ओलम्पिकमा स्वर्ण जिते सशस्त्रले २५ लाख दिने

काठमाडौं । सशस्त्र प्रहरीले ओलम्पिक, एसियन र सागमा पदक जिते आफ्ना खेलाडीहरुलाई छुट्टै पुरस्कार दिने घोषणा गरेको छ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी बलका खेलाडीहरुको हौसला अभिबृद्धि गर्न पदक विजेतालाई पुरस्कृत गर्ने नीति लिएको बताए ।
सशस्त्रले आफ्ना खेलाडीले देशको तर्फबाट खेल्दा ओलम्पिकमा स्वर्ण जिते २५ लाख, रजत विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख दिनेछ । एसियन गेममा स्वर्ण विजेतालाई दश लाख, रजत विजेतालाई पाँच लाख, र कास्य पदक विजेतालाई दुई लाख रुपैयाँ तथा साउथ एसियन गेममा स्वर्ण विजेतालाई एक लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने नीति रहेको राईले बताए ।
यसैबीच ‘छैटौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता चैत दोस्रो साता हुने भएको छ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा चैत ९ देखि १४ गतेसम्म संचालन हुने प्रतियोगितामा कूल १२ इभेन्ट्स रहने छन् । खेलहरु आईटिएफ र एएनएलटिए को नियमअनुसार बेष्ट अफ थ्रीका आधारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित एपीएफ लनटेनिस कोर्ट तथा सातदोबाटो स्थित लनटेनिस कोर्टमा संचालन गरिने छ ।
प्रतियोगिताको कूल नगद पुरस्कार राशी चार लाख ५ हजार रुपैयाँ रहेको छ । लनटेनिसमा समावेश इभेन्ट्सहरुमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, मिश्रीत युगल, नेपाल सरकारको सेवामा कार्यरत तथा अवकाश प्राप्त (सेना, सशस्त्र प्रहरी, प्रहरी, राष्ट्रिय अनुसन्धान र निजामती सेवामा कार्यरत राजपत्राङ्कति अधिकृत)हरुको एकल तथा ३५ वर्ष माथि भेट्रान्स युगल, भेट्रान्स एकलका ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष माथिका खुल्ला एकल र ३५ वर्षमाथी र ४५ वर्षमाथि खुल्ला युगल इभेन्ट्स रहेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.