सुर्खेतमा यौनकर्मीको संख्या ६ सय बढी

सुर्खेत । सुर्खेतमा डेढसय जना बढी यौनकर्मी रहेको एक गैरसरकारी संस्थाले जनाएको छ । एकीकृत एचआइभी र एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रम गर्दै आएको समाज जागरण केन्द्र (स्याक) ले पछिल्लो छ महिनामा गाविस र नगरपालिकामा गरी एक सय २० जना नयाँ यौन व्यवसायी महिलाको पहिचान भएको दाबी गरेको छ ।
पछिल्लो छ महिनाको नयाँ तथ्याङ्कमा एक सय २० जना नयाँ यौनव्यवसायी थपिएपछि जिल्लामा यौन व्यवसायीको सङ्ख्या ६ सय १६ पुगेको एकीकृत एचआइभी र एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रमका संयोजक चन्द्र विकले बताए ।
जिल्लामा यौन व्यवसायीको सङ्ख्या रहेक महिनामा थपिने गरेको उनले दाबी गरे । ‘हरेक महिना नयाँ यौन व्यवसायीको पहिचान हुने गरेको छ’, उनले भने, ‘कतिपय सहजै खुल्ने गरेका छन्, नखुल्नेको सङ्ख्या धेरै छ ।’
सुर्खेतमा एउटा नगरपालिकासहित विभिन्न गाविसका महिला यौन व्यवसायमा लागेको संस्थाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका, घुमखहरे, सहारे, मालारानी, राकम, दहचौर, मैनतडा, मेहेलकुना, गुमी, रामघाट, दशरथपुर, लेखफर्सा, छिन्चु, जर्बुटा, लाटीकोइली, उत्तरगङगा, बिजौरा, गुठु, विद्यापुर, सालकोट, बाबियाचौर, आग्रीगाउँ, बजेडी चौर र घोरेटा गाविसमा यौनकर्मी महिला भेटिएको संस्थाको दाबी छ ।
कार्यक्रम संयोजक चन्द्र विकले यौनकर्मी महिलाको सङ्ख्या बढ्दै गएको बताउँदै विवाहित महिला धेरै भएको जानकारी दिए । पछिल्लो छ महिनाको तथ्याङ्कमा यौन व्यवसायमा संलग्नमध्ये विवाहित महिलाको सङ्ख्या ८७ छ भने अविवाहितको सङ्ख्या ३३ छ ।
यस्तो व्यवसायमा लागेकामध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्षसम्मका रहेको विकले जानकारी दिए । गरिबी, पारिवारिक समस्या, श्रीमान्को व्यवहार, पति घरमा नहुनुजस्ता बाध्यात्मक कारणले महिला यस पेसामा संलग्न हुने गरेको संस्थाको अनुमान छ । द्वन्द्वपीडित, पति विदेश गएका महिला र विद्यार्थी पनि यो पेसामा लागेको संस्थाले बताएको छ ।
संस्थाले एचआइभी एड्स र अन्य यौन रोगको जोखिमलाई मध्यनजर गर्दै यौन व्यवसायीलाई यसबारे सचेत पार्ने तथा सुझाव दिने गरेको छ । संस्थाले असुरक्षित यौनसम्पर्कबाट बच्न सचेत गराएपछि उनीहरूले अहिले कन्डमबिना शारीरिक सम्बन्ध नराख्ने र प्रत्येक महिना स्वास्थ्य जाँच गर्ने गरेका छन् ।
६ महिनाको अवधिमा ६७ जनाको रगतको निःशुल्क जाँच गरी उपचारका लागि सिफारिससमेत गरिएको संस्थाले जनाएको छ । पहिचान भएका यौनकर्मीमध्ये कसैलाई पनि एचआइभी पोजेटिभ भने नदेखिएको संस्थाले बताएको छ । रासस
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.