विरामी हुन प्रतिबन्ध ! चेक नगराए जरिवाना

के बिरामी हुने भन्ने कुरा पनि कसैको चाहनाले हुन्छ र ? कोही मानिस सायद विरामी हुन चाहँदैन वा चाहँदैमा विरामी हुँदैन । यो त सरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुँदा विभिन्न संक्रमणका कारण वा विभिन्न खाले दुर्घटनामा पर्नाले हुन्छ । तर जनताहरु आफै चाहेर नै विरामी हुन्छन् भन्ने शैलीमा एकजना मेयरले सहरबासीमाथि विरामी हुन प्रतिबन्ध लगाएका छन् ।

सुन्दैमा अनौठो लाग्ने यो खबर हो इटालीको । इटालीको दक्षिणी सहर सेलियाका मेयर ड्याभाइड जिचिनेलाले स्थानीय जनतामाथि विरामी हुन प्रतिबन्ध लगाउने गरी आदेश जारी गरेका छन् ।
झ्वाट्ट सुन्दा यस्तो आदेश ती मेयरले लहडबाजीमा वा बेहोसीमा लिएका पो हुन् की भन्ने लाग्छ । तर होइन यस्तो निर्णय निकै सुझबुझ तथा सद्विचारका साथ लिइएको रहेछ ।
जनतामाथि विरामी हुन प्रतिबन्ध लगाउनुका दुइ कारण रहेछन् । पहिलो, मानिसहरुको स्वास्थ्यमा सुधार ल्याउनु र दोश्रो सहरमा तिब्र रुपमा घटिरहेको जनसंख्या रोक्नु ।
मेयरले जनताको स्वास्थ्यमा सुधार ल्याउन अन्य कार्यक्रम पनि घोषणा गरेका छन् । जस अनुसार नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने तथा सरकारी स्वास्थ्य सेवा लिने मानिसहरुलाई कर छुट गरिनेछ भने स्वास्थ्य सुविधा नलिने वा नियमित स्वास्थ्य परीक्षण तथा उपचार नगराउनेलाई कारवाही गरिनेछ ।
मेयरले भनेका छन्, ‘ती मानिसहरु जसले रोकथामका उपाय अपनाउँदैनन् र आफ्नै स्वास्थ्य तथा समग्र गाउँको बिगार्छन् उनीहरुले बढि कर तिर्नुपर्नेछ ।’
सन् १९५१ मा १४ सय जनसंख्या रहेको उक्त सहरमा अहिले जम्मा ५ सय मानिस मात्र छन् र ती मध्ये पनि ६० प्रतिशत वृद्धावस्थाका मानिसहरु रहेका छन् ।
ती मेयर आफैमा सक्षम डाक्टर पनि हुन् । सरकारले दिएको स्वास्थ्य सुविधा लिनु तथा नियमित स्वास्थ्य परीक्षण गराउनुलाई जनताले आफ्नो कर्तव्यको रुपमा लिउन् र जनसंख्या सबै लोप भएर गाउँ नमरोस् भनेर आफुले यस्तो आदेश दिएको उनको भनाइ छ ।
स्मरण रहोस् इटालीका धेरै गाउँ तथा सहरहरुले अहिले तिव्र जनसंख्या गिरावटको समस्या भोगिरहेका छन् । जन्मदर निकै कम रहेको र युवाहरु शिक्षा र कामका लागि अन्तै बसाइ सर्ने गरेको हुँदा साना सहर तथा गाउँहरुमा जनसंख्या घटिरहेको छ । यसअघि सिसिली सहरमा स्थानीय जनतालाई सित्तैमा घर वितरण गर्ने कार्यक्रम सुरु भएको थियो, ता की मानिसहरुलाई घरबार बसाउन तथा बच्चा जन्माउन सजिलो होस् र खर्च गर्नु नपरोस् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.