दुई महिनाभित्र टेलिकमको १० एमबीपीएस गतिको इन्टरनेट

काठमाडौं, ५ फागुन । दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले आगामी दुई महिनाभित्र ‘भिडियो अन डिमान्ड’(भीओडी) सहित उच्च गतिको इन्टरनेट सेवा ‘फाइबर टु द होम’ (एफटीटीएच) सुरु गर्ने भएको छ। सरकारी स्वामित्वको टेलिकमले राजधानीसहित मुलुकका १० स्थानबाट न्यूनतम १० एमबीपीएस गतिको इन्टरनेट सेवा सुरु गर्न लागेको हो।
उच्च गतिको इन्टरनेट चाहने र व्यावसायिक कामका लागि प्रयोग गर्नेलाई लक्षित गरी टेलिकमले यस्तो सेवा सुरु गर्न लागेको हो। कम्पनीले अहिले पनि विभिन्न प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवा चलाइरहेको छ तर यो सेवामा भने इन्टरनेटका साथ अन्य ‘भ्यालु एडेड सर्भिस’ पनि प्रयोग गर्न सकिनेछ।
टेलिकम पीएसटीएन सेवा निर्देशनालयका निर्देशक श्यामसुन्दर यादवले उपभोक्तालाई एउटै तारबाट इन्टरनेट र भिडियो सुविधा दिने गरी एफटीटीएच सेवा सुरु गर्ने तयारी गरिएको जानकारी दिए।
यो सेवाको परीक्षण भइसकेकोले आगामी दुई महिनाभित्र सर्वसाधारणले सेवा लिन सक्नेछन्। गतमाघ २२ गते वार्षिक उत्सवका दिन कम्पनीले ‘फाइबर टु द होम’ सेवा प्रदर्शन गरेको थियो। टेलिकमले हालसम्म यस्तो सेवाको प्याकेज र शुल्क निर्धारण गरिसकेको छैन।
कम्पनीले राजधानीसहित मुलुकका विभिन्न १० स्थानमा एफटीटीएच सेवाका लागि उपकरण जडान गरिसकेको छ। टेलिकमले राजधानीको सुन्धारा, छाउनी, नक्साल, पाटन र चाबहिल एक्सचेन्जमा एफटीटीएच सेवाका लागि उपकरण जडान गरिसकेको यादवले जानकारी दिए।
यसैगरी राजधानीबाहिर विराटनगर, वीरगन्ज, भरतपुर, बुटवल र पोखराका एक्सचेन्जमा पनि यस्ता उपकरण जडान भइसकेका छन्। कम्पनीले हाल तामाका तार हटाएर अप्टिकल फाइबर विस्तार गरिरहेको छ। एफटीटीएच सेवा विस्तार गर्ने क्षेत्रमा भने अप्टिकल फाइबर राखिसकिएको टेलिकमले जनाएको छ।
दरबारमार्ग, कमलादी र ठमेलमा गतवर्षदेखि नै कम्पनीले परीक्षणको रूपमा यो सेवा चलाएको छ। परीक्षण सफल भएकाले आगामी दुई महिनाभित्र मुलुकका १० स्थानमा यस्तो सेवा सुरु गर्न लागिएको यादवले जानकारी दिए।
एफटीटीएच सेवा सुरु भएका स्थानमा उपभोक्ताले एउटै तारबाट भ्वाइस, डाटा र भिडियो सेवा पाउनेछन्। ‘ग्राहकले यो सेवा सुरु भएपछि आफूले चाहेअनुसार भिडियोसमेत हेर्न र डाउनलोड एवं रेकर्ड गर्न सक्नेछन्’, यादवले भने, ‘उच्च गतिको इन्टरनेट हुने भएकाले ग्राहकलाई फाइदा पुग्नेछ।’ यादवले भिडियो सेवा सुरु गर्ने बताए पनि हालसम्म टेलिकमले भिडियो बाँड्ने गरी भने सरकारी अनुमति लिइसकेको छैन।
एफटीटीएच सेवाबाट भिडियो बाँड्न इन्टरनेटमा आधारित टेलिभिजनको छुट्टै अनुमति लिनुपर्ने हुन्छ। टेलिकमले केही वर्षदेखि यस्तो टेलिभिजन चलाउने बताउँदै आएको छ। यादवले पनि अनुमतिलगायतका अन्य प्रक्रिया पूरा गरेर भिडियो सेवा दिइने जानकारी दिए।
टेलिकमले हाल ताररहित प्रविधिमा धेरैखाले उच्च गतिका सेवा चलाइरहेको छ। कम्पनीले वाइम्याक्स प्रविधिमार्फत एक सय एमबीपीएस गतिसम्मको इन्टरनेट व्यावसायिक प्रयोजनका लागि वितरण गर्न सकिने टेलिकमले जनाएको छ।
यसैगरी जीएसएम थ्रीजी सेवामा भने १५ एमबीपीएसम्मको सेवा उपलब्ध छ। यस्तै सीडीएमए प्रविधिमा आधारित इभीडीओमा ३.१ गतिसम्मको इन्टरनेट सेवा उपलब्ध छ। निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले पनि व्यावसायिक प्रयोजनका लागि उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएका छन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.