एसएसपी रमेश खरेललाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नाम कमाउने र सेलिब्रेटी बन्ने नाममा काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गैर कानुनी रुपमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको आरोप लगाएको छ । उसले खरेललाई तत्काल कारवाही गर्न माग समेत गरेको छ ।

फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई प्रहरीले स्वयम्भूबाट हतियारसहित पक्राउ गरेको थियो ।
आइतबार पत्रकार सम्मेलन गरी नेवि संघले सरकारद्वारा इजाजत प्राप्त हतियारलाई गैर कानुनी भनि पक्राउ गर्ने प्रहरी प्रसाशनको काम नै गैरकानूनी भएको बताएको छ ।
पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष एवं सभासद् रञ्जित कर्णले पक्राउ परेका नेताहरुलाई रिहा नगरे नेपाल विद्यार्थी संघ कडा संघर्षमा उत्रने चेतावनी दिए । उनले भने-’आफूलाई कानुनको पहरेदार ठान्ने रमेश खरेल आफू नै गैरकानूनी बाटोमा हिँडेका छन्, उनलाई प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल कानुनको कठघरामा ल्याई कारवाही गर्नुपर्छ ।’
नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश शाहले राज्यले उपलब्ध गराएको सुविधा र कानुन बमोजिम नै इजाजतपत्र सहितको हतियार वोक्दा पनि रमेश खरेलले गलत ढंगले नाटक मञ्चन गरी आफ्ना नेताहरुलाई पक्राउ गरेको भन्दै रिहा गर्न माग गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.