प्रचण्डलाई झट्का बाबुराम नयाँ पार्टी खोल्ने मनस्थितिमा !

काठमाडौं। एमाओवादी नेता बाबुराम भट्टराई 'पार्टी रूपान्तरण' बारे अध्यक्ष पुष्पकमल दाहालबाट बेलैमा सम्बोधन नभए नयाँ पार्टी बनाउने मनस्थितिमा पुगेका छन् । उनी त्यसभन्दा अघि एमाओवादीभित्रै व्यापक विचार/बहस चलाउने पक्षमा छन् ।
यता अध्यक्ष दाहालले संसदीय दलको नेता नबनाइएका कारण भट्टराईले बखेडा झिकेको बताइरहेका छन् । केही दिनअघि दाहाल पक्षधरहरूको बैठकले भट्टराईका पछिल्ला अभिव्यक्तिहरूलाई गैरमाक्र्सवादी भनेको थियो ।

भट्टराईले संविधानसभा निर्वाचनमा पराजयको पृष्ठभूमिमा दाहाललाई मूल नेतृत्वबाट हटाउने, त्यसो नभए अलग भएर नयाँ पार्टी खोल्ने रणनीति अख्तियार गरेका हुन् । उनले दाहाललाई अवकाश दिलाउने उद्देश्यका लागि राजनीतिक सिद्धान्तको कुरा उठाएका हुन् ।

२००६ देखि हालसम्म कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएकाले अब नयाँ ढंगले अघि नबढे थप संकट आउने उनको भनाइ छ । 'पुरानै ढंगले क्रान्ति अघि बढ्न सक्दैन, 'अब औद्योगिक पुँजीवादी, प्रगतिशील क्रान्ति गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्छ ।'

भट्टराईले आफ्नो विचारमाथि पार्टीमा छलफल भइरहेको बताउँदै प्रगतिशील, वामपन्थी र युवा शक्तिलाई समेटेर मात्र नयाँ पार्टी बन्ने उल्लेख गरे । 'औद्योगिक, पुँजीवादी क्रान्तिका लागि वामपन्थी पार्टीभित्रको एउटा शक्ति र त्यसबाहिरका युवा समेटेर नयाँ शक्ति बनाउनुपर्छ,' उनले भने, 'पण्डितले व्याख्या गरेजस्तो माक्र्सवाद हुँदैन । यो समय र परिस्थितिअनुसार नयाँ ढंगले अघि बढ्छ ।'

उनले संस्थापन पक्षबाट आफ्नो विचारलाई गैरमाक्र्सवादीको संज्ञा दिइनु सुरुमा विज्ञानलाई नबुझ्नु जस्तै भएको टिप्पणी गरे । 'मैलेे एक्काइसांै शताब्दीको जनवाद, संविधानसभा, शान्तिपूर्ण राजनीतिको कुरा गर्दा साथीहरूले गैरमाक्र्सवाद भयो, मलाई पुँजीवादी भयो भनेका थिए,' उनले भने, 'हाल आएर त्यो सावित भएको छ । मलाई विश्वास छ, पार्टी रूपान्तरण भएर मुलुकको नेतृत्व गर्नेछ ।'

अध्यक्ष दाहालले हेटौंडा महाधिवेशनद्वारा पारित पँुजीवादी क्रान्तिको कार्यदिशा परिमार्जन गरेर 'विद्रोह' लाई समेट्ने बताइरहँदा भट्टराईको विचार सार्वजनिक भएको हो । 'हामीले विगतमा भनेजस्तो नयाँ जनवादी क्रान्ति अघि बढ्न सकेन । त्यसको केही लक्ष्य प्राप्त भएकाले अब राष्ट्रिय र औद्योगिक पुँजीको निर्माण गरेर मात्र समाजवादमा जान सकिन्छ,' उनको भनाइ थियो, 'यसमा स्पष्ट नभए पहिचान सकिने छ । पुरानै पार्टीले गर्छु भन्नु यो सम्भव छैन ।'

भट्टराईले नयाँ पार्टी गठनभन्दा एमाओवादीलाई रूपान्तरण गर्ने पक्षमा आफू रहेको बताए ।

दाहालले कुरा नसुने उनी एमाओवादी, एमालेलगायत अन्य वामपन्थी, स्वतन्त्र व्यक्तिलाई समेटेर नयाँ पार्टी बनाउने मनस्थितिमा पुगेका हुन् । भट्टराईनिकट नेता गंगा श्रेष्ठले संस्थापन पक्ष रूपान्तरण नभए नयाँ पार्टी बनाउनुको विकल्प नभएको बताए । 'पार्टीमा विचार र संगठनको रूपान्तरण भएन, यत्तिकै बस्ने कुरा हुँदैन, नयाँ पार्टी बनाउनुपर्ने हुन्छ,' उनले भने, 'त्यसबेला पार्टीले बाहिरको शक्तिलाई सँगै लिएर जानुपर्ने हुन्छ ।' भट्टराईको विचारमा पार्टीभित्र र बाहिर छलफल सुरु भइसकेको, त्यसले मूर्तरूप लिन केही समय लाग्ने उनको भनाइ छ ।

दाहालसँग दूरी बढ्न थालेपछि भट्टराईले स्वतन्त्र व्यक्तिहरूसँग भेटघाट गरी सुझाव लिएका छन् । उनले आर्थिक क्रान्तिको उद्देश्यमा यसअघि एमाओवादीले नसमेटेको 'मध्यमवर्ग' लाई तान्ने नीति लिएका छन् । संविधानसभा दोस्रो निर्वाचनमा मध्यमवर्गको समर्थन नभएका कारण पराजय भोग्नुपरेको उनको निष्कर्ष छ । नयाँ पार्टी बनाउन निम्न र मध्यमवर्गलाई समेट्नुका साथै उच्च वर्गलाई विश्वासमा लिनुपर्ने उनको सोच छ । 'मध्यमवर्गको भूमिकालाई आत्मसात नगरेर कहीं पुगिँदैन, त्यो वर्गलाई समेटेर अघि जानुपर्छ भनेर छलफल चल्दैछ,' श्रेष्ठको भनाइ छ । दाहाल निकट नेता हरिबोल गजुरेलले भट्टराईले आफ्नो धारणा पार्टीभित्र नराखी अराजक ढंगले सार्वजनिक गर्नुमा पद नपाउँदाको असन्तुष्टि कारण भएको आरोप लगाए । 'उहाँ (भट्टराई) ले आफ्नो विचार टेस्ट गर्नुभयो, अहिले गलत भयो भन्ने कुरा बुझ्दै आउनु भएजस्तो लाग्छ,' उनको भनाइ थियो ।

भट्टराईले कहिले के गरे ?

०५७ मा पार्टी लोकतान्त्रीकरणको कुरा उठाए

०६० मा प्रतिस्पर्धात्मक एक्काइसौं शताब्दीको जनवादको प्रस्ताव गरे

०६१ मा मूल नेतृत्व तानाशाही भएको भन्दै दाहालविरुद्ध उत्रिए

०६७ मा पालुङटार प्लेनममा संस्थापनको विद्रोहको कार्यदिशाविरुद्ध फरक मत राखे

०७० फागुनमा माक्र्सवाद र पुँजीवादको सकारात्मक पक्षलाई लिएर नयाँ कार्यदिशाको पक्षमा

कान्तिपुरबाट

0 comments

Write Down Your Responses

Powered by Blogger.