विमानको मूख्य चिज
व्ल्याकबक्स पनि भेटियो, जुन दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण
मानिन्थ्यो । ती सबै फेला पारेपछि लाश सनाखत गर्नुथियो । जुम्ला नै घर भएका
एक सैनिक जवान त्यहाँ गएका रहेछन, उनीबाट नै उक्त एनसेलको नम्बरका बाहक
दीपक श्रेष्ठ पहिचान भए । उनी नेपाली सेनाका मेजर रहेछन ।
जुम्ला घर भएकी वर्षा न्यौपाने हमाल, उनका
४ वर्षका छोरा सतिश, जुम्लाका कांग्रेस सभापति मानव सेजुवाल, जुम्लाकै
राजेन्द्र चौलागाईँको सनाखत भयो । डा. विकल्प पोख्रेल, पाइलट शंकर
श्रेष्ठ, विमानका को-पाइलट रविन्द्र वन्जारा, परिचारिका मुना महर्जन र
राजेन्द्र देवकोटाको शव उनीहरूको साथमा रहेका सामान र आईडी कार्डबाट सनाखत
गरियो । डेनीस नागरिक एक मात्र विदेशी भएकोले सनाखत भए । अन्य यात्रुहरु
टेक बहादुर महतारा, नन्द महतारा, गौरी कठायत, डि महतारा, पि उपाध्याय, उमा
तामाङ र डि आर शाहको तत्काल सनाखत हुन नसकेपछि मुचुल्का बनाई हामीले लगेका
प्लाष्टिकमा प्याक गर्यौं ।
दुर्घटनास्थलको सर्च गरी यात्रुका भेटिएका
सामान समेत पोका पारेर लाश र सामान एकै ठाउँमा राखी नेपाली सेनाको
हेलिकोप्टरमार्फत सन्धिखर्क हुँदै काठमाण्डौ पठाईयो ।
दुर्घटनास्थल हेर्दा विमानको मूख्य भाग
माथि डाँडामा दुर्इ स्थानमा थियो भने मानिसका लाश करिब ५ सय मिटर टाढाको
दूरीमा थिए । अन्य प्लेनका टुक्राहरु पनि त्यसरी नै छरिएका थिए । विमान
ठोकिएको ठाउँ हामीले भेटाउन सकेनौ । सायद विमान कुनै गड्बडीले आकाशमै
विष्फोट भएको हुनुपर्दछ । हुनत के कारण थियो ? व्ल्याकबक्स र सरकारले
बनाएको आयोगले पत्ता लगाउने छ ।
विमान वेपत्ता भएको १७ घण्टापछि
दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारी उद्धार लगायतका काम सकेर हामी
फागुन ५ गते दिउँसो १ बजे नरपानीतर्फ झर्दा साह्रै समस्या पर्यो । दुर्इ
ठाउँमा त म नराम्ररी लडेँ । धन्न धन्न बाँचेर फर्किन सकियो । हामी सबैजना
दिउँसो ३ बजे नरपानी बजारमा सकुशल आई प्रहरी वरिष्ठ उपरीक्षक मिङ्मार
लामाज्यू र हामीले चाउचाउ खाएर सर भैरहवातर्फ लाग्नुभयो भने म मेरो
टोलीसहित सन्धीखर्कतर्फ आएँ ।
(प्रहरी निरीक्षक पन्थी अर्घाखाँची जिल्ला प्रहरी कार्यालयमा निमित्त कार्यालय प्रमुख हुन् )
|
0 comments
Write Down Your Responses