आगो लगाइएकी गर्भवती नजरानाको मृत्यु

फागुन, सप्तरी । अन्तर्राष्ट्रिय नारी दिवसकै दिन शनिबार दिउँसो सदरमुकाम राजविराजमा मट्टीतेल खन्याएर आगो लगाइएकी गर्भवती महिलाको गएराति उपचारका क्रममा मृत्यु भएपछि छिमेकी शोकमा डुबेका छन् ।
राजविराज नगरपालिका-७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षीया नजराना खातुनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
घरमा सुतिरहेका बेला शनिबार दिउँसो २ बजेतिर अचानक शरीरमा आगो लागेर चिच्याएको सुनेका स्थानीयले नजराना खातुनलाई उद्धार गरेर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहीँ उपचारका क्रममा गएराति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
आगोबाट उनको करिब ९० प्रतिशत शरीरको भाग जलेको थियो । हत्या गरिएको ठानिएकी नजराना पाँच महिनाकी गर्भवती थिइन् । नजरानाको मृत्युपछि उनकी दुई वर्षीया छोरी रौनक खातुन टुहुरी भएकी छिन् । टुहुरी भएकी रौनक आफन्त र छिमेकीसँग छन् ।
अत्यन्तै मिलनसार र गर्भवती अवस्थाकी नजरानाको मृत्युको खबर पाउनासाथ स्थानीयबासी शोकमा डुबेका छन् । नजरानाको छिमेकीसँग राम्रो सम्बन्ध थियो, स्थानीय रैहाना खातुनले भनिन्, ‘के कति कारणले उनको हत्या गरियो, हामीलाई थाहा छैन, तर जुन किसिमको घटना भयो त्यो घटना दुःखदायी छ ।’
नजरानाका पति गुडु अन्सारी करिब १५ दिनअघिमात्र वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थिए । नजरानाको घटना रहस्यमय रहेकाले आवश्यक छानबिनका लागि नजरानाकी सासू बानो खातुन र जेठानी नुरजाहा खातुनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बैदवारले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानले घटनामा सासु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । घटनास्थलदेखि करिब ५० मिटरको दूरीमा रहेको पोखरीको डिलमा मट्टीतेलको भाँडो बरामद भएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बैदवारले बताए ।
यसैबीच प्रहरी नायब उपरीक्षक बैदवार नेतृत्वको टोलीले आइतबार विहान घटनास्थलको निरीक्षण गरेको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.