बेहुली अन्माउने बेला बेहुलाको मृत्यु


सिराह, ८ फागुन । सिराहको चन्द्रअयोध्यापुर १ चोहर्वा गाउँमा बेहुली अन्माउने बेलामा बेहुलाको ज्यान गएको छ । विवाहको लागि आएको जन्ती नफर्कदै बेहुला सिरहा नगरपालिका–२ का पल्टु यादवका छोरा कमलेश यादवको ज्यान गएको हो । विवाहको कर्मकाण्ड सकेर बिहीबार विहान ४ वजे सुत्न गएका कमलेशको ओछ्यानमा नै ज्यान गएको प्रहरीले जनाएको छ । दुलहीको दाजु अरविन्दकुमार यादवले चिया दिन जाँदा बिहीबार विहान ६ बजेतिर बेहुलालाई मृत अवस्थामा फेला पारेका हुन् । ‘विहानपख विवाहको सवै कर्मकाण्ड सकेर वेहुला सुत्न गएका थिए, विहान ६ बजेतिर चिया दिन उठाएको उठ्दै उठेनन्, एम्वुलेन्समा राखेर हत्तपत हस्पिटलमा लग्यौं, डाक्टरले मरिसकेको सुनायो’ अरविन्दले भन्नुभयो । गोलबजारको भूमिजा अस्पतालले बेहुला यादवको ज्यान गएको पुष्टी गरेको हो । बेहुलाको ज्यान गएपछि माइती र घर दुबैपक्ष शोकमा डुबेको छ । दुलहीकी ८० वर्षकी हजुरआमा कपलेश्वरी देवी यादवले विलौना गर्दै भन्नुभयो ‘नातिनी अनमाउन खोजेको के यस्तो दैव लाग्यो !’ बुहारी भित्र्याउने तयारीमा रहेको बेहुलाको घर परिवारमा पनि रुवावासी छ । बेहुलाको घरमा विहीवार २ वजे प्रीति भोजको आयोजना गरिएको थियो । एकाविहानै बेहुली हेर्न आउनेहरुको घुईचो लाग्दै थियो अचानक मृत्यूको खबर आयो । बेहुलाका बुबा आमा छोराको मृत्यु भएको अझै स्वीकार गर्न सकिरहेका छैनन् । उनीहरु घरमा धामीझाँक्री बोलाएर झारफूक गराइरहेका छन् । उनीहरु कुल देउता रिसाएर छोरालाई बेहोस बनाएको भन्ने भानमा रहेको स्थानीय रमन यादवले बताउनुभयो । बेहुला कमलेशको ज्यान जानुको कारण भने खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले घटनाको अनुसन्धान भइरहेको र अहिले तुरुन्त केही भन्न नसकिने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.