प्रहरी हवल्दारमाथि मकैबारीमा लुकेर गोली हानियो

बर्दियाको मैनापोखरमा आन्दोलनकारीको आक्रमणमा परी प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ ।
कैलालीको टीकापुरमा प्रदर्शनकारीको आक्रमणबाट एसएसपीसहित नौ जनाको हत्या भएको दुई सातापछि बर्दियामा अर्का सुरक्षाकर्मी आन्दोलनकारीबाट मारिएका हुन् ।
हवल्दार पाण्डेमाथि आन्दोलनकारीले मकैबारीमा लुगेर गोली हानेको प्रहरीले बताएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआइजी केशव अधिकारीले भने-‘सडकवाट १० किलोमिटरको दुरीमा रहेका मकैबारीबाट गोली हानेको देखिन्छ ।’
थरुहट प्रदेश माग्दै आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिको बन्दका कारण गुलरिया-नेपालगञ्ज सडकखन्डमा रोकिएका गाडीहरुको स्कर्टिङका लागि प्रहरी टोली पुगेको थियो । प्रहरीले स्कर्टिङ गर्दै गाडि अघि बढाएपछि बन्दकर्ताहरुले प्रतिवाद गरे ।
मकैबारीमा लुगेर गोली प्रहार
गाडी अगाडि बढाउन खोज्ने प्रहरी र रोक्न खोज्ने बन्दकर्ताबीच झडपको स्थिति सिर्जना भयो । झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो ।


तर, आन्दोलनकारीले ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि हवाई फायर गरेको प्रहरीले बतायो ।  त्यसपछि प्रदर्शनकारी तितरवितर भए । तर, मकैबारी भित्रबाट गोली हानिएको गोली हवल्दार पाण्डेको बायाँ तिघ्रामा लाग्यो । गोलीले बायाँ घुँडा छेडेर दायाँ खुट्टामा पनि घाउ भयो ।
गोली लागेलगत्तै भुइँमा ढलेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । पाण्डेलाई नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याएपनि धेरै रत्तश्राव भएका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । चिकित्सक शशीकुमार यादवले भने-‘गोली वारपार भएपछि अत्यधिक रक्तस्रावले गर्दा मृत्यु भएको देखियो ।
डीआइजी अधिकारीले आन्दोलनकारी लाठी, घरेलु हतियारसहित आक्रमणमा उत्रिएको बताए ।
को हुन् हवल्दार पाण्डे ?


बर्दियाको इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत पाण्डे धर्मावती-४ प्युठानका हुन् । उनी दाङ देउखुरीको लालमटिया-२ मा बसाईं सरेका थिए । मैनापोखरमा पोष्टिङ भएपछि उनी नेपालगञ्ज उपमहानगरपालिका-२५ कारकाँदो बस्दै आएका थिए । उनी २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।


हवल्दार पाण्डेका १२ र ६ वर्षका दुई छोरा तथा श्रीमती छन् । आन्दोलानकारीको आक्रमणमा परी पतिको मृत्यु भएको खबरले हवल्दार पत्नी पार्वती मुर्छित छिन् ।
हवल्दार हत्या आरोपमा तीनजना पक्राउ
प्रहरी हवल्दार पाण्डेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मैनापोखर-८ बस्ने नरेश थारु, ५५ वर्षीय रामहरथ थारु र १९ वर्षीय अविनाश थारु पक्राउ परेका छन् ।
हत्यामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको डीआइजी अधिकारीले जानकारी दिएका छन् ।
गोली नचलाएको थरुहटको दावी
आन्दोलनकारी थरुहट थारुवान संघर्ष समितिका बर्दिया संयोजक गोविन्द थारुले भने गोली चलाएको प्रहरीको भनाइको खण्डन गरेका छन् । आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको र लाठी समेत नबोकेको उनले दाबी गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.