सभामुख नेम्वाङको कक्षामा केटी जिस्काउने टि्वट !

फागुन, काठमाडौं । संविधानसभाको अध्यक्ष पदमा एमाले नेता सुवासचन्द्र नेम्वाङ मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पूर्वसभामुखसमेत रहेका नेम्वाङ दोस्रोपटक निर्विरोध चुनिन सफल भए पनि संविधानसभाभित्रै आलोचनाबाट मुक्त चाँहि बन्न सकेनन् ।
‘सुवास नेम्वाङ यस्ता शिक्षक हुन्, जसको क्लासमा विद्यार्थीहरु सुत्न, हल्ला गर्न, लाष्ट बेञ्चमा बसेर दोहोरी गाउन र पछाडिबाट केटीलाई चकले हान्न पाउँछन् ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार एक व्यक्तिको यस्तो टि्वट पढेर सुनाउँदा सभासदहरुमा हाँसो छायो । संविधानसभा अध्यक्षका उम्मेद्वार नेम्वाङ समेत असजिलो मान्दै हल्का मुस्कुराए ।
अन्तरिम व्यवस्थापिका संसद र पहिलो संविधानसभाको समेत अध्यक्षता रहेका नेम्वाङले पहिलो संविधानसभामा निर्वाह गरेको भूमिकालाई लिएर मंगलबार संविधानसभा बैठकमा प्रशस्तै टीकाटिप्पणी भयो । नेम्वाङले आफ्नो विषयमा उठेका सकारात्मक-नकारात्मक दवबै टिप्पणीलाई गम्भीरतापूर्वक सुने ।
व्यक्तिगत रुपमा नेम्वाङलाई सबैले विद्वान एवं शालीन व्यक्तिको संज्ञा दिए पनि पहिलो संविधानसभाको अन्तिम दिन बैठक नबोलाएकोमा उनको आलोचना भयो ।
दोस्रो संविधानसभाबाट निर्वाचित सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई निर्विरोध निर्वाचित गर्ने बैठकमा बोल्ने अधिकांश नेताहरुले शालीन व्यक्तित्व भन्दै नेम्वाङका सदगुणहरुको मुक्तकण्ठले प्रशंसा गरे । तर पनि उनको पछिल्लो भूमिकामाथि भने प्रश्नहरु उठेका छन् ।
संविधासभामा ठट्यौलो टि्वट पढिसकेपछि राप्रपा नेपालका अध्यक्ष थापाले नेम्वाङको अघिल्लो कार्यकालको मूल्यांकन गर्दै भने, ‘गत संविधासभा र व्यवस्थापिका संसदमा जे-जस्ता किसिमका आरोह अवरोहरु यो सभाकक्षमा मञ्चन भए, कता-कता शिक्षककै भूमिका निर्वाह गरिरहेको पनि हामी देख्ने गथ्र्यौं । निश्चय नै आगामी दिनमा यसमा ध्यान दिनु नै हुनेछ ।’
नेम्वाङका प्रस्तावक एमाले नेता केपी ओलीले नेम्वाङलाई दलीय निन्त्रणभन्दा बाहिर रहेर सबै दलको अध्यक्ष बन्न सक्ने व्यक्तित्वको संद्दा दिएका थिए । कानून र राजनीतिका ज्ञाता, शालीन व्यक्तित्वको संज्ञा दिँदै ओलीले नेम्वाङमा ४० वर्षको कानूनी अनुभव भएको बताएका थिए । प्रस्तावका समर्थक कांग्रेस नेता केपी सिटौलाले पनि नेम्वाङको प्रशंसा गरेका थिए ।
तर, संविधानभा बैठकमा बोल्ने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले चाँहि नेम्वाङसँग आफ्नो राम्रो सम्बन्ध रहे पनि ०६९ जेठ १४ गते संविधानसभाको बैठक नडाकी कमान्ड नसम्हालेकोमा नेम्वाङको आलोचना गरे ।
संविधानसभामा दलित जनजाति पार्टीको विश्वेन्द्र पासवानले पनि नेम्वाङको कार्याकालमा नियमावली पीडादायक रहशेको भन्दै साना दलका नेताले कोल्ने अवसर नपाएको गुनासो पोखेका थिए ।
इलाममा न्यायाधीशको परिवार जन्मिएका एमाले नेता नेम्वाङको सबैभन्दा सकारात्मक गुण भनेको उनी असाध्यै मृदुभाषी छन् । नेम्वाङ कसैलाई पनि बिझाउने र मन दुखाउने गरी बोल्दैनन् । आफ्ना आलोचकलाई तुरुन्तै प्रतिक्रिया दिइहाल्ने नेम्वाङको बानी छैन । लामो समय कानून व्यवसायी पेशामा रहेका नेम्वाङ पहिलो संविधानसभा विघटन भएपछि पनि आफ्नै पेशामा सक्रिय भएका थिए ।
नेम्वाङका कमजोरी
व्यक्तिगत रुपमा सर्वगुण सम्पन्न भए पनि छिटो निर्णय गर्न नसक्ने, कमाण्ड नसम्हाल्ने र अन्तिम घडीमा नेकपा एमालेको स्वार्थलाई ‘क्रस’ गर्न नसक्ने जस्ता आरोपहरु नेम्वाङमाथि लागेका छन् । पछिल्लो समयमा संविधानसभा भवनमा सभासदहरुले बैठकको माग गर्दै नाराबाजी गरिरहँदा पनि नेम्वाङले बैठक नबोलाएको भन्दै उनीमाथि असक्षमको आरोप लागेको छ । मंगलबार एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभामा बोल्दै नेम्वाङलाई पहिलो संविधानसभाका ‘असफल’ सभामुखको संज्ञा दिका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.