कुर्सी भाँचिएपछि बैठकमै लडे सभासद

१३ कात्तिक काठमाडौं । सार्वजानिक खरिद ऐनको मस्यौदामाथि छलफल भइरहेका बेला निर्माण व्यवसायी (ठेकेदार) समेत रहेका राप्रपाका सभासद बिक्रम पाण्डे कुर्सी भाँचिएर भुइँमा लडे । मान्छे लड्दा हाँस्ने चलनलाई राम्रो मानिँदैन । तर, सभासद पाण्डे लड्दा सभासदहरुको बैठकमा हाँसो गुञ्जियो । बिहीबार बसेको अर्थ समितिको बैठकमा सार्वजानिक खरिद ऐन अनुगमन कार्यालयका सचिव टंकमणि शर्मा बोलिरहेका बेला पाण्डे भुइँमा पछारिएका हुन् । सचिव शर्मासँग सवाल जवाफ गरिरहेका बेला बसिरहेको कुर्सी भाँचिएपछि पाण्डे भुइँमा पछारिए । उनी पछारिएपछि अर्थ समितको बैठकमा सभासदहरुको हाँसो गुञ्जियो । छेउमा रहेका सभासदहरु केशव बडाल, केदार सञ्जेल र चन्द्र भण्डारीले पाण्डेलाई हत्तपत्त उठाए । उनलाई चोटपटक भने लागेन । पाण्डे लडेपछि सचिव र सभासदहरुले हाँस्दै सार्वजनिक खरिद ऐनमा भएको कमजोरीकै कारण सभासदले बसिरहेको कुर्सीबाट लड्नु परेको भन्दै ठट्टा समेत गरे । सभासदहरुले सार्वजानिक खरिद ऐन संसोधन गरी व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । सभासद पाण्डे चितवनबाट निर्वाचित राप्रपाका सभासद हुन् ।  

0 comments

Write Down Your Responses

Powered by Blogger.