लूबाट भारतमा २२ सयको मृत्यु
भारतः भारतमा बढ्दो तापक्रमका कारण विषेशगरी भारतको दुईवटा सहरमा तातो हावा अर्थात् लुबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी पुगेको छ ।
अधिकारीहरूले सोमबार सो जानकारी दिएका छन् । हप्ता दिनभन्दा लामो समयदेखि जारी रहेको यस प्रकोपबाट दुई हजार दुई सय व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यो सङ्ख्या दुई दशकयताकै सबैभन्दा बढी भएको पनि जनाइएको छ । यसैबीच केही भागहरुमा परेको वर्षाका कारण केही राहत महसुस गरिएको जनाइएको छ ।
यसअघिको सो लुको असर आगामी दिनमा दक्षिणी र उत्तरी क्षेत्रमा पनि फैलिनसक्ने अनुमान मौसमविद्हरुले गरेका छन् । उनीहरु सो क्षेत्रको तापक्रम ४५ डिग्री सेल्सिएस अरु केही दिनसम्म रहनसक्ने अनुमान पनि गरेका समाचारमा जनाइएको छ ।
दक्षिणी भारतमा प्रचण्ड गर्मी बढेको र तेलङ्गना र आन्ध्रप्रदेशमा मात्र यस प्रकोपबाट दुई हजार दुई सय जना मारिएका छन् । यसैगरी पूर्वी भारतमा पर्ने ओडिसा राज्यमा पनि केही व्यक्ति मारिएका छन् ।
लुका कारण अत्यन्त प्रभावित सहर आन्ध्रप्रदेशमा गत मे १८ देखि हालसम्म एक हजार ६३६ व्यक्तिको ज्यान गएको छ । सो सङ्ख्या गत वर्षको यसै मौसममा लुबाट मारिएको सङ्ख्याको तुलनामा दुगुनाभन्दा बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसैगरी आन्ध्र प्रदेशको छिमेकमा पर्ने तेलङ्गाना राज्यको तापक्रम ४५ सम्म नै कायम रहेको डिग्री पुगेको र यसबाट ५४१ भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
लुमा परी मारिनेहरूमा विशेषगरी निर्माणको काममा लागेका कामदार, वृद्धवृद्धा र घरबारविहीन व्यक्ति रहेका छन् । केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरू तेलङ्गना र छिमेकमा पर्ने आन्ध्रप्रदेशमा सर्दै गएको बताइएको छ ।
पछिल्ला दिनमा तेलङ्गना र आन्ध्रप्रदेशमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ ।
स्वास्थ्य अधिकारीहरूले दिउँसोको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, पानी प्रशस्तमात्रामा पिउन र चिसो खाद्य पदार्थको सेवन गर्न सुझाव दिएका छन् ।
0 comments
Write Down Your Responses